कांग्रेसको नियतमा प्रश्न नगरौँ | Khabarhub Khabarhub

कांग्रेसको नियतमा प्रश्न नगरौँ


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता रमेश लेखक कम बोल्ने तर रणनीतिक रूपमा काम गर्छन् । पार्टी संस्थापन पक्षको एउटा प्रभावशाली नेताको रूपमा उनको राजनीति अगाडि बढेको छ । विभिन्न मन्त्रालय पटकपटक जिम्मेवारी पूरा गरेका छन् । अहिले प्रतिनिधि सभाको प्रमुख सचेतक छन् । शान्ति प्रक्रियामा उनको भूमिका सम्झनयोग्य छ । देशको राजनीतिक परिदृश्यमा दल र तिनको नेतृत्वको आलोचना बढेको छ । यस विषयमा आधारित भएर नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरूको नेतृत्वले काम गर्न नसकेको हो ?
निर्वाचन भएको ६ महिना भएको छ । संसदमा कुनै दलको बहुमत प्राप्त नभएको कारण धेरै दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । गठबन्धनमा फेरबदल भए पनि त्यसमा सरकारले पूर्णता पाएको छ । सरकारले सल्लाह, सुझाव र सहयोगको भावना विकास गर्नुपर्छ । थोरै राजनीतिक अभ्यास र व्यवस्थामा समय लागेको हो त्यसमा अब परिवर्तन हुन्छ । हाम्रो आलोचनाका पक्ष छन् । त्यसमा हतोत्साहित हुनु पर्दैन । सबै कार्य सरल रूपमा अगाडि बढ्न सक्छन् । संविधानलाई क्रियाशील बनाएर अगाडि बढ्नुपर्छ । हामीले जनताको लागि सकेको काम गरेकै छौँ । त्यस कारण नेपाली कांग्रेस पार्टीको नियतमा प्रश्न नगरौँ ।

अहिलेको नेतृत्वको कार्यशैली सुधार गर्न तयार हुनुहुन्छ ?
त्यो सुधार हुन्छ । राजनीति दलहरू जस्तो नेपाली कांग्रेसको इतिहास ७० वर्ष भन्दामाथि रहेको छ । अरू पार्टीको पनि त्यो भन्दा कम छैन । नेपाली कांग्रेसले इतिहासमा धेरै ठूला ठूला काम गरेको छ । इतिहास केही हुँदै होइन भन्ने होइन । इतिहासले भविष्य निर्धारित गर्ने हो । हामीले परम्परागत रूपमा सोच्यौँ तर युवाले नयाँ सोचको खोज गरेका छन् । त्यसलाई बुझेर हामी अगाडि बढ्नुपर्छ ।

तपाईंको नेतृत्वले नयाँ दलका मान्छेलाई अन्य कार्यमा सक्रिय गराउन हतोत्साहित गरेको भन्ने आरोप छ। यथार्थ के हो ?
पुर्पुरोमा लेखेर पद पाउने राजनीति समाप्त भइसक्यो । हाम्रा कमी कमजोरी छन् । हामी पुर्पुरोमा लेखेर आएको होइन । हाम्रो जन्म जनताको जनमतबाट भएको हो । काम भइरहेको छ । पार्टीभित्र अहिले विभाग बन्ने र अन्य कार्य भइरहेका छन् । उन्नत लोकतान्त्रिककता कार्य व्यवस्था भएको छ । सरकारले पार्टी भित्रका कार्यमा रुमलिएर जनताको कुरामा ध्यान दिन नपाएको मात्र हो ।

तपाईंलाई देउवाको एकदम नजिकको र प्रभाव पार्न सक्ने नेताको रूपमा धेरैले चिन्छन् । सत्य त्यही हो ?
त्यो सत्य होइन । शेरबहादुर देउवाजी सरकार पनि होइन राज्य पनि होइन । उहाँ १२÷१५ वर्ष लोकतन्त्रको लागि जेल बसेर लोकतन्त्रको लागि लडेर आएको व्यक्ति हो । उहाँ पार्टीभित्र पद्धति मिचेर नेता तथा सभापति भएको होइन । राजनीतिमा लोकतान्त्रिक हिसाबले आएको व्यक्ति हो । मैले आफ्नो जिम्मेवारीपूर्ण काम सम्पन्न गरेको छु । काम गर्दै जाँदा कहिले नजिक त कहिले टाढा भइन्छ । मैले धेरै जनासँग नजिक बसेर काम गरेको छु । हाम्रो बीचमा औपचारिक र अनौपचारिक सम्बन्ध रहेको छ । त्यो भन्दा बढी केही छैन ।

पार्टीका कमजोरीलाई स्वीकार गरेर अगाडि बढ्न तयार हुनुहुन्छ ?
हामीले काम गर्दैगर्दा धेरै कमी कमजोरी भएका छन् । हामीप्रति जनताको गुनासो छ । त्यसमा अब तौरतरिकामा सुधार गरेर जनताको विश्वास जित्ने हुनुपर्छ । नेपाली कांग्रेसका अहिले पनि देशभर १० लाख क्रियाशील सदस्य छन् । लोकतन्त्रको सुन्दर पक्ष छ । यो देशमा राजसंस्था आउनुपर्छ भन्ने कुरा धेरै चर्चामा आएको छ । जनताले हामीसँग गरेको गुनासोलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । मुलुकले मागेको जनताले चाहेको अनुसार कांग्रेसले धेरै कार्य गरेको छ । हामी जनताको लागि संघीयतामा गएका छौँ । अब पुराना कुरा गरेर देशमा परिवर्तन सम्भव छैन ।

दाइ भाउजूको गिरोहको कब्जामा कांग्रेस भन्ने कुरा आएको छ । त्यसमा तपाईं के भन्नुहुन्छ ?
तपाईंले दाइ भनेर सभापति शेरबहादुरलाई अंकित गर्नुभएको हो । यदि त्यो हो भने १० लाख नेपाली कांग्रेसका कार्यकर्ताका बीचमा पारदर्शी, स्वतन्त्र, निष्पक्ष वडादेखि निर्वाचनको पद्धतिबाट सभापति हुनुभएको हो । उहाँ नेपाली कांग्रेसमा सभापति हुन्छु भनेर स्वयम् घोषणा गरेर आउनु भएको होइन । लोकतन्त्रको लागि लामो समय जेल बसेर लोकतन्त्रप्रति समर्पित भएर आएको नेता हो । उहाँले पनि काम गर्दैगर्दा कमी कमजोरी भएको होला त्यसको समीक्षा गर्नुपर्छ । तर गल्ती एउटै व्यक्तिले मात्र गरेर हुँदैन । संगठनमा दोष सबैले स्वीकार गर्नुपर्छ । उहाँ २०४८ सालदेखि चुनाव लडेर आउनुभएको छ । जहाँजहाँबाट चुनाव लड्नु भयो सबै ठाउँमा चुनाव जित्नु भएको छ । भाउजूहरूले प्रभावित पारेको भए कसरी जित्नु भयो ? उहाँ जनता र पार्टीबाट नै अनुमोदित हुनुभएको छ । नेपाली कांग्रेसको नियतमा नै तपाईंले प्रश्न गरिदिनुभयो । यसरी पार्टीको नियतमा प्रश्न नगरिदिन अनुरोध गर्छु ।

यो सरकार टिकाउनको निम्ति सर्वोच्चले आजीवन कैदको फैसला गरेका रेशम चौधरीलाई गणतन्त्र दिवसमा छुटाउने तयारी गर्नु भएको हो ?
सर्वोच्च अदालतले गरेका काम पनि कानुन र संविधानले गरेको व्यवस्था अनुसार नै हो । सरकार र सर्वोच्च अदालतले कानुन र संविधानको व्यवस्था भन्दा बाहिर गएर काम गर्दैन । संविधान, विधि र कानुनले नदिएको कार्य गर्न मिल्दैन । जे हुन्छ सबै कुरा कानुन र संविधानको अधिनमा हुन्छ ।

तपाईंले नेतृत्व गरेको समितिभित्रका मान्छेले बदमासी गरेपछि त्यसलाई स्पष्ट पार्ने र गल्ती गरेको भए माफी माग्नु पर्दैन ?
अनुसन्धानमा भएको कुरालाई अनुसन्धान यस्तोउस्तो भन्नु भन्दा त्यसको खोज गर्नुपर्छ । गल्ती कसको हो, अनुमान गरेर थाहा हुँदैन । काम कस्तो भएको हो त्यो कुनै निष्कर्षमा पुगेको छैन । हामीले अहिलेको संविधान धेरै मेहनतका साथ लगनशील भएर बनाएका छौँ । त्यसैले संविधानका मूलभूत विषयलाई खलबलाएर नयाँ कुरा खोजेर संविधान धरापमा पार्नु हुँदैन । (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १ : ०२ बजे

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन

उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन् : प्रचण्ड

भजनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम 

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या

आजका समाचार : सांसदलाई एमाले-कांग्रेसको ह्विप, अड्कियो भूमिसम्बन्धी अध्यादेश र युक्रेनको सैन्य सहयोग रोक्दै ट्रम्प

अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विपप्रमुख सत्तारूढ नेकपा

फेवातालमा फसेका तीन जनाको सकुशल उद्धार 

पोखरा– सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका