'यो मौसममा बालबालिकामा फ्लु धेरै हुन्छ' | Khabarhub Khabarhub

‘यो मौसममा बालबालिकामा फ्लु धेरै हुन्छ’

खानामा फलफूल पनि समावेश गर्न सकिन्छ



अहिले विस्तारै जाडो घटेर गर्मी बढ्ने क्रम सुरु भएको छ । मौसम परिवर्तनले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । मौसम परिवर्तनसँगै शारीरिक अवस्थामा पनि धेरै परिवर्तन भइरहेको हुन्छ । विशेष गरेर यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकीजस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ । मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्यधिक प्रदूषण हुने भएकाले स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन् । त्यसैले मौसम परिवर्तन हुँदा लाग्ने रोगबाट कसरी बच्न सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? यसै विषयमा आधारित रहेर वरिष्ठ बालरोग विशेषज्ञ डा. रीता सिंहसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश

जाडो सकिनै लाग्दा र गर्मीको सुरुवात हुँदैगर्दा बच्चामा के कस्तो समस्या देखा पर्छन् ?

हाल नेपाल र काठमाडौँमा हामीले हेर्दा रुघाखोकी झाडाबान्ता धेरै हुन्छ । यस्ता रोग वास्तवमा सालभरी नै हुन्छन् । फ्लू र इन्फ्लुएन्जा धेरै बढेको हुन्छ । हाम्रै कारणले पनि यस्तो हुन्छ । र, नजान्नाले पनि हुन्छ । जस्तो, जाडोमा हामी धेरै तातो, न्यानो पारेर बच्चालाई राख्छौँ र गर्मीमा धेरै पातलो कपडा लगाइदिएका हुन्छौँ । तर, बच्चालाई ठिक्क हुने गरी कपडा लगाइदिनुपर्छ । बच्चा केही कारणले बिरामी भएर हाम्रोमा ल्याउँदा पसिना आउने गरी कपडामा गुटमुट्याएर ल्याएको पाइन्छ । त्यसले पनि फाइदा गर्दैन ।

यो रोगहरू हुने कारण पनि फरक छन् की ?
फ्लू एउटा मौसमी सरुवा रोग हो । मन्टेश्वरीका बच्चा आफ्नो केयर गर्न सक्दैनन् र एक अर्कामा छुने, ह्यच्छ्युँ गर्ने हुँदा यो एक अर्कामा फैलिहाल्छ । सरसफाइमा लापरवाहीका कारणले पनि रुघा झाडापखालाजस्ता रोग देखिने गर्छ । जस्तै, हात राम्ररी नधुँदा, ट्वाइलेट सफा नहुँदा पनि यस्तो हुन्छ । त्यसैले, सरसफाइमा विशेष गरी ध्यान दिनुपर्छ ।

रोग लागेपछि के के कुरामा ध्यान दिने ?
डायरिया हुनेबित्तिकै औषधि नखोज्ने, जीवनजल १ लिटर पानीमा एक पोका हालेर खुवाउने ।त्यसले बच्चालाई कमजोर बनाउँदैन । झन् सक्रिय बनाउँछ । त्यतिकै मेडिकलमा गएर औषधि खुवाउने गर्नु हुँदैन । झाडा र बान्ता एकै पटक भयो भने अस्पतालमा गएर जँचाएर औषधि खुवाउनु पर्छ । के कारणले यस्तो भएको हो त ? जस्तोः बढी खाएर हो कि, फुड पोइजनले हो कि, आउँ परेर हो कि, त्यो कारण पत्ता लगाएर औषधि दिइन्छ । कतिपय झाडापखाला एक दुई दिनमा आफै ठिक हुने पनि हुन्छ । तर आमाहरूले डराएर हतारमा मेडिकलमा गएर औषधि ल्याएर खुवाउने पनि हुन्छ ।

बाहिरको खानाले पनि बच्चालाई झाडापखाला लाग्ने हो ?
बाहिरको खाना र जङ्कफुडहरू त व्यापारिक खानेकुरा मात्र हो । त्यसले जिब्रोको स्वाद मात्र बढाउने हो । त्यसले पोषणमा कमी आउँछ । त्यसले बच्चाको भोक मारिदिन्छ र बच्चाले सामान्य रुपमा खाइने दाल भात जाउलोजस्ता खाना खान मान्दैनन् । बाहिरका खानाले कुनै फाइदा छैन । त्यस कारण धेरै खान दिनुहुँदैन । र, कतिपय आमाले पनि बाहिरको खाना राम्रो भन्नुहुन्छ । प्याकेटका जुसहरू खुवाउनु भन्दा एउटा केरा वा स्याउ खुवाउनु राम्रो हो ।

आफ्नो बच्चालाई केही पनि रोग नलागोस् भनेर घरपरिवारले के के कुरामा ध्यान दिने त ?
किटाणुहरू फैलिने भनेको नै घर, ट्वाइलेटबाट हो त्यस कारण आफ्नो वरपर सफा गर्नु पर्दछ। खाना खानुअघि र खाना खाइसकेपछि साबुन पानीले मिचीमिची हात धुनुपर्छ । सफा पानी पिउनुपर्छ । यस्ता कुरा बच्चालाई पनि सिकाउनुपर्छ । राम्रो खाना खुवाएको छ र बच्चा स्वस्थ छ भने उसको पाचन शक्ति पनि बलियो हुन्छ, जस्तोसुकै कीटाणुले पनि उसलाई छुँदैन र धेरै बिरामी पनि हुँदैन । त्यसैले कोही बच्चा धेरै बिरामी हुने र कोही बच्चा कम बिरामी हुने हुन्छ ।

स्वस्थ खानामा कस्तो खाना खाने त ?
स्वस्थ खाना भनेको सन्तुलित आहार हो । बजारको खाना स्वस्थ हुँदैन । हाम्रो घरमा बनाएको सामान्य दाल, भात, तरकारी स्वस्थ हो । चाउचाउ चिजबल भन्दा भुटेको मकै राम्रो हो । मासु पनि सानो केटाकेटीहरूलाई धेरै दिनु उपयुक्त हैन । तर, कोही बच्चाहरू मासु मन पराउँछन् भने स्वस्थ मासु खुवाउनु पर्दछ । खानामा फलफूलहरू पनि समावेश गर्न सकिन्छ । खानामा गाजर, फर्सीहरू पनि समावेश गर्न सकिन्छ । पहेँलो फलफूल तरकारी खुवाउने, सागसब्जी खुवाउँदा पनि धेरै फाइदा गर्छ ।
प्रस्तुति- पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ०२ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४