आँसु- बुझ्नेलाई मनको कहानी, नबुझ्नेलाई पानी | Khabarhub Khabarhub

आँसु- बुझ्नेलाई मनको कहानी, नबुझ्नेलाई पानी

ऋणले थिच्यो, भाग्यले मिच्यो



एउटा ठूलो कम्पनीले आफ्ना कामदारका लागि ‘लेकफ्रन्ट टुर’को कार्यक्रम राख्यो। ताल गोहीले भरिएको थियो। कम्पनीको म्यानेजरले कर्मचारीसँग ठट्टा गर्दै भन्यो– ‘जसले गोहीको डर नमानी तालमा फाल हानेर सुरक्षित तबरले ताल पार गर्छ, उसले एक मिलियन डलर पुरस्कार पाउनेछ। यदि गोहीले निल्यो भने उसका उत्तराधिकारीले एक मिलियन डलर पाउनेछन्।’

कुनै कामदारले हिम्मत गरेनन्, तर अचानक एकजनाले पोखरीमा झ्वाम्म हाम फालेर हतार हतार सकुशल ताल पार गरे। सर्त जितेपछि त्यो मान्छे एकाएक करोडपति कहलियो। बधाई दिन सबै सहकर्मी भेला भए। तर विजेताले उल्टै प्रश्न गरे– ‘बधाई र पुरस्कार दिँदै गर्नुहोला तर पहिला मलाई यो बताउनुस् कि गोहीले भरिएको त्यस्तो खतरनाक तालमा मलाई पछाडिबाट धक्का दिने चाहिँ को हो ?’

नयाँ र पुराना पुस्ताको रसायन नमिल्दा नेपाली समाज यतिबेला न हाँस, न बकुल्लाको चालमा छ। मानिसलाई प्रेमभन्दा फ्रेममा आशक्ति बढ्दो छ।

सबैजना मुखामुख भए। अन्ततः अनुसन्धान गर्दै जाँदा थाहा भयो– उसलाई पछाडिबाट धकेल्ने त आफ्नै पत्नी रहिछन्। त्यसबेलादेखि नै हरेक महान र सफल पुरुषको पछाडि एक महिलाको हात हुन्छ भन्ने उक्ति सार्थक बनेको विश्वास गरिन्छ।

नयाँ र पुराना पुस्ताको रसायन नमिल्दा नेपाली समाज यतिबेला न हाँस, न बकुल्लाको चालमा छ। मानिसलाई प्रेमभन्दा फ्रेममा आशक्ति बढ्दो छ। त्यसैले त जीवन भिख मागेर ल्याएको चामलजस्तै खिर बनाउँ दूध छैन, भात पकाउँ सब्जी छैन, बेच्न जाउँ किलो पुग्दैन।

वास्तविक जित त्यतिबेला सम्भव हुन्छ जतिबेला मन जितिएको छ वा जित्न सकिएको छ। जब हामी माया, प्रेम दिन थाल्छौँ तब पहरो टुसाउन थाल्नेछ, मरुभूमि रसाउन पुग्नेछ। बैला गाई भैँसी, बाख्री ब्याउने छन्, दूध, दही, घ्यु, बाच्छाबाच्छी, पाडापाडी, पाठापाठी दिने छन्। बाँझो जमिनले उर्वर बनेर अन्न, पात दिनेछ। हावा, पानी, माटो शुद्ध हुनेछ र समग्रमा जीवन ऊर्जावान हुन पुग्नेछ।

जब हामी माया, प्रेम दिन थाल्छौँ तब पहरो टुसाउन थाल्नेछ, मरुभूमि रसाउन पुग्नेछ। बाँझो जमिनले उर्वर बनेर अन्न, पात दिनेछ।

स्मरणीय के छ भने यहाँ कसैले कतैबाट खोजेर दिएका होइनन्, दिएका हुँदैनन्। उनीहरूसित दिने चिज पहिले नै थियो। रुख विरुवामा फलफूल थियो। जमिनमा अन्नपात थियो, पानीमा प्राण थियो। गाई, भैँसीमा दूध, दही, घ्यु थियो, यस्तैयस्तै तर त्यतिबेलासम्म दिएनन्, दिन सकेनन् जतिबेलासम्म हामीबाट केही पाएका थिएनन्।

जब हामीले दिन थाल्यौँ तब उनीहरूले पनि दिन थाले। यी सब मन जितको करामत हो। मन जितियो सबै जितियो। होइन तन जित्न लागियो केही पनि पाइएन। यही हो मित्रताको चमत्कार, प्रेमको जादू, मायाको महत्व, स्नेहको शक्ति।

हेर्नुस त मानिसलाई निद्रा लागेको भन्ने तब थाहा हुन्छ, जब आफूले चलाइराखेको मोबाइल एक्कासी झरेर आफ्नै नाकमा ठोकिन्छ। राति एकछिन मोबाइल हेरम, बिहान पाँच मिनेट बढी सुतम भन्ने बानीले मानिस क्षयीकरण हुँदैछ। नाटक देखेर रुने मान्छे यथार्थ देखेर भन्छ– सबै नाटक हो।

मन जितियो सबै जितियो। तन जित्न लागियो केही पनि पाइएन। यही हो मित्रताको चमत्कार, प्रेमको जादू, मायाको महत्व, स्नेहको शक्ति।

जिन्दगीको गन्तव्य महँगो जुत्ताले नभएर हिम्मत र मेहनतले तय गर्छ। जाडो छल्न साइबेरियाबाट आएको चराले पनि आफूले कोरलेको फुलबाट बच्चा हुर्काएर आफ्नै माटोमा फर्कन्छ। मानिसले एउटा वय पार गरेपछि समय हेर्न घडी नचाहिने रहेछ, बस ढल्किँदै गरेको उमेर, मर्दै गरेको इच्छा र रहरले नै समय देखाउँदो रहेछ। बाहिरी आँखा धर्मराएपछि अन्तरचक्षु प्रबल बन्ने रहेछ। त्यसैले कसैको बोझ होइन, खोज बनेर जिउने प्रयत्न गर्नुपर्छ। नत्र जिन्दगी गोरुसिंगे ‘ञ’ जस्तै कतै काम नलाग्ने बन्न बेर छैन।

मानव जीवनमा जुन सजिलै पाइन्छ, त्यो धोका हो। जुन मुस्किलले पाइन्छ, त्यो इज्जत हो। जुन हृदयबाट पाइन्छ, त्यो प्रेम हो। जुन भाग्यले पाइन्छ, त्यो मित्रता हो।

विश्वासले सम्बन्ध, पैसाले व्यापार, सत्यले संसार र मायाले परिवार चल्छ। भन्छन नि, जिउँदो मान्छे लडाउन, मरेको लास उठाउन मानिसमा अभूतपूर्व एकता देखिन्छ । मानिस यस्तो प्राणी हो, जो लथालिंग वर्तमान बोकेर भविष्यको चिन्ता गर्छ। अभावको जिन्दगी सम्झनुस् त रित्तो गोजी सबैभन्दा बढी भारी लाग्छ। च्यातिएको गोजीबाट सिक्काभन्दा पहिले सम्बन्ध हराउँछ।

मानिसले एउटा वय पार गरेपछि समय हेर्न घडी नचाहिने रहेछ, बस ढल्किँदै गरेको उमेर, मर्दै गरेको इच्छा र रहरले नै समय देखाउँदो रहेछ।

सबैको जिन्दगी समान हुन्न। मसानघाटमा व्यापार गर्नेलाई मान्छे नमरेको दिन नरमाइलो लाग्नसक्छ। मान्छे पराइले रुवाए आफन्त खोज्छ तर आफन्तले रुवाए खोज्ने त एकान्त नै हो। नशा लागेको एकदिनमा छुट्छ, दशा लागेको कहिले छुटने हो पत्तो हुन्न। आँसुको इन्द्रेणी हुने भए अधिकांशको सिरानी रंगीन बन्थ्यो। श्यामश्वेत आँखाले सप्तरंगी रहर हुर्काउँछ। छिर्के हानेर लडाउनेहरुले सबैभन्दा पहिले चोटको सोधीखोजी गर्छन्।

हाँस्न पो सिक्नुपर्छ, रुन त परिस्थिति हाजिर छ। आफ्नै सासले रहर नभएको बुझ्दैन। अरुसँग कुरा मिलेन भनेर के गुनासो गर्नु ? आफ्नै शरीरमा भएको मन र दिमागको दिनमै दर्जनौं पटक युद्ध हुन्छ। अदृश्य चोटभित्र दुखाई हुन्छ, देखाइ हुन्न। रिस र माया एउटै ओछ्यानमा सुत्छन्।

मानव जीवनमा जुन सजिलै पाइन्छ, त्यो धोका हो। जुन मुस्किलले पाइन्छ, त्यो इज्जत हो। जुन हृदयबाट पाइन्छ, त्यो प्रेम हो। जुन भाग्यले पाइन्छ, त्यो मित्रता हो।

को कहिले उठ्छ पत्तो हुन्न। खुसीको प्रतिक्षामा वर्षौं बिताउँछ मान्छे तर खुसी मनबाट सिर्जना गर्ने हो भन्ने सत्यबाट निरपेक्ष रहन्छ। मानिसको जीवनमा स्वास्थ्य सर्वाधिक ठूलो उपहार हो, सन्तुष्टि धन, विश्वास राम्रो सम्बन्ध हो। जिन्दगी परिस्थितिमा भरपर्छ नत्र सिटामोलको तीतो नपचाउने मानिस विष खाने हिम्मत किन गर्छ ?
अहिलेको मानिसलाई बत्ती र वाइफाई बाहेक अरु जो जता गए पनि फरक पर्दैन। सानो छँदा अभिभावक भन्थे– याद राख्न सिक। ठूलो भएपछि तिनै मान्छे भन्छन्– भुल्न सिक। आखिर निष्कर्ष त्यही हो– जति गहिरो कुवा उति मीठो जल, जति धेरै दुःख, उति मीठो फल। सोच बदल्नुस खुसी आफैं आउँछ, स्वभाव बदल्नुस इज्जतसँग जम्काभेट हुन्छ, बाटो सही रोज्नुस गन्तव्य आफैं मिल्छ। जब मान्छे हातको रेखामा भविष्य खोज्न थाल्छ, तब सम्झिए हुन्छ- उसको शरीरमा बल र मनमा आत्मविश्वास सकियो। सपना र रहरले उब्जाएका प्रश्नको जवाफ ज्ञान र परिश्रमसँग नभएर तागत र पैसाको दरकार पर्छ। बगिरहेको खोला, बितेको समय, टुटेको विश्वास र छुटेको बालापन फर्केर आउँदैन।

सबैको जिन्दगी समान हुन्न। मसानघाटमा व्यापार गर्नेलाई मान्छे नमरेको दिन नरमाइलो लाग्नसक्छ।

समय बुझ्न, रिस रोक्न, पीडा भोग्न र गल्तीमा झुक्न सिक्नुपर्छ। खाली खुट्टा सही सत्यको बाटो हिँड्नुस पैताला दुख्ला तर मन सधैं शितल हुन्छ। आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा हिजो चप्पल लगाएका दिनहरु नबिर्सनु किनकी विगत छर्लङग देखिन्छ, भविष्य होइन। पैसाले त लोभ किन्ने हो मन किन्न त विश्वास नै चाहिन्छ। निद्रा पूरा नभए आँखा पोल्छ, सपना पूरा नभए मन।

गरिब को ? जो संग सम्पति छ, सुख छैन, प्रतिभा छ, प्रयास छैन, मुटु छ ममता छैन, आँखा छ दृष्टिकोण छैन, शरीर छ, स्वास्थ्य छैन, सन्तान छ, सन्तोष छैन, शिक्षा छ, ज्ञान छैन, सपना छ यथार्थ छैन, प्रार्थना छ, विश्वास छैन, जिउ छ जाँगर छैन, सबथोक छ, खुसी छैन।

नदीको पानी मीठो हुन्छ किनकी उ दिइरहन्छ, समुद्रको पानी नुनिलो हुन्छ किनभने उ हमेशा लिइरहन आनन्द मान्छ। नालीको पानी दुर्गन्धित हुन्छ किनकी उ जमेको हुन्छ। जिन्दगी यही हो दिइरह्यौ भने मीठो लाग्छ, लिइरहे नुनिलो लाग्छ रोकियौ भने बेकार हुन्छ। याद न धुँदा जान्छ, न रुँदा नै। ज्ञानी आफैंसँग डराउँछ, अल्पज्ञानी अरुसँग डराउँछ तर अज्ञानी कसैसँग पनि डराउँदैन।

हाँस्न पो सिक्नुपर्छ, रुन त परिस्थिति हाजिर छ। आफ्नै सासले रहर नभएको बुझ्दैन। अरुसँग कुरा मिलेन भनेर के गुनासो गर्नु ?

भनेर के गर्नु, हीरा पाएपछि सुन, उज्यालो पाएपछि जून बिर्सनु हुन्न। धन कमाएपछि गरिबीमा पाएको गुन बिर्सन्छ मान्छे। एउटा खुसीले एकपटक हँसाउँछ, एउटा पीडाले बारम्बार रुवाउँछ। गरिबीको बालापन, आफन्तको अपमान, पराइको तिरस्कार, मित्रताको विश्वासघातले समयअघि नै मानिस परिपक्व बन्छ। निद्रा पनि अचम्मको छ, आयो भने धेरै कुरा भुलाइदिन्छ, आएन भने सबै याद दिलाउँछ। च्यातिएको भाग्य सिलाउने र छरिएका रहर मिलाउँदैमा जुनी जाने रहेछ।

तपाईंसँग साइकल होस या बीएमडब्लु सडक उही हो, टाइटन होस या रोलेक्स समय उही, मोबाइल एप्पल होस नोकिया कुरा गर्ने मान्छे उही, इकोनमी क्लास कि बिजनेस गन्तव्य पुग्ने समय उही, कमाई थोरै होस या धेरै रोटीको साइज उही नै हो। आवश्यकता पूरा हुन्छ, तृष्णा अनन्त फैलन्छ।

खाली खुट्टा सही सत्यको बाटो हिँड्नुस पैताला दुख्ला तर मन सधैं शितल हुन्छ। आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा हिजो चप्पल लगाएका दिनहरु नबिर्सनु किनकी विगत छर्लङग देखिन्छ।

गाईको बाछो उफ्रिनु मनासिव हो तर कलिमा गुइँठा उफ्रिएको दृश्यले धेरैलाई चकित पार्छ। बादलजस्तो जीवन नहोस, हराएपछि अरुले सुन्दर मानून। सानो हुँदा अक्षर चिन्न कठिन, ठूलो भएपछि जीवन। जीवन आफैंले बनाउने चित्र हो, मेहनत गरेचित्र नत्र विचित्र। रिस रोक्नुस, पीडा भोग्नुस, समय बुझ्नुस, गल्तीमा झुक्नुस बाँकी अरुले सिकाउँछन्। आम्दानीभन्दा बढी खर्च र औकातमाथिको चर्चा अवसानको बाटो हो।

हत्केलाभन्दा अगाडि औंला किन हुन्छ ? उत्तर स्पष्ट छ– सफलताका लागि भाग्यभन्दा पहिला मेहनत चाहिन्छ। आँसुको परिभाषा हुँदैन। आँसु मनको ज्ञानले पढ्नुपर्छ। बाहिरबाट हेर्दा पानी देखिए पनि यसभित्र कहानी हुन्छ। बुझ्नेले कहानी देख्छ, नबुझ्नेले पानी।

आँसुको परिभाषा हुँदैन। आँसु मनको ज्ञानले पढ्नुपर्छ। बाहिरबाट हेर्दा पानी देखिए पनि यसभित्र कहानी हुन्छ। बुझ्नेले कहानी देख्छ, नबुझ्नेले पानी।

सोचाई बिग्रिए जिब्रो बिगार्छ, जिब्रो बिग्रिए बोली बिगार्छ, बोली बिग्रिए मन बिगार्छ, मन बिगिए सम्बन्ध बिगार्छ, सम्बन्ध बिग्रिए घर बिग्रन्छ, घर बिग्रिए जीवन बिगार्छ। त्यसैले जीब्रो सुधारौं जीवन सुध्रिन्छ। खबरदार ऋणले थिचेको र भाग्यले मिचेको मान्छे आफन्तले पनि चिन्दैनन। छुटिएर खुसी मिल्ने भए झरेको पात किन ओइल्याउनुपथ्र्यो ?

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ३५ बजे

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

काठमाडौं- न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया

ओमसहित ४ अस्पतालको फोहोर संकलनमा रोक

 काठमाडौं- काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर

गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार

काठमाडौं– गृह मन्त्रालयले दोस्रो पत्र पठाएपछि मिटरब्याज तथा लघुवित्तपीडितहरु छलफलका

इजरालयमै थन्कियो नेपाली जहाज, मन्त्रीलाई झाडू बोक्दै ठिक्क

नेपाल एयरलाइन्सलाई सरकारले झण्डै ३१ अर्ब लगानी गरेको देखिन्छ ।

प्रथम राष्ट्रपति डा. यादवलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान