राजनीति

ईःको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यबद्धता

By खबरहब

September 26, 2023

काठमाडौँ- काठमाडौं महानगरसँग जवाफदेहीताको माग गर्दै विगत आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन् ।

सडक र फुटपाथमा व्यवसाय गर्नेलाई उचित व्यवस्थापन नगरी हटाएको भन्दै सामाजिक अभियन्ता ईःले राष्ट्रिय सभागृहको गेटअघि उभिएर विरोध जनाइरहेका छन् ।

सभागृहअघि उभिरहेका ईः भएको स्थानमा पुगेर अध्यक्ष थापा केहीबेर सँगै उभिएका थिए । थापाले “मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ । ई: ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ।यो राज्यको कर्तव्य हो।यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।” भन्ने प्लेकार्ड छातिमा टाँसेका थिए ।

थापासँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारी ,किसान संगठनका महासचिव जनक फडेरा लगायत उपस्तिथ रहेका थिए ।