आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह « Khabarhub

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको स्थानीयको भनाइ छ ।

वरिपरि घनाजङ्गलले घेरिएको यो दहले पर्यटकहरुको मन जित्दै गएको छ । दहमा विशेषगरी शनिबार र बिदाका दिन पिकनिक खान तथा घुमफिर गर्न जानेहरुको चहलपहल हुन्छ । केही वर्षपहिले यस दहको बारेमा सुइँको पनि सुनिँदैन थियो, न त दह हेर्न लायक नै थियो । सानो पोखरीमा मात्रै सीमित ‘चरिङ्गे’ अहिले ठूलो दह बनेको छ, स्थानीयवासी कमला पोख्रेलले भनिन्, ‘चरिङ्गे दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र संरक्षण गर्नुपर्छ भन्ने स्थानीयवासीको सोच र प्रयासकै कारण यो पोखरी अहिले दहमा परिणत भएको हो ।’

दह संरक्षण र पर्यटकीय क्षेत्र बनाउन भन्दै स्थानीयवासीले सुरुमा संरक्षण समिति गठन गरे । सोही समितिले दह संरक्षणका लागि विभिन्न निकायसँग आर्थिक सहयोग जुटाउनाका साथै जनश्रमदानका लागि स्थानीयवासीमा उत्प्रेरणा जगाउने काम गरे पनि पछिल्ला वर्षमा स्थानीय सरकारले त्यति चासो नदिँदा पूर्वाधार निर्माणले गति लिन नसकेको स्थानीयवासी थानेश्वर पुनले बताए ।

‘पर्यटकीय क्षेत्रका रुपमा परिचित यो दह स्थानीयवासीको अथक परिश्रम र मेहनतले यहाँसम्म आएको हो तर स्थानीय सरकारले भने यसलाई त्यति चासो दिएको छैनँ, उनले भने । दह अहिले आन्तरिक पर्यटकका लागि आकर्षक र सुन्दर ठाउँ बन्न पुगेको छ । ‘दह अवलोकन गर्न पुगेका तुलसीपुर निवासी लिला सापकोटाले चारैतिर वनजङ्गल तथा शान्त ठाउँमा रहेको दहको मनोरहम दृश्यले सबैलाई लोभ्याउने उल्लेख गरे ।

उनले भने, ‘अष्ट्रेलियामा अध्ययनरत आफ्नी छोरी पाँच वर्षपछि घरमा आएको मौका छोपी सपरिवार यहाँ घुम्न आएका हौँ। दह रमणीय ठाउँमा रहेछ तर पूर्वाधार विकास भने भएको रहेनछ ।’

दहसम्म पुग्ने बाटो पक्की र त्यहाँ नजिकमा चमेना गृह, खानेपानीको उचित प्रबन्ध, दहको वरिपरि पर्खाल र त्यहाँ केही उत्खनन गरेमा पर्यटकलाई सहज हुने र बाह्य पर्यटक पनि तान्न सकिने सापकोटाको भनाइ थियो । दह संरक्षण र विकासकै लागि शुल्क लिने गरिएको स्थानीयवासीले बताए । उनीहरुका अनुसार बीच जङ्गलमा गुप्प परेको चरिङ्गे दह अहिले फराकिलो भएको छ । दह वरिपरिको झाडी फालिएको छ ।

त्यसैगरी पिकनिक स्पट निर्माण गर्नाका साथै दहको उत्तरतर्फ एउटा मन्दिरसमेत बनाइएको छ । दहको उत्तरीतर्फ रहेको डाँडोबाट दहमा झरेको माटो फालेर चौडा पारिएको छ । उक्त डाँडोबाट खसेको माटोले दहको क्षेत्रफल साँघुरो बनाएकामा स्थानीयवासीले नै श्रमदान गरी केही वर्षपहिले माटो फालेपछि अहिले तीन हेक्टर क्षेत्रफलमा दह फैलिएको छ ।

दह संरक्षण समितिका संयोजक कमल पोख्रेलले दह संरक्षणका लागि यहाँका बासिन्दाको धेरै श्रमदान र विभिन्न सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएकोे जानकारी दिए । पछिल्ला वर्षमा भने स्थानीय सरकारले दहको संरक्षणका लागि खासै चासो नदिएको उनको गुनासो थियो ।

गत वर्ष जिल्ला वन कार्यालयले उपलब्ध गराएको रु २० लाखले दहको चारैतिरको भागमा पर्खाल लगाइएको थियो तर यस वर्ष घोराही उपमहानगरपालिकाले दहसम्म पुग्ने बाटो पक्की गर्नका लागि बजेट विनियोजन गरेको भन्ने सुन्नमा आए पनि कति बजेट र कहिलेबाट काम सुरु गर्छ भन्नेबारेमा कुनै जानकारी नभएको संयोजक पोख्रेलले बताए ।

दहलाई जिल्लाकै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोग अति आवश्यक रहे पनि बजेट अभावका कारण अति आवश्यक पूर्वाधार निर्माण गर्न पनि नसकिएको उनले बताए ।

यसअघि दह संरक्षणका लागि साबिक जिल्ला विकास समिति, नेपाल पर्यटन विकास बोर्ड, चरिङ्गे दह सामुदायिक वन समूह र त्यहाँ रहेका पाँचवटा महिला समूहले पनि दह संरक्षणका लागि सहयोग जुटाएका थिए । दह संरक्षणका लागि जुटेका रामपुर–६ र ७ का जनताले दहलाई नै आयस्रोतको गतिलो माध्यम बनाउन केही समयअघि व्यावसायिकरुपमा माछा पालन पनि गरेका थिए ।

तीन वर्षअघि एक याममा दहमा गरिएको माछापालनबाट एक लाख आम्दानी भएको उनीहरुले बताए । उक्त दह सदरमुकाम घोराहीदेखि करिब १५ किलोमिटर पूर्व उत्तरमा पर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्