आज चैत १२, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २६, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
ताइवानसँगको ८० वर्ष पुरानो सम्बन्ध तोड्दै होन्डुरसद्वारा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना
जनगणतन्त्र चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै होन्डुरसले चीनसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो ।
कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । चीनले होन्डुरसको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ ।
होन्डुरस र ताइवानले औपचारिक रूपमा एकआपसको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । विश्वका १४ सार्वभौम राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम गरेको ताइवानलाई अब भ्याटिकन सिटीलगायत १३ देशले मात्र मान्यता दिएका छन् ।
यसैबीच, एशोसिएटेड प्रेसले दुई देशबीचको नयाँ सम्बन्ध चीन र अमेरिका बीचको बढ्दो तनावका बेला कायम भएको जनाउँदै स्वशासित ताइवानप्रति चीनको बढ्दो दृढता र ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ प्रभावको सङ्केत गरेको बताएको छ ।
यसअघि होन्डुरसका विदेशमन्त्री एडुआर्डो रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका थिए । उनले आफ्नो देशको आर्थिक आवश्यकता पूरा गर्न ताइवानले सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताएका थिए ।
विदेशमन्त्री रेनाले ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको बताए ।
होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै सहायता प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उनको भनाइ थियो । मध्य अमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।
होन्डुरसको विदेश मन्त्रालयले आफ्नो देशको सरकारले विश्वको एउटा मात्र चीनलाई मान्यता दिने र समग्र चीनको प्रतिनिधित्व जनवादी गणतन्त्रले गरेको बताएको छ । ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग भएको उल्लेख गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ताइवानसँग औपचारिक सम्बन्ध कायम नगर्ने वाचा गरेको छ । होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोडिएको जानकारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।
ताइवानका विदेशमन्त्री जोसेफ वुले पनि आज ताइपेइमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो मर्यादा र सार्वभौमसत्ता रक्षका लागि होन्डुरससँगको सम्बन्ध तोडेको बताएका छन् । होन्डुरससँगको आफ्नो देशको सम्बन्ध स्थिर रहेका बेला चीनले प्रलोभन दिएर सम्बन्ध तोडेको आरोप विदेशमन्त्री वुले लगाए । साथै उनले होन्डुरसको निर्णयप्रति खेद प्रकट गरे ।
दुई साताअघि होन्डुरसका राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएकी थिइन् । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा पनि गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको चेतावनी दिएकी छिन् । उनले पछिल्लो उथलपुथलपछि सतर्कताको खाँचो रहेको पनि बताइन् ।
चीनको राजधानी बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै प्रमुख जर्जिएभाले युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने चेतावनी दिइन् ।
सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनको भनाइ छ ।
अमेरिकामा आँधी : २६ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
अमेरिकाको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाको मृत्यु भएको छ । आँधीका कारण अरु सयौँ घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपतकाल घोषणा गरेको छ ।
आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र सिसाले सडक हेरि नसक्नु छ भने पुरै शहर प्रायः भग्नावशेषमा परिणत भएको छ । यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’ मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन् ।
पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस । वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ । बोटबिरुवा सोत्तर भएका छन् ।
घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन् । रुख जरैदेखि उखेलिएका छन् । मोटरकार उत्तानो परेका छन् । घरका पर्खाल र छाना देखिँदैनन् । भग्नावशेषको उरुङबाहेक केही देखिँदैन ।
आँधीका कारण विद्युत् आपूर्ति नहुँदा शनिबार सबैतिर अन्धकार भयो । दुई सय ६५ देखि तीन सय २० किलोमिटरको बेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले केही राखेको छैन– सबैतिर विनाशै विनाश, क्षति नै क्षति ।
निरपेक्ष गरिबीको रेखामुनि रहेका यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारलाई आदेश दिएका छन्। अस्थायी आवास, घर मर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्ति स्वरुप ऋण अनुदानलगायत सुविधा उपलब्ध गराउन उनले आदेश दिएका हुन् ।
प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकहरुको पहुँच छ : टिकटकका सीईओ
चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् ।
अमेरिकी कंग्रेसमा बयान दिँदै टिकटकका प्रमुख कार्यकारी सीईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका हुन् ।
अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाईमा सीईओ शोउ जी चेउले भने ‘हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिकहरु छन् । त्यसैले हो, चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच छ ।’
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका बेला उनको यस्तो बयान आएको हो । उनको जवाफबाट अमेरिकी प्रतिनिधिहरु विश्वस्त हुन असफल भएको विश्लेषण गरिएको छ ।
सुनुवाईका क्रममा टिकटकको डेटामा चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको समेत पहुँच रहेको अमेरिकी प्रतिनिधिहरुले आरोप लगाएका थिए ।
जवाफमा सिंगापुरका नागरिक शोउ जी चेउले आफूले कम्पनीको जिम्मेवारी सम्हालेदेखि चिनियाँ कम्युनिष्ट पार्टीका कुनै पनि प्रतिनिधिले आफूसँग सम्पर्क नगरेको जवाफ दिएका थिए ।
सोमालियामा ६ महिनामा ३ हजार बढी लडाकु मारिए
बितेका छ महिनामा सोमालियाको राष्ट्रिय सेनाले अल–शबाब विरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् भने तीन हजार सात सय जना घाइते भएका छन् ।
सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७० गाउँ र शहरलाई स्थानीय जनताको सहयोगमा देशको राष्ट्रिय सेनाले मुक्त गरेको बताएको छ । उक्त मन्त्रालयले साँझ जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सेनाले अन्तर्राष्ट्रिय मानवीय कानून, मानवअधिकार कानून, इस्लामिक कानून र सोमाली परम्परागत युद्ध नियमको पूर्ण पालना गर्दै चरमपन्थीमाथि कारबाही गरेको जनाइएको छ ।
रमजानको पवित्र महिनामा सोमाली जनता चरमपन्थीबाट सुरक्षित रहुन् भन्ने उद्देश्यका साथ कारबाहीलाई अझ व्यापक बनाइएको बताइएको छ । आतङ्वादी विरुद्ध अब दोस्रो चरणको आक्रमणको तयारी सेनाले गरिरहेको मन्त्रालयले बताएको छ ।
गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको थियो । चरमपन्थी समूह अल–शबाबले सोमालियाका दक्षिण र मध्य भागमा अवस्थित ग्रामीण भेगमा आफ्नो नियन्त्रण कायम राखेको छ ।
गत साता राष्ट्रिय सेनाका कमान्डर मोहम्मद तहलिल बिहीले आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा ३० जना मारिएका बताएका थिए । सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । अल–शबाबले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुई वटा गाडी जलाएको दाबी गरेको थियो ।
प्रतिक्रिया