मालढुंगा-बेनी सडक स्तरोन्नतिको काम ठप्प « Khabarhub

मालढुंगा-बेनी सडक स्तरोन्नतिको काम ठप्प


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पर्वत– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । 

पर्वतको कुश्मा नगरपालिका-१ मा पर्ने मालढुंगाबाट जलजला गाउँपालिका– ८, ७, ४ र ३ हुँदै बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा काम रोक्नुपरेको निर्माण व्यावसायीले बताएका छन् । निर्माण कार्य रोकिएको चार महिनापछि चौतर्फी दबाबका कारण सुरु भए पनि सामग्री नहुँदा काम रोक्नुपरेको निर्माण कम्पनी ओमकारेश्वर जेभीका प्रतिनिधि अमृत दाहालले बताए ।

सडकको धेरै ठाउँमा सबबेस र बेस बिच्छ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नुपरेको दाहालले जानकारी दिए । ‘सडकको क्षेत्रमा ढुंगा नै निस्कदैन, नजिकै बगेको नदीबाट निकाल्न स्थानीय प्रशासनले दिँदैन’, उनले भने, ‘सर्वोच्च अदालतले रोक लगाएको भन्दै सामग्री निकाल्न नपाएपछि गाडी र कामदार थन्क्याएर हिड्ने अवस्थामा पुगेको छौँ ।’

तिहारअघिसम्म तीव्रगतिमा काम गरेर छ किलोमिटर सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल गर्ने तयारी अवस्थामा पुगेको दहालले बताए । ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकी हो । नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सयौँ मजदुर, दर्जनौँ डोजर, टिपर थन्काएर राख्नुपरेको उनको गुनासो छ ।

कालीगण्डकी धार्मिक नदी पनि हो । यहाँ शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन् गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहसमेतले नदीबाट ढुंगागिट्टी उत्खननको लागि ठेक्का लगाउन सकेका छैनन् । 

जलजला गाउँपालिकाले सर्वोच्च अदालतमा पत्राचार गर्दै राष्ट्रिय गौरवको आयोजना नै बन्द हुने अवस्था भएकाले आयोजनाका लागि मात्रै भए पनि उत्खननको अनुमति दिन र मुद्दालाई छिटो किनारा लगाउन पत्राचार गरेको छ । कार्यपालिकाको बैठकले निर्णय गरेर नै आयोजनाका लागि निर्माण सामग्री निकाल्ने अनुमति दिन अदालतलाई अनुरोध गरिएको तर जवाफ नआएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। 

“सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लागेकाले ठेक्का लगाउन नसकिएको, करोडौँ राजस्व गुमेको र विकास आयोजनामा देखिएको असरलाई मध्यनजर गरेर पत्राचार गरेका छौँ, छिट्टै निकास आउने विश्वास लिएका छौँ”, अध्यक्ष आचार्यले भने। 

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विस २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।  

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  २ : ०५ बजे

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित

भोजपुर– राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन

जनकपुरधाम– संसदभित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु लोकतन्त्रको