ग्याजेट पुस्ता : न पर्दाको जन्ती, न मर्दाको मलामी | Khabarhub Khabarhub

ग्याजेट पुस्ता : न पर्दाको जन्ती, न मर्दाको मलामी



बिहेबारी, पुराण, उपनयन, मरिमराउजस्ता सामाजिक र सांस्कृतिक भेलामा किशोरकिशोरीको सहभागिता घट्दै गएको छ । हरेक अभिभावक आफ्ना सन्तान घरपरिवार र सामाजिक काममा घुलमिल नभएकोमा चिन्तित छन् । पढ्नु, घुम्नु, मनोरञ्जन गर्नु यी सबैको केन्द्रमा समाज रहन्छ । तर किशोरकिशोरी आफ्नो रुचि र स्वार्थबाहेकका काममा भने निरस देखिने गरेका छन् ।

विहानै कलेज, घर फर्किएपछि होमवर्क गरेसँगै उनीहरुका लागि सामाजिक सञ्जाल समय काट्ने माध्यम बनेको छ । खासगरी साथीभाइसँग स्न्यापच्याटमा उनीहरु रमाउने गरेका छन् । प्लस टु पछि विदेश पढ्न जाने तयारीमा किशोरकिशोरीले अधिक समय गुजार्ने गरेका छन् । ‘पर्दाको जन्ती र मर्दाको मलामी’ भन्ने सामाजिक मान्यतासँग नयाँपुस्ता लामो दूरी कायम गरेर बसेको छ ।

अहिले अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाको मोबाइलको लत कसरी छुटाउने भन्ने नै  छ । किनकि अधिकांश बच्चाहरू अत्यधिक मात्रामा मोबाइल चलाउने मात्र होइन, खाना खाँदा, होमवर्क गर्दा वा निदाउन पनि मोबाइलको माग गर्दछन् ।

पछिल्लो समय किशोर पुस्ताले मोबाइल फोनमा आफूलाई व्यस्त राख्दा सामाजिक क्रियाकलापमा कम उपस्थिति जनाउने गरेको पाइन्छ । घरमा बस्दा परिवारका सदस्यसँग संवादमा पनि किशोर पुस्ताको चासो देखिँदैन ।

भक्तपुरको च्यामासिङस्थित मामाघर जाउँ न भन्दा आफ्नो छोरो ‘तपाईंहरु गएर आउनु म एक्लै घरमा बस्छु भनेर ठुस्स पर्छ’, अनामनगर निवासी गंगामाया धिताल बताउँछिन् । उनी भन्छिन्, ‘कुनै बेला आफू घरबाहिर जानु पर्‍याे भने छोरालाई मामाघरमा पठाउन निकै धौ धौ पर्छ । उसलाई १० कक्षामा पढ्दा मोबाइल किनिदिएको त्यही मोबाइलमा गेम खेलेर बस्ने गर्छ’ उनी थप्छिन्, ‘छोरोले खाना खाने समय बिर्सिन्छ बरु तर मोबाइल फोनबाट टाढा बस्ने भनेको बिहान कलेज जाने समय ६ बजे देखि १० बजे सम्म मात्र हो ।’ अर्कातिर विद्यार्थीले पढ्ने विषय गुगलमा खोज्नुपर्ने भनेर स्कुलले नै अनिवार्य गरिदिएपछि अभिभावक सन्तानलाई सुविधायुक्त मोबाइल सेट, ट्याब, ग्याजेट किनिदिन बाध्य छन् । आफ्नो मन सन्तानमाथि, सन्तानको मन मोबाइमाथि भने जस्तै भएको छ गंगामायालाई । आफ्ना पालामा थोरै मिठो मसिनो र एउटा सानो कपडा पाउँदा पनि खुशीले थाल खाउँ कि भात खाउँजस्तै हुने गरेको विगत सम्झँदै उनी भन्छिन्– खै अहिलेका सन्तानलाई कसैगरी पनि खुशी पार्न सकिएन ।

‘अहिलेका बच्चाहरू मोबाइलमा नै हुर्के, बढे । सरसंगत, खानपान सबै त्यहीँबाट निर्धारण गर्छन् । खानेकुरा समेत युटुबमा हेरेर फर्माइस गर्छन् । चुल्हो बाल्ने भन्दा पनि अनलाईन सपिङमा उनीहरुको रुचि छ । भरसक घरबाहिर निस्कन नपरे हुन्थ्यो जस्तो गर्छन् । मिल्ने भएर स्कुल, क्याम्पस पनि जाने थिएनन् ।’ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने शर्मिला खड्का भन्छिन् । उनका दुई छोरी एक छोरा छन् । छोरीहरू ९ र ११, छोरा ४ कक्षामा पढ्छन् । शर्मिलाको पनि हैरानी उही छ । वर्ष दिनको चाड दशैँ मनाउन दुईचार दिन गाउँ जाने कुरा उठ्नासाथ गाउँमा नेट नभएको भन्दै मुख बिगार्न सुरु गर्छन् । उनी भन्छिन्, ‘छोरीहरुलाई सबैसँग घुलमिल गराउन लाख प्रयत्न गर्छु । अहँ सुनेको नसुन्यै गर्छन् । घरमा कोही पाहुना आयो भने गफगाफ गर्दैनन् । करकाप गर्दा उल्टै हप्कीदप्की गर्छन् । आफ्नो लालनपालनमा कतै त्रुटी भएको हो कि समय यस्तो हो, मैले बुझ्न सकेकी छैन ।’

किशोरकिशोरीका गुनासो सुनुवाइ भएन : मनोचिकित्सक

पहिलेका बालबालिका संयुक्त परिवार र समाजमा हुर्किन्थे । जहाँ घरमा पनि धेरै दाजुभाइ दिदीबहिनी मिलेर बस्ने गर्दा एकले अर्को अनुभव र समस्या आदानप्रदान गर्दा उनीहरू समाजमा सहजै घुलमिल हुने मनोचिकित्सक डा. ऋषभ कोइराला बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय पारिवारिक वातावरण, प्रविधिको विकास आदि कारणले गर्दा बच्चाहरू आफ्नै उमेर समूहका बालबालिकासँग पनि घुलमिल हुन पाउँदैनन्, साथीभाइको साथ संगत भन्दा पनि डिजिटल डिभाइस उनीहरूलाई प्यारो भएको छ ।’

बच्चा जन्मिएपछि समाजमै हुर्काउने वातावरण तयार गराउने वा समाजमा घुलमिल भएर बालबालिकालाई हुर्काउन सकियो भने उनीहरू सामाजिकीकरण हुने उनको भनाइ छ ।

अहिलेका किशोर पुस्तालाई कसरी सामाजिकीकरण गराउने वा समाजमा कसरी घुलमिल गराउने त ?  कोइराला भन्छन्– अभिभावकले आफ्ना बच्चाहरूलाई समय दिएर उनीहरूका कुरा सुनिदिनु पर्छ ।

अभिभावकहरू दिनभरि आफ्नो काममा व्यस्त हुने, बच्चालाई समय नदिने, बच्चा अझ पछिल्लो समय होस्टलमा राख्ने चलन बढेको छ । होस्टलमा बच्चालाई छोड्दा उनीहरूले सामाजिक मूल्यमान्यता भुल्दै जाने र आफू एकोहोरो हुने मनोविद्हरुको निष्कर्ष छ । विद्यालयमा पनि संस्कृतिका बारेमा पठनपाठन नगराउँदा पनि हाम्रा पछिल्ला पुस्ता सामाजिकीकरण हुन सकेका छैनन् । अझ एउटा मात्र सन्तान जन्माउने प्रवृत्ति बढ्दा साथीको अभावमा पनि एक्लिने चरित्रको विकास भएको कतिपयको धारणा छ ।

बिहानदेखि बेलुकासम्म बच्चा स्कुलमा हुन्छन् । त्यहाँ धर्म, संस्कार, चाडपर्व र समग्र नैतिक आचरणका विषयमा सिकाइँदैन । थोरैका घरमा यस्तो वातावरण पाइन्छ । यसले गर्दा हाम्रा सांस्कृतिक परम्पराको परिचय नै गुम्न सक्ने परिस्थिति आएको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका उपाध्यक्ष प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ ।

पछिल्ला समयका किशोर पुस्तामा सामाजिक गतिविधि रीतिरिवाज नसिकाइएको कारण उनीहरू एकोहोरो भएको विश्लेषण प्रा.डा. भट्टराईको छ ।

८७ प्रतिशतलाई पुग्दैन शारीरिक व्यायाम

काठमाडौंको कोटेश्वरमा बस्ने राधिका अधिकारीकी छोरी ५ वर्षकी भइन\ । उनलाई खाना खुवाउन अनिवार्य मोबाइल चाहिन्छ । मोबाइलमा कार्टुन देखायो भने उनी ढुक्क भएर खाना खाने आमा राधिका बताउँछिन् ।

यो समस्या उनको मात्र हैन, पछिल्लो समयका अधिकांश बालबालिकाहरू बोली फुट्न नपाउँदै बाबा आमा भन्ने बेलामा मोबाइल फोनतिर संकेत गर्न थालिसकेका छन् । पछिल्लो समय बालबालिकाहरू निकै अल्छी भएको विभिन्न अध्ययनहरुले बताएका छन् । विश्वभरिका ८० प्रतिशत ११ देखि १७ वर्षका बालबालिका र किशोर किशोरीले शरीरलाई आवश्यक पर्ने शारीरिक गतिविधि नगर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

समय धेरै परिवर्तन भएको छ । अझ भनौँ प्रविधिले धेरै फड्को मारेको छ । बच्चा जन्मिएको थोरै समयबाट नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइल जस्ता डिजिटल सञ्चार माध्यमको प्रयोग बढ्दो छ । यहाँ सम्म कि बालबालिकालाई भुलाउन र रुँदा फकाउने माध्यमका रूपमा नै मोबाइललाई प्रयोग गर्न थालिएको छ । अभिभावकमा मोबाइलको असरका बारेमा जानकारी हुँदाहुँदै पनि आफ्ना सन्तानलाई मोबाइल दिने क्रम बढ्दो छ । बालबालिकाबाट शुरु भएको लत किशोरवयमा अझ विस्तार हुँदै जाने देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार आवश्यक शारीरिक व्यायामको कमीले गर्दा बालबालिका र किशोर किशोरीहरूको स्वास्थ्य खराब हुनुका साथै मस्तिष्क विकास र सामाजिक सीपमा समेत असर गरिरहेको छ । अध्ययनहरूले धनी या गरिब हरेक देशका बालबालिकाहरूमा पछिल्लो समय दिनमा एक घण्टा पनि शारीरिक व्यायाम नगर्ने गरेको पाइएको छ । स्वास्थ्यका दृष्ट्रिकोणले दैनिक रूपमा कम्तीमा पनि एक घण्टा शारीरिक व्यायाम अत्यन्तै आवश्यक रहेको चिकित्कसकहरुको भनाइ छ ।

दैनिक ३० मिनेट मुटु ढुकढुक हुने गरी हिँड्न चिकित्सकहरू सुझाउँछन् । तर अहिले धेरै मानिस एक ठाउँबाट अर्को ठाउँमा जान यातायात प्रयोग गर्छन् । त्यसमा पनि पछिल्लो समय सहज बन्दै आएको पठाओ, इनड्राइभ सेवाले थप सहज बनाए दिएको छ । अफिसमा बसेर काम गर्ने मानिसहरू पनि अफिस समयमा खाजासम्म पनि अनलाइनबाट मगाएर खाने गर्छन् । यो प्रवृत्तिले उनीहरुको स्वाथ्य अवस्थामा थप जोखिममा पर्दै गएको छ ।

के होे शारीरिक व्यायाम ?

ब्यायाम भनेको मुटुको धड्कन बढ्ने र फोक्सोले तेज श्वास फेर्ने सबै गतिविधि हो । जसमा दौडिनु, साइकल चलाउनु, पौडी खेल्नु, फुटबल खेल्नु, उफ्रिनु, डोरी खेल्नु, पसिना निकाल्ने खालका काम गर्नु हो । बालबालिकाहरु लाई आफ्ना अभिभावकले स्कुल जाँदा पनि घरै अगाडीबाट स्कुल बस चढाएर पठाउने गर्छन् । यसले पनि बालबालिकाको शारीरिक रुपमा हिँड्ने, दौडिने र खेल्नबाट बन्चित भएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : ३१ बजे

माओवादी गढमा सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको

काठमाडौं- आसन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा

ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल

भक्तपुर – राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति

सरकारका नयाँ शहरमा उल्टो विकास !

काठमाडौं – सरकारले व्यवस्थित र दीगो शहरीकरण गर्ने भन्दै १३

कोशी प्रदेशको पुनः नामकरण माग गर्दै विराटनगरमा प्रदर्शन

काठमाडौं– पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

इटहरी– इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट