दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज दिनभर संसदमा को सांसदले के भने ?, लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिए, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्व तयारी गर्न सुझाव, किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान, एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदैलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

संसदमा शून्य समय : को सांसदले के भने ?

प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिंचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । आइतबारको प्रतिनिधिसभा शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त संकटमा परेको, प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन् । उनले भनिन्, ‘ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ? ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो संख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको बुझाइ छ ।

जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी नापी सुरु गर्न, चर्काे रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए ।

राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधनको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्काे विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए ।

नेकपा एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन् ।

रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दै भने, ‘सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगरियोस् ।’

नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे ।

नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे ।
रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए ।

सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तिर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जानुपर्ने दाबी गरिन् ।

कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए ।
एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोबास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गरिन् ।

जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भएपनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनवाइ गर्न ध्यानाकर्षण गराइन् ।

रास्वपाकी सोविता गौतमले काठमाडौँ क्षेत्र नं ३ मा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन् ।

नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलुक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताइन् ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिंचाइ हुने राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस भनी माग गरे ।

रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै शेयर कारोबार गर्नेले हालसम्म रु १४ खर्ब गुमाइसकेकाले उनीहरुलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे ।

नेकपा माओवादी केन्द्रका हितराज पाण्डे पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रान्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले काठमाडौँ उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए ।

राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरे ।

माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता देखाउन सरकारसँग माग गरिन् ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरुप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिए

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् ।

हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण

पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढीकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ ।

स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइँलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा विशेष चासो देखाएको हो ।

मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सूक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘हवाई सुरक्षाका विषयमा प्राधिकरणले सूक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायुसेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ,’ उनले भने ।

हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन पटक–पटक निर्देशन पनि दिँदै आएका छन् ।

शनिबार पत्रकारसँगको अन्तरक्रियामा पनि उनले हवाई सुरक्षाप्रति कुनै किसिमको कमीकमजोरी हुन नदिन आफूले सम्बन्धित निकायका अधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताएका थिए ।

यसैबीच प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँग आकाशमै ठोकिनबाट जोगिएको एयर इन्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ । प्राधिकरणले उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल आउँदै थियो । सोही समय दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इन्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेकाले दुर्घटना हुनबाट बचेको थियो । उनका अनुसार उक्त घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको र घटनामा एयर इन्डियाका तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न एक समिति गठन गरिएको छ ।

जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई निर्देशन दिइएको छ । यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोकिनबाट बचेका थिए । उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोखिएको थियो ।

यही चैत ९ गते प्राधिकरणले काठमाडौँ–लुक्ला उडानका क्रममा टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर ( एटीसी) सँग अपशब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको थियो । त्यसै गरी उडान सुरक्षा मापदण्ड उलङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनी क्रमशः एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटलाई पनि निलम्बन गरिएको थियो ।

यसअघि यही चैत ७ गते प्राधिकरणले वायुसेवा निगमको ट्वीनओटर जहाजका चालक दलसहित सात जनालाई निलम्बन गरेको थियो । ताप्लेजुङबाट काठमाडौँका लागि उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिट क्षमताभन्दा एक सय पाँच केजी बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएकाले उडान अनुशासन पालना नगर्ने जहाजका चालक दलका सदस्यसहित विमान ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

चालक दलका तीन सदस्य, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गर्नाका साथै घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ । त्यसै गरी गत फागुन २५ गते काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको थियो ।

श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा ‘फायर वर्निङ’ देखिएपछि बिचबाटै डाइभर्ट गरेर काठमाडौँमा आकस्मिक अवतरण गरिएको हो । घटना लगत्तै प्राधिकरणले उक्त एयरलाइन्सका उडानमा रहेका सबै जहाज एक दिन ग्राउण्डेड गरी जाँच गराएपछि भोलिपल्ट जहाज पुनः उडानका लागि अनुमति दिएको थियो ।

यसरी हवाई सुरक्षा पालनामा लापरबाही गर्ने र आचरण विपरीत काम गर्ने विमान कम्पनी र संलग्न पाइलटलाई कानुनी दायरामा ल्याउन प्राधिकरण आक्रामक रूपमा प्रस्तुत भएको हो । मुलुकको हवाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उडान सुरक्षालाई सुदृढ र प्रभावकारी तुल्याउन लागि परेको प्राधिकरणले जनाएको छ ।

‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक राष्ट्रियसभाबाट स्वीकृत

राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

गैरसरकारी विधेकयकका रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भएर सर्वसम्मतिले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत १६ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदै

मुगुमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि एक हजार ४ सय ६६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । पाँच दिनपछि १७ चैतबाट सञ्चालन हुने एसईई परीक्षामा मुगुका चार स्थानीय तहका एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।

आवश्यक हाजिरी पु¥याएका नियमित तर्फ एक हजार ४४५ , ग्रेड वृद्धिमा २१ जना गरी एक हजार ४६६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुन लागेका शिक्षा विकास तथा समन्वय इकाई मुगुका इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए ।

उनका अनुसार गत वर्षभन्दा यो वर्ष एसईई परीक्षा दिने परीक्षार्थीको सङ्ख्या वृद्धि भएको छ । गत वर्ष ९७६ जना परीक्षार्थीले एसईई दिएका थिए । परीक्षा सञ्चालनका लागि ७ वटा केन्द्र तोकिनुका साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्र अध्यक्ष तोकिने पनि इकाई प्रमुख खत्रीले जानकारी दिए ।

उनले भयरहित वातावरणमा परीक्षा सञ्चालन हुने विश्वास दिलाउँदै परीक्षार्थीलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम

रुपन्देहीको सैनामैनामा अन्धविश्वासका कारण १४ वर्षीय बालिकाको मृत्यु भएसँगै बोक्सी कुप्रथाविरुद्धको राष्ट्रव्यापी सचेतनामूलक कार्यक्रम गरिएको छ । गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय साल झण्डीको व्यवस्थापन तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

९ वर्षदेखि नेपालमा अभियान चलाउँदै आएका कोविद शरण उपाध्यायले शिक्षा र चेतनाको अभावले रुपन्देहीसहित देशका विभिन्न क्षेत्रमा अझै पनि बोक्सी, बोक्साको कुप्रथा, अन्धविश्वासका कारण दुखद घटना हुने गरेकोले आगामी १५ वर्षमा उन्मुलन गर्ने लक्ष्यका साथ अभियान चलाउँदै आएको बताए ।

देशका विभिन्न ४० जिल्लामा ५०१ अभियान चलाएको प्रतिष्ठानले रुपन्देहीमा ३ वटा कार्यक्रम सञ्चालन गरेको छ । पोखराको हेम्जाबाट सुरुवात भएको अभियानको लक्ष्य नै नेपालबाट सती प्रथा जस्तै बोक्सी प्रथाको उन्मुलन गर्नु नै रहेको उपाध्यायले भने ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कुरीतिको कारण रुपन्देहीमा अबोध बालिकाको ज्यान गए पनि यस्ता घटना नदोहोरिन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने बताए । समाजमा धेरै कुरीति र कुसंस्कार रहेकोले यसलाई हटाउन सबैले मानसिकता, र सोचमा परिवर्तन गर्न जरुरी रहेको बताए । कानुनले पनि बन्देज गरेको छ, सोच र मानसिकतामा परिवर्तन आए व्यवहारिकतामा ल्याई सहजै यस्ता कुसंस्कारलाई उन्मुलन गर्न सकिने प्रजिअ पाण्डेले भने ।

बोक्सी, छाउडी जस्ता गलत धारणाका कारण कुप्रथाहरू बसेकोले यसको जरै देखि उन्मुलन गर्नका लागि सैनामैना १० स्थित झिमझिमीयाको सामुदायिक भवनमा सचेतना जगाउन तथा जागरूकता प्रदान गर्न बोक्सी प्रथा सम्बन्धी ‘अग्नि दहन’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ । भुल्के सामुदायिक वनका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवीहरू, आमा समूह टोल विकास संस्था, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा तथा स्थानीयहरूको समूहमा सचेतना जगाउँदै समाजमा भएको बोक्सी प्रथा जस्ता विकृतिप्रति जागरूकता जगाउन कार्यक्रम आयोजना गरिएको सैनामैना वडा नं. १०का अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।

किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान

राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि छनौट गरेको छ ।

कम्तीमा पनि ३ वटा दुहुनो गाइभैंसी पालेका किसानलाई गोठ सुधारमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायीक रुपमा गाइभैंसी पालन गर्दै आएका, पशुफर्म दर्ता गरी नगरपालिकामा सूचीकृत भएका किसानबाट आवेदन माग गरिएको नगरपालिका पशु शाखा प्रमुख शिवबावु देवकोटाले बताए । एकजना किसानलाई गोठ सुधारका लागि नगरपालिकाले ४० हजार रुपैयाँ अनुदान दिइनेछ । गोठसुधार कार्यक्रम नगरपालिका र कृषकको ५०÷५० प्रतिशत साझेदारी रहने छ । उक्त कार्यक्रमका लागि नगरपालिकामा ३८ जना कृषकले आवेदन दिएका थिए।

आवेदन परेका पशुफर्मको अनुगमन समितिले स्थलगत अध्ययन गरी १२ जना कृषकलाई छनौट गरेको नगरपालिकाले जनाएको छ । गतवर्ष कुनै पनि अनुदानको कार्यक्रममा सहभागी नभएका, परम्परागत भन्दा पनि व्यवसायीक रुपमा, पशुफर्म दर्ता गरी नगरपालिकामा सूचीकृत भएका किसानलाई पहिलो प्राथमिकतामा राखेर अनुदानका लागि छनौट गरिएको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए ।

गोठ सुधार कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा गोठ सुधार, काउ म्याट वितरण, च्यापकटर, क्यान वितरण, मासु पसल सुधार कार्यक्रम, लोकलकुखुरा संरक्षण लगायतमा अनुदान दिएको सुयलले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ९ : ०२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द