एकातिर विस्तार, अर्कातिर क्षति | Khabarhub Khabarhub

एकातिर विस्तार, अर्कातिर क्षति

खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक — तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ । तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो ।

आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चार सय ३५ मिटर, पनौती नपाले चार हजार तीन सय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरमा दुई हजार छ सय २६ मिटर पाइपमा क्षति पुर्‍याएको छ । क्षतिका कारण आयोजनाको एक करोड १६ लाख ३९ हजार ६५ रुपैयाँ बराबरको नोक्सान भएको हो ।

निर्माणाधीन आयोजनाको पाइप क्षतिबारे तीन नगरका जनप्रतिनिधिले आलटाल गरेको जनाइएको छ । बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले ती वडामार्फत क्षति पुगेको पाइपबारे थप अनुगमन गरी व्यहोर्न सकिने बताए । ‘सम्झौताभन्दा कम गुणस्तरको पाइप राखेका कारण पानीको प्रेसर परीक्षण गर्दा धेरै स्थानमा फुटेको पाइएको छ, अन्य स्थानको क्षतिबारे अनुगमन गरी परेमा ब्यहोर्नु पर्नेछ’, उनले भने ।

पाँच मुहानबाट पानी सङ्कलन गरिने आयोजनाको तीन सय ३८ किलोमिटरमध्ये हालसम्म दुई सय ९८ किमीमा पाइप बिछ्याइएको छ । सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ अर्थात् सात सय ३० दिनमा सक्ने गरी सम्झौता भएको आयोजना करिब ११ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । करिब एक अर्ब रुपैयाँ लागतको उक्त खानेपानी आयोजनाको २९ प्रतिशत बजेट दिएको एशियाली विकास बैंक (एडीबी) ले आयोजनाबाट हात झिकिसकेको छ ।

तीन वर्षदेखि आयोजनाको काम ९७ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरपालिकाका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरका स्थानीयका घरघरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने जनाइएको थियो । परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो ।

चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इङ्क ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन नसके पनि आयोजनाको नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने प्रक्रियामा लागिएको छ । शाक्यले भने, ‘नयाँ ठेकेदार कम्पनी खोज्नेबारे तीनै नगरपालिकाले छलफल गरेको हो, तर पुरानो निर्माण कम्पनीले आयोजनाको लागत अनुमान दिएको छैन, त्यसका कारण आयोजना कहिलेसम्म सम्पन्न गर्ने भन्नेमा अन्योलता बढेको छ ।’

ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने बताए ।

वादेका अनुसार हाल खानेपानी संस्थानको वितरण प्रणालीमा मुख्य लाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थालिनेछ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको ९७ प्रतिशत काम सम्पन्न भएको छ । पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ ।

मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ । तीन नगरका एक हजार एक सय १४ धाराको इन्टर–कनेक्सन गरिएको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रुपमा हेरिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : ५८ बजे

दुईतिहाइ विश्वास पाएका ओलीसामु चार चुनौती !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत

आजका समाचार : ओलालाई दुईतिहाइ विश्वास, बंगलादेशमा आरक्षण खारेज, नेपाली विद्यार्थी फर्किँदै

प्रधानमन्त्री ओलीले पाए संसद्‍को दुईतिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधारका लागि

बंगलादेशमा सर्वोच्च अदालतले आरक्षण प्रणालीलाई खारेज गरिदियो

ढाका- बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जुन ५ मा गरिएको

मोहना नदीमा अलपत्र परेका २५ जनाको उद्धार

काठमाडौं– आइतबार बर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र