सिन्धुपाल्चोकमा सुरु भयो गौराति मेला « Khabarhub

सिन्धुपाल्चोकमा सुरु भयो गौराति मेला


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

चौतारा-धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भएर तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले यसलाई जिल्लाकै लामो मेलाका रुपमा मानिएको हो ।

मेलाका उपलक्ष्यमा यही सोमबार चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी–६ स्थित गौरातिडाँडामा रहेको भीमेश्वर मन्दिरसम्म पुग्न यातायातकोसमेत सुविधा रहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेला भर्न आउने भक्तजनको सुविधाका लागि खानेपानी र विद्युत्को व्यवस्था मिलाउने काम सम्बन्धित निकायले जिम्मा लिएका छन् ।

मेलामा शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय क्लबका समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । मेलामा शान्ति सुरक्षा कायम गर्न मन्दिर परिसरमा सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको उनले बताए । मेलामा कोही व्यक्ति हराएमा खोजतलासका लागि सुरक्षाकर्मी र स्थानीय क्लब समावेश गरी नगरपालिकाको कर्मचारी सहितको सचिवालयसमेत गठन गरिएको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिए ।

चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगि पूर्णिमाको रात गौराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनःफर्काइन्छ । गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात् सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराति भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रद्धालु भक्तजन आउने गर्दछन् । पौराणिककालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्दथे ।

गाईले रातिराति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तर्ध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको किंवदन्ती छ । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौराति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ ।

धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणका रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घण्टाका आधारमा ४३६ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरमा मेला अवधिभर हजारौँ पशुपक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ ।

मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्धार गरिँदै आए पनि विसं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भको अनावरण भएको थियो । सो समयमा  रुद्राक्षको बिरुवासमेत रोपिएको थियो । अहिले सो रुद्राक्ष दाना फल्न थालेको स्थानीय चन्द्र खत्रीले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : १६ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान