पुसको जाडोमा कांग्रेसले ओढ्ला त ‘हिन्दुवाद’को बर्को ? | Khabarhub Khabarhub

पुसको जाडोमा कांग्रेसले ओढ्ला त ‘हिन्दुवाद’को बर्को ?


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको गोदावरी क्षेत्र जंगल र पहाडको नजिकै भर्ने भएकाले निकै चिसो ठाउँ हो । नेपाली कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म यही गोदावरीमा महासमितिको बैठक गर्दैछ । महासमिति बैठकमा राजनीतिक प्रस्ताव लगायत विविध नीतिगत विषयमा निर्णय लिने नेपाली कांग्रेसको परम्परा छ ।

सोमबार नवलपुरमा पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्म निरपेक्षताका बारेमा छलफल गर्न सकिने बताए । झट्ट सुन्दा १० सेकेण्डको सानो भनाइ जस्तो लागे पनि कांग्रेस सभापति देउवाको यो अभिव्यक्तिले पार्टीभित्र र सिंगै देशको राजनीतिमा नयाँ तरंग ल्याउने सम्भावना छ । गोदावरीको महासमिति बैठकमा त अब कांग्रेसभित्र यो विषयले चर्चा पाउने नै भयो ।

नेपाली कांग्रेसभित्र यसअघि पनि धर्मनिपेक्षताको विरोध र हिन्दु राष्ट्रको पक्षमा छिटफुट आवाज उठ्ने गरेको थियो । डा. शशांक कोइरालाले खुलेरै हिन्दु राष्ट्रको पक्षमा बोल्ने गरेका थिए भने डा. शेखर कोइराला लगायतका अन्य नेताहरु पनि हिन्दु राष्ट्र चाहने नेतामै पर्ने विश्लेषण हुने गरेको थियो ।

सोमबार पार्टी सभापति देउवाले नै धर्म निरपेक्षताका बारेमा सोच्न र छलफल गर्न सकिने भनेपछि अब कांग्रेस महासमितिको बैठकमा यसबारे वार कि पार छलफल नहोला भन्ने अवस्था रहेन ।

देशमा एकातिर हिन्दु राष्ट्रको माग गर्दै राजावादीहरुले सडक तताइरहेका बेला कांग्रेस सभापतिबाट आएको यस्तो अभिव्यक्तिले पक्कै पनि राजावादीहरुलाई उत्साही बनाउने छ । तथापि देउवाले अहिलेको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र भने कसैले हटाउन नसक्ने र राजतन्त्र फर्कन नसक्ने समेत बताएका छन् । तर, धर्म निरपेक्षताबारे सोच्न सकिने देउवाको भनाइले भने हिन्दु राष्ट्रको मागलाई भने पक्कै मलजल पुर्‍याउने देखिन्छ ।

कांग्रेसको विधानमा के छ ?

नेपाली कांग्रेसले आफ्नो पार्टीको विधानमा चलाखीपूर्वक धर्म निरपेक्षता शब्द लेखेको छैन । विधानको प्रस्तावनामा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ भनिएको छ तर ‘धर्म निरपेक्षता’ भनिएको छैन ।

विधानको धारा २ मा नेपाली कांग्रेसले आफ्नो आदर्श र उद्देश्य उल्लेख गरेको छ । जसमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रता’को प्रत्याभूति गरिने उल्लेख छ। त्यहाँ पनि ‘धर्म निरपेक्ष नेपाल’ भनिएको छैन ।

त्यसर्थ, कांग्रेसको विधान हेर्दा उसले धर्म निरपेक्षताबारे छलफल नै गरिराख्नुपर्ने देखिँदैन । प्रश्न उठ्न सक्छ– विधानमै नभएको विषयमा किन छलफल गर्ने ?

संविधानले के भन्छ ?

नेपाली कांग्रेसको विधानले धर्म निरपेक्षता नभने पनि देशको मूल कानूनले भने मुलुकलाई धर्म निरपेक्ष राष्ट्र मानेको छ । संविधानको धारा ४ मा नेपाल राज्यको परिभाषा गर्दै भनिएको छ, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’

धर्म निरपेक्षताको सम्बन्धमा स्पष्टीकरण दिँदै सोही धारामा थपिएको छ, ‘यस धाराको प्रयोजनका लागि धर्म निरपेक्ष भन्नाले सनातनदेखि चली आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।

यसरी संविधानले नै धर्म निरपेक्ष भनेको अवस्थामा कांग्रेस सभापति देउवाले यसबारे छलफल गर्न सकिन्छ भन्नु कांग्रेसको विधानमा होइन, संविधानमाथि नै छलफलको ढोका खोल्नु हो । तैपनि, धर्म निरपेक्षताबारे कांग्रेसले अब गोदावरीमा छलफल गरेर संविधानमा ‘हिन्दु राष्ट्र’ लेख्ने वा धर्म निरपेक्षता हटाउने निर्णय गर्‍यो भने अचम्म नमान्दा हुन्छ ।

तर, बहुजाति, बहुभाषा र बहु संस्कृतियुक्त देशलाई हिन्दु राष्ट्र घोषणा गर्न वा संविधानबाट धर्म निरपेक्षता हटाउन त्यति सजिलो भने छैन । यस्तो निर्णयले देशमा आस्थाका आधारमा मानिसहरु विभाजित हुने र द्वन्द्व बढ्ने जोखिम निम्तिन सक्छ ।

के अब कांग्रेसले अर्को महिना गोदावरीमा गर्न लागेको महासमिति बैठकबाट धर्म निरपेक्षताबारे कुनै ठोस निर्णय गर्ला ? उसले पुसको जाडोमा ‘हिन्दुवाद’को बर्को ओढ्ला ? या, संविधानमा रहेको प्रावधानको बचाऊमा निर्णय गर्ला ? यसका लागि भने एक महिना कुर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : ४९ बजे

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक