आज आश्विन ८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २५ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
वासिङ्टन डीसीस्थित क्युबाको दूतावासमा पेट्रोल बम आक्रमण
अमेरिकाको राजधानी वासिङ्टन डीसीमा रहेको क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम आक्रमण गरेका छन् । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले वाशिङ्टन डीसीमा रहेको आफ्नो मुलुकको दूतावासमा पेट्रोल बम आक्रमण भएको बताएका हुन् ।विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिएका छन् ।
विदेशमन्त्री रोड्रिगेजले यसअघि ट्वीटर भनिने एक्स सामाजिक सञ्जालमार्फत् घटनाबारे जानकारी दिएका हुन् । एक्समा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकास्थित क्युबाको दूतावासमा दुई वटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन् । आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन ।’
सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो । उक्त आक्रमणबाट पनि कुनै हताहत भएको थिएन ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर हवाना फर्केको केही घण्टापछि आइतबार राति उक्त आक्रमण भएको हो ।
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा डियाज–क्यानेलको उपस्थितिको विरोधमा संयुक्त राज्य अमेरिकामा रहेका क्युबाली नागरिकले प्रदर्शन गरेको सामाजिक सञ्जालमा शेयर गरिएका पोस्ट र भिडियोले देखाएको छ ।
रोड्रिगेजले आइतबारको आक्रमणपछि भने, “क्युबा विरोधी समूहहरूले आफू दण्डहीनताको आनन्द उठाइरहेको महसुस गर्दा आतङ्कवादको सहारा लिन्छन्, जसबारे क्युबाले अमेरिकी अधिकारीहरूलाई बारम्बार जानकारी गराउँदै आएको छ ।”
अप्रिल २०२० मा क्युबाका विदेशमन्त्रीले हवानास्थित तत्कालीन अमेरिकी कार्यवाहक राजदूत मारा टेकचलाई बोलाएर आफ्नो दूतावासविरुद्ध ‘आतङ्कवादी आक्रमण’ गरेको भन्दै ‘कडा विरोध’ व्यक्त गरेका थिए ।
सन् २०२० को उक्त आक्रमणमा विष्फोटले बाहिरी भित्ता र स्तम्भहरूमा गोलीका प्वालहरू छोडेको, सडकबत्ती भाँचेको र भवनको अगाडिको सिसा र मोल्डिङका धेरै सिसाहरूमा क्षति पुर्याएको थियो ।
अमेरिकी अधिकारीहरूले उक्त आक्रमणको आरोपमा ४२ वर्षीय अलेक्जेन्डर अलाजोलाई पक्राउ गरेका थिए ।
अमेरिकी न्याय विभागका अनुसार अलाजोलाई जुलाई २०२० मा उनीमाथि ‘घातक हतियार प्रयोग गरेर विदेशी अधिकारी वा सरकारी परिसरमा हिंसात्मक आक्रमण’ लगायत विभिन्न अपराधको अभियोग लगाइएको थियो ।
भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानाडाका रक्षामन्त्रीको भनाइ
क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन् ।
सीबीसी न्यूजमा आइतबार प्रसारित एक साक्षात्कारमा ब्लेयरले भने, ‘म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकहरूलाई मद्दत गर्न चाहन्छन् । मलाई पूरा विश्वास छ उनीहरूले साथीहरू बनाउनको लागि साझा आधार फेला पार्नेछन् ।’
ब्लेयरले कूटनीतिक विवादले भारतीय–क्यानाडेली नागरिकमा पार्ने प्रभावबारे आफू जानकार रहेको बताए ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता क्यानाडामा भएको खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको गोली काण्डमा भारतको संलग्नता रहेको आरोप लगाएपछि तनाव चर्किएको छ ।
गत जुन १८ मा क्यानाडाको ब्रिटिस कोलम्बियाको सरेस्थित पार्किङ क्षेत्रमा रहेको गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।
क्यानाडाले भारतलाई निज्जरको मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । ट्रुडोले भारतद्वारा आतंकवादी घोषित निज्जरको हत्यामा नयाँ दिल्लीको कथित संलग्नताबारे ओटावाले ‘भारतसँग रचनात्मक रूपमा काम गर्न’ चाहेको बताएको छ ।
क्यानाडाका रक्षामन्त्री ब्लेयरले भने, “मैले जारी अनुसन्धानमा यति धेरै जोड दिएको छु कि यसका कारण हामीले विश्वसनीय गुप्तचरभन्दा वास्तवमा के भएको थियो भन्ने बलियो प्रमाणमा जान सक्षम हुनेछौं, ताकि हामी र भारत सरकारले सत्य जान्न सक्छौं, तथ्यहरू प्राप्त गर्न सक्छौं र त्यसपछि यसलाई उचित तरिकाले समाधान गर्न सँगै काम गर्न सक्छौं ।”
“म कुनै पनि तरिकाले अनुसन्धानको अखण्डतामा आँच आउने कुनै पनि कुरा भन्न गइरहेको छैन, यो धेरै महत्वपूर्ण छ,” उनले भने ।
यसैबीच, भारतले निज्जरको हत्यासँग भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘आतङ्कवादी, अतिवादी र सङ्गठित अपराधका लागि सुरक्षित आश्रयस्थल’ र ‘बढ्दो प्रतिष्ठा’ को रूपमा पनि क्यानाडालाई उल्लेख गरेको छ ।
ब्लेयरले सीबीसीका प्रमुख राजनीतिक संवाददाता रोजमेरी बार्टनसँग भने, “हामीले हाम्रा सहयोगी र भारतलाई एउटा मात्र अनुरोध गरेका छौं कि उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरून् किनभने यसको परिणाम धेरै महत्वपूर्ण छ । सीबीसी न्यूजका अनुसार ब्लेयरले क्यानाडाले आफ्ना सहयोगी मुलुकबाट के–कस्तो गुप्तचर सूचना प्राप्त गरेको छ भन्ने प्रश्नको जवाफ दिन भने अस्वीकार गरे ।
चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापार मामिला प्रमुखको भनाइ
युरोपेली सङ्घ ईयूका व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण युरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको भविष्यमाथि प्रश्न उठाउन सङ्घर्ष गरिरहेको बताएका छन् ।
व्यापार आयुक्त वाल्डिस डोम्ब्रोवस्कीसले युक्रेनमा भएको युद्धका लागि मित्रराष्ट्र रूसको निन्दा गर्न चीनले इन्कार गर्नुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि ‘प्रतिष्ठाको जोखिम’ निम्त्याएको बताएका हुन् ।
युरोपेली समूह र चीनबीच व्यापार तनाव बढिरहेका बेला उनले पारदर्शिता र खुलापन ‘दीर्घकालीन विजयको रणनीति’ भएको बताए । उनले भने, “चीन लगानीमा आधारित अर्थतन्त्रमा व्यापक चुनौतीपूर्ण सङ्क्रमणबाट गुज्रिरहेको छ । यसका लागि यो खुला रहन आवश्यक छ ।”
‘ईयू चेम्बर अफ कमर्स’ को व्यावसायिक आत्मविश्वास वर्षौंको सबैभन्दा कम स्तरमा रहेको देखिएका एक रिपोर्टपछि डोम्ब्रोवस्कीसको चार दिने भ्रमण शनिबार सुरु भएको हो ।
ब्रसेल्सले बेइजिङको विद्युतीय कार अनुदानको छानबिन सुरु गर्ने निर्णय पनि गरेको छ ।
यस अनुसन्धानले ईयूले युरोपेली कार निर्माताहरूलाई कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा दण्डात्मक शुल्कहरू लागू गरेर संरक्षण गर्ने प्रयास गर्न सक्छ ।
चीनको वाणिज्य मन्त्रालयले ईयूको ‘नग्न संरक्षणवाद’ को निन्दा गरेको छ र यो कदमले ‘चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने’ बताएको छ ।
सोमबार डोम्ब्रोभस्कीसले चीन युरोपेली व्यवसायका लागि आकर्षक लगानीको अवसर रहेको बताएका थिए ।
“ईयू र चीन दुवैले विश्वका लागि खुला हुँदा धेरै फाइदा उठाएका छन्,” उनले भने । “यदि शर्तहरू सही रहेमा युरोपेली कम्पनीहरू अझै पनि यहाँ लगानी गर्न चाहन्छन् ।
चीनमा युरोपेली व्यापारका लागि बढ्दो चुनौतीको अर्थ यो हो कि ‘विगतका दशकहरूमा धेरैले दुबैको जीत हुने सम्बन्धको रूपमा हेरेको कुरा आगामी वर्षहरूमा दुबैको हारमा परिणत हुन सक्छ,” आयुक्तले भने ।
डोम्ब्रोवस्कीसले भने, “विदेशी प्रतिबन्धहरूको सामना गर्ने उद्देश्यले बनाइएको नयाँ विदेश सम्बन्ध कानून र चीनको कडा जासुसी विरोधी नियमहरूको हालैको परिवर्तन ‘हाम्रो व्यापारिक समुदायको लागि ठूलो चिन्ताको विषय’ हो ।’
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष खोजीको सूचीमा
रुसले अन्तराष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।
रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो ।
पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासङ्घको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार ुएजेन्सीुहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।
सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहनुभएका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् ।
प्रतिक्रिया