राजनीति

अब काम गर्ने तौरतरिका फेर्नुपर्छ: मुख्यमन्त्री जम्कट्टेल

By खबरहब

May 26, 2023

मनहरी- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए। उनले व्यवस्था फेरिए पनि अवस्था नफेरीएकामा चिन्ता व्यक्त गरे।

“सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन् भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ”, मुख्यमन्त्री जम्कट्टेलले भने। “हामी सबै मानवअधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तर विरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ”, उनले भने।

उनले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाले उल्लेख गर्दै समावेशी रुपमा काम गर्न नीतिमा केही समस्या रहेको बताए। उनले थपे, “आर्थिक, सामाजिक, राजनीतिक लगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ। ”

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानवअधिकारका विषयमा आफ्नो भनाइ राखेका थिए।