कमिशनको लोभमा प्रक्रिया मिचेर ६ अर्बको चिनियाँ हतियार किन्दै नेपाली सेना | Khabarhub Khabarhub

कमिशनको लोभमा प्रक्रिया मिचेर ६ अर्बको चिनियाँ हतियार किन्दै नेपाली सेना


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाफागत व्यवसायमा आफ्नो संलग्नता बढाएको आरोप खेपिरहेको नेपाली सेनाले कमिशनको लोभमा प्रक्रिया मिचेर छिमेकी राष्ट्र चीनबाट ६ अर्ब रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी गरेको रहस्य खुलेको छ। सैनिक स्रोतका अनुसार नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको आगमनसँगै एजेन्ट लोकेन्द्र कार्कीमार्फत ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्ने तयारी गरेको रहस्य खुलेको हो।

चीनबाट एकैपटक ठूलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्र कार्कीमार्फत हतियार ल्याउन लागिएको स्रोतको दाबी छ। स्रोतका अनुसार बिना प्रतिस्पर्धा सेनाले गोप्य रुपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट २६ वटा एपीसी र ७२ वटा ट्याक्टीकल भेइकल खरिद गर्न लागेको हो।

स्रोत भन्छ, ‘पारदर्शी प्रक्रिया नै नअपनाई सुटुक्क नेपालस्थित चिनियाँ दूतावासमार्फत् कोटेशन मगाएर महंगोमै स्वीकृति लिएर हतियार खरिद गरिँदै छ।’ जसमा चार करोड पनि नपर्ने एपीसीको मूल्य सात करोड ७५ लाख राखिएको छ।

स्रोतका अनुसार बिना प्रतिस्पर्धा सेनाले गोप्य रुपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट केटू हतियारसहित २६ वटा एपीसी र ७२ वटा ट्याक्टीकल भेइकल खरिद गर्न लागेको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपाली सेनाले गर्न लागेको हतियार खरिदका विषयमा अनविज्ञता जनाए। खबरहबसँग भण्डारीले भने, ‘नेपाली सेनाले चीनबाट हतियार किन्ने विषयमा अहिलेसम्म मलाई कुनै पनि जानकारी छैन।’

हतियार खरिदको विषयमा रक्षा मन्त्रालय पनि जानकार छैन। हतियार खरिदको विषयमा जिज्ञासा राख्दा रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश पौडेलले खबरहबसँग भने, ‘नेपाली सेनाले हतियार किन्ने विषयमा मलाई केही पनि जानकारी आएको छैन।’

हतियारको विषयमा चिनियाँ कम्पनीसँग डिल गर्ने नेपालस्थित प्रतिनिधि लोकेन्द्र कार्कीले समेत हतियार खरिदका विषयमा आफूलाई थाहा नभएको बताए। उनले यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्। उनले भने, ‘मलाई यो विषयमा केही जानकारी छैन। म यसअघि नेपाली सेनासँग जोडिएर अरु केही काम गरेका कारण यस पटक पनि मेरो नाम आएको हुनसक्छ। तर मलाई अहिले यो विषयमा केही थाहा छैन। म हतियार किन्ने विषयमा कतैबाट पनि संलग्न छैन।’ कार्कीले आफ्नो सिंगापुर लगायत देशमा ‘विजनेश’ भएको र धेरैजसो समय उतै रहने र अहिले सेनासँग कुनै पनि काम नगरेको सुनाए।

हतियार खरिदमा ठूलो चलखेलको आशंका
राजनीतिक संक्रमणको फाइदा उठाउँदै हतियार खरिदका लागि नेपाली सेनाका केही उच्च अधिकारी लागेकाले यसमा ठूलो आर्थिक चलखेलको आशंका सिर्जना भएको छ। त्यसो त यसअघि भू–राजनीतिक सन्तुलन राख्ने भन्दै नेपाली सेनाले भारतीय कम्पनी महेन्द्रको चार वटा एपीसी तीन करोड ९८ लाखमा लिएको थियो। तर उस्तै प्रकृतिको एपीसी किन्दा भारतबाट भन्दा चीनबाट बढी कमिशन आउने भएकाले चीनबाट किन्न लागिएको स्रोतको दाबी छ। कमिशनको लोभमा उच्च राजनीतिक नेतृत्वलाई समेत प्रभावमा पारेर प्रक्रिया मिच्न लागिएको सैनिक स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘लोकेन्द्र कार्कीको प्रभावमा परेर पहिले नेपाली सेनाले कोरियाबाट ल्याएका धेरै केटु हतियार नचलेपछि पुनः हतियार ल्याउने प्रयास भइरहेको छ।’

‘यो कुनै पनि प्रतिस्पर्धा गर्ने कुरा होइन। टेण्डर वा पेपरमा निकालेर कुनै देशले हतियार खरिद गर्दैन। सबैतिर यसरी गोप्य नै गर्ने हो। अब यसमा खायो खाएन के छ भनेर हेर्ने कुरा चाहिँ प्रधानमन्त्रीले हेर्ने हो। अख्तियारले उजुरी पर्यो भने हेर्ला। तर देशको सुरक्षालाई छलफलको विषय भने बनाउनु हुँदैन।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्व सचिव सूर्यनाथ उपाध्याय हतियार खरिद राष्ट्रिय सुरक्षाको विषय भएकाले गोप्य रुपमा गर्नुपर्ने बताउँछन्। तर खरिद गर्दा प्रक्रिया भने पुर्‍याउनुपर्ने र त्यसमा कुनै पनि कमिशन तथा भ्रष्टाचारको खेल हुन नहुने उनको तर्क छ। उपाध्याय भन्छन्, ‘हतियार खरिद गर्ने कुरा एकदमै ‘सेन्सेटिभ’ विषय हो। खुला प्रतिस्पर्धाबाट नेपाली सेनाले पनि दिँदैन र दिनु पनि हुँदैन। तर हतियार किन्दा आन्तरिक प्रक्रिया भने पुर्याउनुपर्छ। त्यसमा कुनै भ्रष्टाचार तथा कमिशनको खेल हुनु हुँदैन।’

उपाध्यायले भने, ‘यो प्रतिस्पर्धा गर्ने कुरा होइन। टेण्डर वा पेपरमा निकालेर कुनै देशले हतियार खरिद गर्दैन। सबै तिर यसरी गोप्य नै गर्ने हो।  यसमा कसले खायो/खाएन भनेर हेर्ने काम प्रधानमन्त्रीको हो। अख्तियारले उजुरी पर्यो भने हेर्ला। तर देशको सुरक्षालाई छलफलको विषय भने बनाउन हुँदैन।’ हतियार खरिद राष्ट्रिय सुरक्षाको विषय भएकाले यसमा छलफल गर्न नहुने तर नेपाली सेनाले पनि कमिशन र भ्रष्टाचारको लोभमा भने काम गर्न नहुने उपाध्यायको तर्क छ।

कमिशनका लागि एजेन्ट नै परिवर्तन
चिनियाँ कम्पनीको नेपालस्थित प्रतिनिधि उमेश श्रेष्ठ र रोशन श्रेष्ठको कम्पनीबाट पाएको म्याद बाँकी रहँदै लोकेन्द्रले आफ्नो स्टाफ अनुपमा शाक्य र अर्का नाइडु थरका स्टाफको नामसमेत राखेको सैनिक स्रोतको दाबी छ। रक्षामन्त्रीको दबाब तथा ठूलो मात्रामा चिनियाँ हतियार खरिद गर्ने भनेपछि चिनियाँ कम्पनीले नेपालस्थित एजेन्ट परिवर्तन गर्न लागेको हो। नोरिङदो कम्पनीका नेपाल प्रतिनिधि उमेश श्रेष्ठले अहिले आफ्नो म्याद रहँदै दबाबमा एजेन्सी खोसिएको भनी खरिदको कमिशन आफैले पाउनुपर्छ भन्दै सैनिक मुख्यालय भद्रकालीमा उजुरी दिएका छन्।

रक्षामन्त्री खड्काको दबाबमा चिनियाँ हतियार कम्पनीको नेपालस्थित प्रतिनिधि फेरबदल गर्ने प्रयास भएको हो। लोकेन्द्र कार्कीले नै प्रधानसेनापति प्रभुराम शर्मा, रक्षामन्त्री खड्कालगायतसँग चिनियाँ हतियार कम्पनीका प्रतिनिधिसँग केही साता अघि मात्र गोप्य मिटिङ गराएको स्रोतको दाबी छ।

के टू हतियार भ्रष्ट सेना रहेका फिजी, नाइजेरिया कम्बोडिया, पेरु, सेनेगल र इराकी सेनाले प्रयोग गरिरहेको छ। नेपाली सेनामा पनि केटू हतियार इन्फेन्ट्री फौजले प्रयोग गरिरहेको छ।

कार्की ती व्यक्ति हुन् जसले यस अघिका प्रधानसेनापति पूर्णचन्द्र थापा र राजनीतिक नेतृत्वको सेटिङ मिलाएर फास्ट ट्रयाकमा चिनियाँ कम्पनी पोलिचड्डालाई नेपाल भित्र्याएका थिए। कार्कीले आफ्नै नाममा सरकारको अनुमति बेगर सिंगापुर र दुबईमासमेत कम्पनी खोलेका छन्। ती कम्पनी नेपालबाट रकम बाहिर लैजान र महंगो बनाएर नेपालसम्म भित्र्याउन प्रयोग भइरहेको एक सैनिक अधिकारीले जानकारी दिए।

लोकेन्द्र कार्कीले कमिशनको सेटिङलगायत मिलाउन, खरिद मूल्य बीचमा बढाउन, नेपालमा हुने भुक्तानी आफ्नै विदेशमा रहेको कम्पनीमार्फत गर्दै ठूलो रकम बीचैमा हिनामिना गर्न नेपाल सरकारको स्वीकृति बेगर सिंगापुरमा कम्पनी खोलेको पाइएको छ। लोकेन्द्रले सिंगापुरमा ग्लोबल होल्डीङ नेटवर्क प्रालि नामको कम्पनी सिंगापुरको २० सिसिल स्ट्रीट, १४-०१ इक्वीटी प्लाजामा ०४९७०५ नम्बरको दर्ता रहेको कार्यालयसमेत खोलेका छन्। उक्त कम्पनीको टेलिफोन नम्बर ६५६३२०१८८८ रहेको छ।

पहिलो चरणको खरिद सकिएसँगै पुन ५० वटासम्म एपीसी र अन्य हतियार पनि चीनसंग किन्ने सेनाले प्रतिबद्धता जनाएको छ। भारतले विष्फोटक पदार्थ सहजै नदिएको भन्दै गोप्य रुपमा चीनबाट भित्राउने भनी लोकेन्द्र कार्कीको सक्रियता बढीरहेको बताइएको छ। लोकेन्द्र कार्कीले नेपाली सेनालाई यसअघि नै दक्षिण कोरियाबाट अर्बौं मूल्य बराबरको हतियार खरिद गराउन सफल भएका थिए।

दक्षिण कोरियाली कम्पनी एस एन्ड टी मोटिवले समेत लामो समयदेखि नेपाली सेनालाई हतियार बेच्न प्रयत्न गरिरहेको थियो। उक्त कम्पनीले आफ्नो कम्पनीबाट हतियार खरिद गरे ५० प्रतिशतसम्म कमिशन दिने र बीचको कुनै देशबाट भुक्तानीको समेत व्यवस्था गर्ने आश्वासन दिँदै सैनिक अधिकारीलाई प्रभावमा पार्दै आए पनि सफल हुन सकेको थिएन। तत्कालीन प्रधानसेनापति प्रज्वललशम्शेर राणाको पालादेखि आफ्नो हतियार नेपाली सेनालाई बिक्री गर्ने प्रयत्न गर्दै आएका कोरियाली पूर्णचन्द्र थापाको पालामा ठूलो कमिशन दिएर सफल भएका थिए।

तत्कालीन प्रधानसेनापति गौरवशम्शेर राणाको समयमा पनि सेनाको आधुनिकीकरणका लागि भन्दै अमेरिका, जर्मनी र इजरायलमध्ये एक देशबाट हतियार खरिदको प्रक्रिया थाल्ने प्रयास भएको थियो।

उनै लोकेन्द्र कार्कीले तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको सेटिङमा बिना प्रतिस्पर्धा धेरै मूल्यमा कोरियाबाट ल्याएको केटू हतियारमा समस्या देखिएको छ। कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाइ लोकेन्द्रले तत्कालीन प्रधानसेनापति थापाको सेटिङमै सेनापतिकै नातेदारसमेत रहेका रायमाझी थरका व्यक्तिलाई समेत अघोषित साझेदार बनाएर हतियार ल्याएका थिए। सेनाले कोरियन कम्पनी डेउ प्रिसिजन इन्डस्ट्रिजबाट डेढ अर्ब बराबरको हतियार खरिद गरेको थियो। सेनाले कोरियाबाट ९ सय डलरका दरले ३० हजार थान केटूसी वन असल्ट राइफल खरिद गरेको थियो।

लामो समयदेखि नेपाली सेनाले टेस्टेट हतियारमात्र चलनमा ल्याउने अभ्यास पूर्णचन्द्र थापाको पालामा तोडिएको थियो। उनले उत्पादनको अध्ययन र परीक्षण नै नगरी लोकेन्द्रको सेटिङमा हतियार खरिद गरेका थिए। सेनाले कोरियाबाट खरिद गरेको उक्त हतियार फिल्ड परीक्षणका क्रममा ब्यारेल तात्ने, ककिङ हयाण्डल भाच्चिने र नपड्किने समस्या देखिए पनि त्यो विषयमा केही अनुसन्धान भएको छैन। उक्त हतियारमा ६/७ वटा गोली नपड्कँदै तातिने र अन्य समस्या देखिने गरेको छ। कोरियन हतियारको खराबी हो या गुणस्तर नै खराब भएको ल्याएर समस्या आएको हो भन्नेमा अनुसन्धानसमेत भएको छैन।

केटू सिरिजका हतियारको वास्तविकता
केटू सिरिजका हतियारलाई अमेरिकामा निर्मित एम १६ सरह भनिए पनि भ्रष्टाचार अत्याधिक हुने देशबाहेक व्यवसायी सेनाले प्रयोग गरेको पाइएको छैन। के टू हतियार भ्रष्ट सेना रहेका फिजी, नाइजेरिया, कम्बोडिया, पेरु, सेनेगल र इराकी सेनाले प्रयोग गरिरहेको छ। नेपाली सेनामा पनि केटू हतियार इन्फेन्ट्री फौजले प्रयोग गरिरहेको छ।

नेपाली सेनाले जर्मनीमा उत्पादन भएको जी ३६, अमेरिकामा उत्पादित एम १६, इजरायलमा बनेको गलिललाई मात्र राम्रो हतियारको रुपमा वर्गीकरण गर्दै ती हतियार खरिद गर्नु उपयुक्त हुने निष्कर्षका आधारमा खरिद प्रक्रिया चलाउँदै आए पनि थापाले एकाएक कमिशन एजेन्टको चक्करमा कमशल हतियार खरिद गरेका थिए।

तत्कालीन प्रधानसेनापति गौरवशम्शेर राणाको समयमा पनि सेनाको आधुनिकीकरणका लागि भन्दै अमेरिका, जर्मनी र इजरायलमध्य एक देशबाट हतियार खरिदको प्रक्रिया थाल्ने प्रयास भएको थियो। अमेरिकाबाट हतियार आउन ढिलो हुने भएपछि भैरवनाथ गणले मात्र प्रयोग गर्ने गरी जर्मनीको जी–३६ नामक हतियार झिकाइएको थियो। त्यो बेलाको सैनिक प्रतिवेदनमा पनि कोरियन हतियारको परीक्षण र अनुभव हेर्दा काम नलाग्ने ठहर गरिएको थियो। गौरवशम्सेर पछिका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी हतियार एम–सीक्सटीन खरिदको प्रक्रिया अगाडि बढाएका थिए, त्यो बेला पनि कोरियाली कम्पनीमा एजेन्टले हतियार खरिदका लागि निकै जोड गरे पनि गुणस्तर नभएको भनी अस्वीकार गरिएको थियो।

मितव्ययिता र एकरूपताका लागि नेपाली सेनाले गुणस्तरीय हतियार र देशमा गरेको वर्गीकरणमा पर्दै नपर्ने कम्पनीसँग तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले सेटिङमा हतार-हतार प्रक्रिया अगाडि बढाएका थिए। अमेरिकी हतियार खरिद गर्ने भन्ने टिप्पणी उठाएका उनले रक्षा मन्त्रालयलाई पत्राचार गरेपछि आएको जवाफसहित कोरियाली दूतावासका अधिकारीलाई समेत प्रभाव पारेर कोटेशन सस्तो आएको भन्दै त्यही किन्नुपर्नेमा लबिङ गरेका थिए।

सैनिक मुख्यालयको चाहना बमोजिम रक्षा मन्त्रालयले हतारमा निर्णय गरेको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट २०७६ असार २२ मा स्वीकृति प्राप्त भएपछि सरकारले सेनाको प्रस्ताव अघि बढाउने स्वीकृति दिएको थियो।

थन्कियो कार्कीले ल्याएको सेकेण्डह्याण्ड एम्युनिशन प्लान्ट

लोकेन्द्र कार्कीले तत्कालीन प्रधानसेनापति थापा र राजनीतिक नेतृत्वसँगको कमिशन र सेटिङको आधारमा नेपाली सेनाले चार अर्ब ४५ करोड लगानीमा अटोमेटिक राइफलमा लाग्ने ५.५६ र ७.६७ एमएम साइजको गोली उत्पादन गर्न सुन्दरीजलमा जडान गरेको एम्युनिशन प्लान्ट अहिले पनि संचालनमा आउन सकेको छैन।

कार्कीले सामान खरिदमा चरम आर्थिक अनियमितताको आशंका गरिए पनि अनुसन्धान गरिएको छैन। यी सबै प्रकरणमा सेनाकै तत्कालीन अधिकारी राजन रायमाझीसमेत संलग्न रहेको सैनिक स्रोतको भनाइ छ।

सेनापति थापा र उनका नातेदार रायमाझीसँगको सेटिङमा कार्कीले अटोमेटिक राइफलमा लाग्ने ५.५६ र ७.६७ एमएम साइजको गोली उत्पादन गर्न ल्याएको सुन्दरीजलमा जोडिएको प्लान्ट नै कोरियन कम्पनीबाट सेकेन्ड ह्याण्ड ल्याइएको देखिएको छ।

नयाँ एम्युनिशन प्लान्ट चिनियाँसँग लिने तयारी

खड्का रक्षामन्त्रीमा नियुक्त भएपछि अर्बौंको बजेटको एम्युनिशन प्लान्ट पनि चिनियाँ कम्पनी नोरिङदोबाट लिन सेनाले तयारी थालेको छ। पहिलेको प्लान्ट थन्काएर अहिलेको आर्थिक संकटका बेला चीनबाट नयाँ खरिद प्रक्रिया थालिएको हो।

यसअघि अमेरिकालगायत नेपाली सेनासँग ठूलो परिणाममा रहेका हतियारको गोलीसमेत बनाउन सकिने नेटोको गुणस्तर रहेको टर्किस कम्पनीको प्लान्ट जडान गर्ने सहमति आकस्मिक रुपमा उल्टाएर ठूलो कमिशनको बलमा कार्कीले कोरियन सेकेन्डह्याण्ड मेसिन ल्याएका थिए। टर्किस गोली उत्पादक मेसिनको मूल्य सवा दुई अर्ब भन्दा पनि कम थियो तर कमिशनका लागि सेटिङ मिलेपछि तत्कालीन सेनापतिले अन्तिममा यूर्टन लिएका थिए।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : ०१ बजे

डा. रवीन्द्र समीरको ‘पैसाको उडान’  प्रकाशित 

काठमाडौं– लघुकथा विधाका अगुवा डा. रवीन्द्र समीरको १५ औं साहित्यिक

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट 

तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको