देवदहमा प्राचीन संरचनाका भग्नावशेष फेला | Khabarhub Khabarhub

देवदहमा प्राचीन संरचनाका भग्नावशेष फेला


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको देवदहमा गरिएको उत्खननबाट महत्वपूर्ण प्राचीन संरचनाका भग्नावशेष फेला परेका छन् । उत्खननका क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईका अनुसार कोषको पहलमा गत जेठ १७ गतेदेखि उक्त क्षेत्रको उत्खनन सुरु गरिएको हो । कोषको पहलमा कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोलीले एक महिना लगाएर उत्खनन गरेको हो ।

एक महिनाको उत्खननबाट महत्वपूर्ण उपलब्धि प्राप्त भएको र उत्खननलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । “यस वर्ष वर्षा सुरु भएकाले उत्खनन कार्य स्थगित गरेका छौँ”, भट्टराईले भने, “अर्को वर्ष उत्खननलाई निरन्तरता दिन्छौँ ।” यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । देवदह नगरपालिका–९ घोडाहास्थित खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयवासीले आवाज उठाउँदै आएका थिए ।

उत्खननको नेतृत्व गरेका पुरातत्वविद् उप्रेतीले अहिलेको उत्खननबाट प्राचीन भवनको संरचना, इनार र पुराना माटोका भाँडाका टुक्रा, माटोको दीयोजस्ता वस्तु फेला गरेको बताए । यसपटकको उत्खननबाट फेला परेका संरचना र वस्तुको प्रारम्भिक अध्ययनबाट ती संरचना र वस्तु तत्कालीन समयमा धार्मिक प्रयोजनका लागि बनाइएको पाइएको उनको भनाइ छ ।

“भवनको संरचना तत्कालीन अवस्थामा प्रवचन दिनका लागि बनाइएका सभाहल जस्ता ठूलाठूला कोठा रहेका छन्,” उप्रेतीले भने, “४५ मिटर लम्वाइ र ३४ मिटर चौडाइमा भवन फैलिएको देखिन्छ । यसबाट तत्कालीन समयमा ठूलो भवन थियो भन्ने अनुमान लगाउन सकिन्छ ।” अहिलेको प्रारम्भिक उत्खनन र त्यसबाट प्राप्त संरचनाबाट अहिले नै कोलिय गणराज्यको दरबार क्षेत्र भनेर मान्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

कोलिय राज्यको संरचना पुष्टि हुन अहिले देखिएका इँटाभन्दा धेरै अगाडिका संरचना र वस्तु प्राप्त हुनुपर्ने उप्रेतीको भनाइ छ । “लुम्बिनी, कपिलवस्तु भन्दा पनि पुरानो क्षेत्र गोटिहवा इसापूर्व १३औँ शताब्दीको त्यस समयका खैरा रङ्गका चिल्ला माटाका भाँडा, कालो पालिस गरेका तत्कालीन अवस्थामा राजपरिवारले प्रयोग गर्ने माटाका भाँडा पाइए भने मात्र हामी बुद्धको समयसम्म पुग्न सक्छौंँ,” उनले भने, “यस्ता माटाका भाँडा तथा दियोका टुक्रा रातो र बालुवा चम्कने खालका बुद्धकालीन वस्तु अन्यत्र पाइएका छन् । यही समयको हो भनेर पुष्टी गर्न यसअघि फेला परेका इँटासँग तुलना गरेर केही कोइलासमेत सङ्ङ्कलन गरेका छौँ । तिनको अध्ययन गरेर मात्र थप प्रमाणित गर्न सकिन्छ ।”

यस पटकको उत्खनन र अध्ययनबाट अहिले फेला परेका वस्तु १४औँ शताब्दीभन्दा पछिका नभएर त्यस अघिकै हुनसक्ने उप्रेतीले बताए । देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले यसपटक अधुरो रहेको उत्खनन कार्यलाई आगामी वर्ष पनि लुम्बिनी विकास कोषसँगको सहकार्यमा निरन्तरता दिइने बताए । उनले उत्खनन गरिएको क्षेत्र तथा अन्य प्राचीन ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धनको जिम्मेवारी नगरपालिकाले लिने बताए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ५५ बजे

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान

धुलिखेल– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा

विद्युतीय सामाग्री र ब्रेक सुमा ल्याइएको ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री

प्रधानमन्त्रीले गरे प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि