राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ । पहिलो पटक राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका १९ र एक जना मनोनितसहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गतेबाट बिदा हुँदैछन् । स्थायी संसदका रूपमा लिइएको राष्ट्रियसभामा हरेक २-२ वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

राष्ट्रियसभाको पहिलो निर्वाचनमा समान एक तिहाइ सांसदको २, ४ र ६ वर्षे कार्यकालका लागि गोलाप्रथा माध्यमबाट कार्यकाल निर्धारण गरिएको थियो । २ र ४ वर्षे कार्यकाल पूरा गरेका सांसदका स्थानमा निर्वाचन प्रक्रिया मार्फत नयाँ सांसद आइसकेका छन् ।

अब ६ वर्षे कार्यकाल रहेका बाँकी सांसद पनि फागुन २१ गतेबाट बिदा लिन लागेका हुन् । जसका लागि माघ ११ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारसँग परामर्श गरेको छ । कानुनतः राष्ट्रियसभाका सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गराइसक्नु पर्छ ।

सोही कानुनी व्यवस्थाका आधारमा आयोगले सरकारलाई माघ ११ गते निर्वाचन गराउन सिफारिस गरेको हो । कानुनी रूपमा माघ १५ भित्र निर्वाचन गराई सक्नुपर्ने व्यवस्था रहेको छ ।

यी हुन् फागुन २० पछि बिदा हुने सांसद

नेकपा एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ८ जना फागुन २० पछि राष्ट्रियसभाबाट बिदा हुनेछन् । एमालेबाट कार्यकाल सकिने राष्ट्रियसभा सदस्यहरूमा इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन् ।

नेपाली काँग्रेसबाट चार जना र नेकपा माओवादी केन्द्रबाट तीन जना राष्ट्रियसभा सदस्य फागुन २० पछि बिदा हुँदैछन् । काँग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी तथा नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीका कार्यकाल सकिन लागेको हो ।

नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाइँ र सिंहबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टीका प्रमिला कुमारी तथा स्वतन्त्र डा. खिमलाल देवकोटा तथा मनोनीत डा. विमला पौड्याल पनि फागुन २० गते कार्यकाल सकिने राष्ट्रियसभा सदस्य हुन् ।

कुन प्रदेशबाट कति निर्वाचित ?

यस पटक पदावधि सकिने सांसदमध्ये अपाङ्गता तथा अल्पसङ्ख्यक समुदायको कोटाबाट निर्वाचित तीन जना छन् भने महिला कोटाका ८ जना छन् । त्यस्तै दुई जना दलित र अन्य कोटाबाट ७ जना छन् ।

प्रदेशगत रूपमा कोशीबाट २, मधेसबाट २, बागमतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट २, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ जना छन् । एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

जुन कोटा र प्रदेशबाट निर्वाचित सदस्यको कार्यकाल सकिएको हो अब चुनाव गर्दा पनि त्यही कोटा र प्रदेशबाट निर्वाचित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदाता गर्न पाउँछन् ।

यसपालि चुनावमा मतदान गर्ने राष्ट्रियसभाका मतदाताको मतभार निर्वाचन आयोगले बढाएको छ । अब राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यका लागि ५३, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १९ मतभार कायम हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : १९ बजे

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको