परम्परागत बाली छाडेर ओखर खेती सुरु | Khabarhub Khabarhub

परम्परागत बाली छाडेर ओखर खेती सुरु


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बलेवा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।

जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताए। उनले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनत मात्रै खेर गएको बताए । 

स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गरेका थिए । उनीहरूले केही बारीमा आलु लगाएको थियो भने धेरै बारी बाँझो बन्न थालेको थियो । गाउँबाट सहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उनीहरूको भनाइ थियो । 

‘दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो’, प्रेमबहादुरले भने, ‘मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ । व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।’ उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन् ।

यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाईले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि रू १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले रू १० लाख अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताए। उनका अनुसार बिरुवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाइ र सिञ्चाइलगायत कामका लागि तीन भाइले रू सात लाख खर्च गरेका छन् ।

परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ । ‘परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ’, उनले भने, ‘सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ ।’ थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उनले बताए ।

जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारीसमेत हरियाली भइसकेको छ । ओखरका बिरुवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । ‘कलमी बिरुवा भएकाले यो वर्ष पनि एक-दुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ’, उनले भने, ‘तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ ।’ छन्त्याल समूहमा आबद्ध धेरै किसान छन् । 

उनीहरुमध्ये तीन जनाले ओखर खेती सुरु गर्नुभएको राखिएको शर्माले जानकारी दिए। ‘अरु किसानमध्ये केहीले बाख्रा पालनमा र केहीले आलु खेतीमा अनुदान पाएका छन्’, उनले भने। उनका अनुसार बाख्रामा परियोजनाले सहयोग गरेको छ भने आलुमा नगरपालिकाले लगानी गरेको हो । 

आलु खेतीका लागि नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिनुका साथै किसानको बीउ, बजारीकरणलगायत काममा नगरपालिकाबाट प्राविधिक सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।

हाल लगाएको ओखरका एक हजार दुई सय बिरुवामध्ये एक-दुई वटा मात्र मरेको, सबै सरेर हरियाली बनिसकेकाले अरु बिरुवा पनि थप्ने योजना रहेको खिमबहादुर छन्त्यालले बताएका छन् । नौला गाउँको माथिल्लो बस्तीको जमिन ओखर खेतीका लागि उपयुक्त रहेको कृषि प्राविधिकको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : ४३ बजे

रेलमार्ग निर्माणको परियोजनाबाट पछाडि नहट्ने पूर्वाधारमन्त्रीको प्रतिबद्धता

झापा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

जानकी– जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा

पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ

झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको

घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो

काठमाडौं‍- ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी