आज चैत १३, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २७, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह
जापान सरकारले चिनियाँ कानून उल्लङ्घन गरेको आरोपमा यही महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ ।
जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बेइजिङस्थित जापानी दूतावासलाई यसै महिना चीनको घरेलु कानुन उल्लङ्घन गरेको आरोपमा ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएका जानकारी गराएका हुन् ।
उनले ती व्यक्तिको पहिचान, उनको कथित अपराध वा उनी कहिले पक्राउ परेका थिए भन्नेबारे कुनै विवरण दिएनन् ।
मात्सुनोले भने, ‘यो घटनाबारे हामीले थाहा पाएदेखि नै ती नागरिकलाई तत्काल रिहा गर्न जापानी सरकारले जोडदार आग्रह गर्दै आएको छ ।’
टोकियोले ती व्यक्तिसँग वाणिज्य दूतावासको पनि माग गरिरहेको उनले बताए ।
यसअघि, सन् २०१९ को अक्टोबरमा जासुसी गरेको आरोपमा एक जना जापानी प्राध्यापकलाई चीनले पक्राउ गरेको थियो । तर, उनलाई अर्को महिना रिहा गरिएको थियो । उनी तत्काल जापान फर्किएका थिए ।
सन् २०२० को मार्चमा पनि चीनको विदेश मन्त्रालयले जापानमा विश्वविद्यालयका प्राध्यापकका रूपमा कार्यरत एक चिनियाँ व्यक्तिलाई पक्राउ गरेको बताएको थियो ।
विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आह्वान
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अभिभमा रातारात ठूलो प्रदर्शन भएको छ ।
प्रदर्शनपछि हर्जोगले ट्वीटरमा सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका हुन् । प्रदर्शनकारीहरूले सुधार परियोजनाले इजरायली लोकतन्त्रलाई खतरामा पारेको बताएका छन् ।
नेतन्याहूको सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।
अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ ।
नेतन्याहूले बेलायतको दुई दिने भ्रमण सकी स्वदेश फर्केपछि राष्ट्रपतिको यो प्रतिक्रिया आएको छ ।
आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन तालिबानको आग्रह
अफगानिस्तानमा शासन चलाइरहेको तालिबान समूहले संयुक्त राष्ट्रसङ्घलाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ ।
अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तालिबानको तर्क छ ।
सुरक्षा परिषद्ले यात्रा छुट बढाउने वा नबढाउने भन्ने विषयमा सहमति गर्न नसकेपछि १३ जना अफगान इस्लामिक अधिकारीलाई विदेश यात्रा गर्ने अनुमति दिने संयुक्त राष्ट्रसङ्घको छुटको म्याद सन् २०२२ को अगष्टमा सकिएको थियो ।
झण्डै २० देखि २५ जना तालिबानमा संलग्न व्यक्तिहरूलाई कालोसूचीमा राखिएको छ । तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदलाई उद्धृत गर्दै टोलोन्यूजले भनेको छ, “तीमध्ये केहीको मृत्यु भइसकेको छ, जीवितमध्ये धेरै कम अहिले सरकारमा छन् ।”
तालिबानद्वारा अफगानिस्तानमा सञ्चालित इस्लामिक इमिरेट सरकारका अधिकारीहरूलाई संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा समावेश गर्नु दोहा सम्झौताको उल्लङ्घन भएको मुजाहिदको तर्क छ ।
उनले भने, “हामीले धेरै पटक भनिसकेका छौं, दबाब र बलप्रयोगले कुनै परिणाम ल्याउँदैन । अफगानिस्तानका जनता दबाबसामु आत्मसमर्पण गर्ने छैनन् भन्ने विगत २० वर्षको युद्धले प्रमाणित गरेको छ ।”
“संलग्नता र समझदारी राम्रो छ र वार्ता एक राम्रो विकल्प हो,” उनले थपे ।
सन् २०२० मा कतारको राजधानी दोहामा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो । दोहा सम्झौता विशेष गरी अमेरिका र तालिबानबीच अफगानिस्तानमा शान्ति ल्याउनका लागि हस्ताक्षर गरिएको एक विस्तृत शान्ति सम्झौता हो ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता तालिबानको सुरक्षा आश्वासनमा निर्भर थियो । सम्झौतामा अफगान भूमि अल–कायदा वा इस्लामिक स्टेटद्वारा अमेरिका विरुद्ध आक्रमणको कार्यस्थलका रूपमा प्रयोग नगरिने सर्तमा अमेरिकी नेतृत्वको सैनिक गठबन्धन अफगानिस्तानबाट बहिर्गमित भएको थियो ।
राजनीतिक विश्लेषक टोरेक फरहादीले जारी मानवीय सङ्कट र महिलाको आधारभूत अधिकारबाट बञ्चित हुनु नै तालिबानमाथिको प्रतिबन्धको कारण भएको बताएका छन् ।
फरहादीले भने, “शिक्षा र कामका लागि महिलाको अधिकार सुनिश्चित गर्नु र अन्तर–अफगान वार्तापछि अफगानिस्तानको नेतृत्व तहमा तालिबान नभएका प्रतिनिधिहरूलाई समावेश गर्नु नै प्रतिबन्धको कारण हो ।’’ यसबाहेक, राजनीतिक विश्लेषकहरूले इस्लामिक इमिरेट्सका सदस्यहरु संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा निरन्तर रहनुलाई अन्तर्राष्ट्रिय समुदायको माग पूरा गर्न असफल भएका कारणले भएको दाबी गरेका छन् ।
एक राजनीतिक विश्लेषक सलीम काकरले यसबारे एक फरक प्रसंगमा भने, “मेरो विचारमा अफगान तालिबान अधिकारीहरूमाथिको कालोसूची इस्लामिक इमिरेट्सले वर्तमान प्रणाली र वर्तमान अन्तर्राष्ट्रिय कानूनहरूको पालना नगर्दासम्म अफगानिस्तानमा विश्वको राजनीतिक दबाबको एक भाग हो ।”
तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता देशमा महिलामाथिको दमन, तालिबान इतर समूहमाथिको दमन र समग्र शिक्षा तथा मानव अधिकारका मुद्दाहरू ओझेलमा परेका छन् । आर्थिक तथा राजनीतिक सङ्कट धेरै गुणा बढेको छ, जसले गर्दा मानिसहरूको जीवन अत्यन्त दयनीय बनेको छ ।
अल कायदाका नेतासँग अन्तरवार्ता लिएपछि बुर्कना फासो सरकारद्वारा फ्रान्सेली टेलिभिजनमाथि प्रतिबन्ध
फ्रान्सेली टेलिभिजन च्यानलले अल कायदा इन द इस्लामिक मागरेब (एक्यूआईएम) का नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोको सरकारले फ्रान्सेली टेलिभिजनमाथि प्रतिबन्ध लगाएको छ ।
एक्युआईएमका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किनाबे सरकारले फ्रान्स २४ को प्रसारणमाथि प्रतिबन्ध लगाएको हो ।
सरकारका प्रवक्ता जिन इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको दाबी गरेका छन् । उनले फ्रान्स २४ कार्यक्रमहरूको प्रसारण बुर्किना फासोमा अनिश्चितकालका सम्मका लागि निलम्बन गरिने जानकारी दिएका छन् ।
फ्रान्स २४ ले आतङ्कवादीहरूको लागि संचार एजेन्सीका रूपमा काम गरेको मात्र नभई आतङ्कवादी कार्यहरू र घणा फैलाउन भाषणहरूलाई वैधानिकता दिने ठाउँ समेत प्रदान गरेको बुर्किनाबे सरकारले जनाएको छ ।
गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो ।
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको साओ पाउलो राज्यस्थित साओ कार्लोस शहरमा रहेको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
उक्त घटनामा दुई जना घाइते भएका छन् ।
शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएको र भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ ।
आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु भएको पुष्टि गरेका छन् ।
एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए ।
प्रतिक्रिया