देश/प्रदेश

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

By खबरहब

December 26, 2023

काठमाडौँ– पोखरामा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ पर्स्याङस्थित सिद्धार्थ बैंक अगाडि गएराति बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको हो ,

मृत्यु हुनेमा बागलुङको ढोरपाटन नगरपालिका–६ घर भइ हाल पोखरा–३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।

दुर्घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते दुवैलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । मृतकको शव अस्पतालमै रहेको छ ।

यात्रुलाई ठक्कर दिएपछि कार चालक कार छोडेर फरार रहेका छन् । कार भने प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।