उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध | Khabarhub Khabarhub

उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ । उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्योङयाङले तीव्र गतिमा प्रगति गरेको छ ।

सोल, टोक्यो र वासिङ्टनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधिलाई सम्बोधन गर्न उपायहरू समावेश गर्ने तीनतर्फी पहल सुरु गरेको सातापछि यस्तो घोषणा आएको हो । साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूमा कोष उपलब्ध गराउने विश्वास गरिन्छ । 

सोलको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘प्योङयाङको जासुसी जनलर ब्युरोका प्रमुख री चाङ होमाथि ‘अवैध साइबर गतिविधि र प्रविधि चोरीमार्फत विदेशी मुद्रा आर्जन’ मा संलग्नता भएकामा प्रतिबन्ध लगाइएको छ ।’ उनको गतिविधिले ‘उत्तर कोरियाली शासनका लागि राजस्व उत्पन्न गरेको र उसको आणविक तथा क्षेप्यास्त्र गतिविधिका लागि पैसा जुटाउन’ योगदान पुगेको विज्ञप्तिमा उल्लेख छ । 

रीलाई उत्तर कोरियाली ह्याकिङ समूह किमसुकी, लाजरसएन्डारियलको मूल संगठनका प्रमुख भएको विश्वास गरिन्छ । ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ । 

रीसँगै सोलले ‘उत्तर कोरियाका लागि आणविक-सम्बन्धित खनिज र संयुक्त राष्ट्रसङ्घद्वारा स्वीकृत सामग्री लिथियम-६ को व्यापार’ मा संलग्न भएको भन्दै पूर्वकूटनीतिज्ञ युन चोलसहित अन्य सात उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाएको छ । 

कालो सूचीमा परेका व्यक्तिहरूलाई सोलको पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ । विश्लेषकहरूका अनुसार यी कदम दुवै मुलुकबीच अत्यन्त सीमित व्यापारलाई ध्यानमा राखेर मुख्यरूपमा प्रतीकात्मक हुन् । 

सोलले अहिले गत वर्ष अक्टोबरमा प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्धित ८३ व्यक्ति र ५३ संस्थालाई कालो सूचीमा राखेको सोलको विदेश मन्त्रालयले जनाएको छ । 

उत्तर कोरियाले हालै उसको आणविक तथा सैन्य धम्कीहरूलाई बढाएको छ । उसले नोभेम्बरमा एउटा जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ भने यसै महिना सबैभन्दा उन्नत आइसिबिएमको परीक्षण गरेको छ । उत्तर कोरियाली नेता किमले गत साता आणविक कार्यक्रमलाई ‘उक्साएको’ खण्डमा प्योङयाङ आणविक हमला गर्न नहिचकिचाउने बताएका थिए । 

‘उत्तर कोरियाको उत्तेजनाले अनिवार्यरूपमा मूल्य तिर्नुपर्ने हाम्रो सरकारले स्पष्ट गरेको छ’, सोलको विदेश मन्त्रालयले बुधबार विज्ञप्तिमा भनेको छ, ‘उत्तेजना बन्द गर्न र आणविक निशस्त्रीकरणका लागि वार्तामा सहभागी गराउन अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सहयोग जारी राख्ने तथ्यबाट हाम्रो सरकारले उत्तर कोरियालाई महसुस गराउने छ ।’

सोल, टोक्यो र वासिङ्टनका अनुसार प्योङयाङले गत वर्ष मात्रै क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढी चोरी गरेको र ‘दुर्भावानापूर्ण साइबर गतिविधि’ मार्फत सूचना एकत्रित गरेर आफ्नो हतियार कार्यक्रममा सहयोग गरेको थियो । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ३८ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी