नेपाली कथानक चलचित्रको इतिहासमा एउटा महत्त्वपूर्ण समयमा बनेको मत्त्वपूर्ण फिल्मको चर्चा गर्दा जहिले पनि हामीले निर्देशक लेखक र ब्यानरको नाम सम्झिन्छौँ। नेपालको चलचित्र उद्योगले एउटा चलचित्र निर्माण गर्यो। त्यो चलचित्रले भारत र नेपालका कलाकारलाई समन्वय गरायो। त्यो चलचित्र हो ‘परालको आगो’।
भारतको दार्जिलिङमा जन्मे हुर्केका नाट्यकर्मी प्रताप सुब्बाले आफ्नो रङ्गमञ्चको अनुभव र अध्ययनपछि चलचित्रमा प्रवेश गरे। चलचित्र बनाउनु भन्दा अगाडि सुब्बाले वृत्त चित्र ‘सहिस केटो’ (पौने ब्वाई) बनाएका थिए। पौने ब्वाईका निम्ति उनले दार्जिलिङमा अध्ययनरत निर शाहलाई अभिनय गर्न लगाएका थिए।
त्यसपछि इन्द्रबहादुर राईको कथामा ‘सपना कतिपय’ नामक फिल्म बनाउन घोषणा गरे। निर्माता हृदयनाथ लामाको लगानीमा ‘सपना कतिपय’ नामक फिल्म बनाउँदा बनाउँदै घरको आगोलागीमा परेर फिल्मका रिलहरू जलेपछि निर्माण क्रममा नै यो फिल्म अवरुद्ध भयो।
यसपछि प्रताप सुब्बाले पश्चिम बङ्गाल सरकारको ऋण सहयोगमा ‘परालको आगो’ को निर्माणको घोषणा गरे। प्रताप सुब्बाले बनाएको यो फिल्म विशुद्ध रूपमा नेपाली साहित्यिक कृति ‘नासो’को एउटा उत्कृष्ट कथा ‘परालको आगो’बाट लिएको थियो।
गुरुप्रसाद मैनालीको ११ कथाको संग्रह ‘नासो’बाट ‘परालको आगो’लाई फिल्मको रूपमा निर्माण गर्ने उद्देश्यले प्रकाश सुब्बाले यसको पटकथा संवाद लेखनको काम सुरु गरे।
परालको आगो धेरै अर्थमा ऐतिहासिक फिल्म बन्न सक्थ्यो र बन्यो पनि। परालको आगो त्यत्तिबेला ‘ब्ल्याक एन्ड ह्वाईट’मा निर्माण भएको थियो। प्रताप सुब्बाको फिचर फिल्ममा डाइरेक्ट्रोरियल डेभ्युमा पहिलो फिल्म थियो। एक निर्देशकका रूपमा उनले पहिलो फिचर फिल्म बनाउँदै थिए।
प्रताप सुब्बाले यो फिल्मका निम्ति तीन गीतको रेकर्डिङ कलकत्तामा गराए। तर यसको रमाइलो कथा छ। यो फिल्मको सङ्गीतकारको निम्ति नेपाली चलचित्रमा पहिलो पटक महिला सङ्गीतकार शान्ति ठटाललाई चयन गरियो।
विश्व कवि रवीन्द्रनाथ टेगोरद्वारा स्थापित विश्व सङ्गीत निकेतनमा अध्ययन गरेर आएकी शान्ति ठटालले गीति नाटकमा र फुटकर गीतमा धेरै संगीत गरिसकेकी थिइन। यो फिल्ममा पहिलो चलचित्रको लागि सङ्गीत गरिएको थियो।
उनको सङ्गीतमा यस फिल्मका निम्ति इन्द्र थपलिया र मनाबहादुर मुखियाले गीत लेखे। यस फिल्मका गीतहरू गायिका अरुणा लामाबाहेक अन्य कलाकार शङ्कर गुरुङ, पेमा लामा, दावा ग्याल्मो, रिमला मोक्तान, दीपा गहतराजले गाए।
परालको आगोको सर्वाधिक लोकप्रिय गीत ‘उडी जाऊ भने म पन्छी हैन’ कथामै उल्लेख भएको सानो मुखराको अंशबाट मनबहादुर मुखियाले पूर्ण आकारको गीत सिर्जना गरे। यो गीतमा शान्ति ठटालको सङ्गीत र अरुणालामाको स्वरले न्याय गर्यो।
अर्को ‘धेरै चुलबुल नगर बैनी बतासैले उडाइदेला तिम्रो पछ्यौरीलाई’ निकै लोकप्रिय भयो। यो समूहमा शङ्कर गुरुङ पेमा लामा, दावा ग्लाल्मो, दीप गहतराज सबैले गाएका थिए।
यो परालको आगोको फिल्म साहित्यिक कृतिमै आधारित रहेर साहित्यिक कृतिलाई अन्याय नगरी बनेको सम्भवतः पहिलो नेपाली फिल्म थियो।
ब्ल्याक एन्ड ह्वाइटमा निर्माण भएको यो फिल्मका लागि नायकका रूपमा दार्जिलिङका प्रसिद्ध रङ्गकर्मी टंक शर्मालाई चयन गरे। नायिकाको निम्ति नेपालकी प्रसिद्ध रङ्गकर्मी चलचित्र अभिनेत्री वसुन्धरा भुसाललाई चयन गरियो। यस फिल्ममा नेपाल र दार्जिलिङको संयुक्त योगदान रह्यो।
हास्य अभिनेत्रीका रूपमा ख्यातिनामा कमाइरहेकी वसुन्धरा भुसाललाई प्रताप सुब्बाले नायिकाका रूपमा अभिनय गराए। यसबाहेक मेनुका प्रधान, आई के सिंह, विश्वमणि हिङमाङलगायत धेरै कलाकारले अभिनय गरे।
दार्जिलिङ कालिङपुङको वरपर छयांकन गरिएको यो फिल्ममा प्रताप सुब्बाले केही बङ्गाली प्राविधिकको सहयोग लिएका थिए। केही नेपाली र दार्जिलिङका कलाकारको सहभागिता रहयो।
परालको आगो फिल्ममा प्रताप सुब्बा एक निर्देशकका रूपमा सक्षम अब्बल र स्थापित बने। फिल्मको छयांकनको क्रममा उनले एक्पोज गरेको रिलको संख्या र कलाकारलाई अभ्यास गराएर तयारी पारेर खिचिएको दृश्य यादगार पक्ष रहे।
यो फिल्म ठुलो बजेटमा बेनेको थिएन। जसरी त्यो बेला नेपालमा साही नेपाल चलचित्र संस्थानका चलचित्रमा प्रशस्त बजेट हुन्थ्यो। त्यस्तो बजेट यो फिल्ममा थिएन।
यद्यपि यो फिल्मका लागि प्रताप सुब्बाले दार्जिलिङ कालिङपुङ सिक्किमका फिल्मकर्मीहरूलाई प्रेरित गरे। यही फिल्मको सफलताको कारणले प्रताप सुब्बालाई पुन ‘बाँच्न चाहनेहरू’, ‘काहीँ अध्यारो काहीँ उज्यालो’ बनाउने मौका मिल्यो भने सिक्किमबाट ‘मसाल’ को निर्देशन गर्ने मौका मिल्यो।
प्रताप सुब्बाले परालको आगोलाई नै फिल्म बनाउन चयन गरे। त्यो बेला चुनौतीको विषय थियो। त्यो भन्दा अगाडि बनेका नेपाली साहित्यिक कृतिमा बनेका फिल्म ठिक त्यही कृतिजस्तो बनेका थिएनन्। त्यही कृति जस्तो फिल्म बन्न जाँदा नचल्न सक्ने डर हुन्थ्यो।
परिवर्तन जनधन समूहको नाटक चेतनामा आधारित थियो। तर चेतना भन्दा फिल्म परिवर्तन अलग्गै बन्यो। सिन्दुर दौलतविक्रम विष्टको कथा जब बादल फाट्छमा आधारित थियो। तर फिल्म धेरै फरक बन्यो।
जीवन रेखा केशवराज बिडारीको उपन्यास अन्त्यदेखि सुरुमा आधारित थियो। तर फिल्म आउँदा अन्त्यदेखि सुरुसम्मको कथा प्रयोग गरिएको थिएन। तर परालको आगो गुरुप्रसाद मैनालीले कल्पना गरेको त्यो गाउँँ चरित्र पात्र जुठे गौथली सही रूपमा जहाँ जस्तो रूपमा थियो। त्यसरी नै प्रस्तुत गरिएको थियो। यस अर्थमा परालको आगो नेपाली सिनेमा आकाशको एउटा महत्त्वपूर्ण फिल्म थियो।
नेपालमा जब यो फिल्मको प्रदर्शन भयो त्यो बेलामा फिल्म देखाउने हलमा साढे दुई वा तीन घण्टाको फिल्महरू हुने गर्थे। तर परालको आगोको समयावधि कम डेढ घण्टा भएको कारणले अर्को डेढ घण्टा फिल्म देखाउनुपर्ने परिस्थिति आएको हुनाले हलमा भारतका प्रसिद्ध सङ्गीतकार मदन मोहनको निधन भएको शव यात्राको वृत्तचित्र पनि देखाइएको थियो। त्यसपछि मात्र परालको आगो सुरु हुन्थ्यो। सिनेमा हलले आफ्नो तीन घण्टाको समयको लागि परालको आगोको साथमा अर्को डकुमेन्ट्री वा वृत्त चित्रलाई बोनसको रूपमा देखाएको थियो।
प्रताप सुब्बालाई पर्दामा एक निर्देशका रूपमा देखिएपछि नेपालका चलचित्रकर्मी, पत्रकार, समीक्षक आकर्षित भएर उनलाई नेपालमा आएर फिल्म बनाउन पनि धेरैले आह्वान गरे।
यो फिल्मको निर्माणपछि वि.सं. २०३९ सालमा काठमाडौंस्थित होटल ब्लु स्टारमा शाही नेपाल संस्थानले आयोजना गरेको चलचित्र समगोष्ठीमा प्रताप सुब्बा पनि एक आमन्त्रित निर्देशकका रूपमा भारतबाट आएका हुन्। परालको आगोबाट चुलिएका प्रताप सुब्बाले त्यससँग गोष्ठीमा चलचित्र बनाउन बजेट र चलचित्र बनाउने तरिकाको बारेमा विचार राख्दा यहाँका चलचित्रकर्मीहरू प्रभावित भएका थिए।
पछि प्रताप सुब्बाका अन्य धेरै चलचित्र बने तर आजसम्म मान्छेले उनलाई परालको आगोका कारणले सम्झने गरेका छन्। शान्ति ठटाल र गायिका अरुणा लामालाई समेत परालको आगोका कारण धेरै सम्झना गर्छन्। परालको आगोमा अभिनय गर्ने बसुन्धरा भुसाल, टंक शर्मा, आई के सिंह, मेनुका प्रधानलाई पनि धेरै सम्झना गर्छन्। परालको आगो एक किसिमले नेपाली फिल्मको एउटा माइल्सटोन पनि मानिन्छ।
प्रतिक्रिया