दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज दिनभर गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश, सरकारले मिटरब्याजलाई अपराध संहितामा समावेश गर्ने, प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना रिहा, तनावग्रस्त बन्यो विराटनगर, प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने विधेयकले न्यायालय तरंगित, किसानलाई शतप्रतिशत अनुदानमा डिप बोरिङलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले उक्त मस्यौदामा बुधबार छलफल हुने बताए । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको र भोलि त्यसमा छलफल हुने उनले बताए ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि कारगार चलान भएका तीन जना धरौटी बुझाएर रिहा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दामा कारगार चलान भएका तीन जना युवक धरौटी बुझाएर रिहा भएका छन् ।

चैत ७ मा बानेश्वरस्थित थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो । मुद्दा खेप्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका थिए ।

सो मुद्दामा १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो ।

उनीहरु रिहा हुनु केही घण्टाअअघि मंगलबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोधीको मुख थुन्न नपाइने भन्दै तत्काल उनीहरुलाई रिहा गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।

तनावग्रस्त बन्यो विराटनगर

कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको छ ।

प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको थियो । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । घटनामा छ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताए ।

सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारीलाई सम्झाउँदा पनि अटेर गरेको र सीमाभन्दा बाहिर जान थालेपछि पहिलोपटक पानीको फोहोरा प्रयोग गरेको थियो ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध ¥याली निकालेको थियो । यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए ।

प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने विधेयकले न्यायालय तरंगित

प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरूले चिन्ता व्यक्त गरेका छन् ।

संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा तल राख्ने गरी तयारी गरिए पछि न्यायाधीश गम्भीर बनेका हुन् ।

५ चैतमा राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ले यसअघि चौथो नम्बरमा रहँदै आएको प्रधानन्यायाधीशको मर्यादाक्रम घटाएर पाँचौँ नम्बरमा झार्ने प्रस्ताव गरे पछि यतिखेर न्यायपालिका र नेपाल बार एशोसियन तरंगित हुन पुगेको छ ।

राष्ट्रियसभाका सांसदहरूले गैरसरकारी विधेयकको रूपमा यो विधेयक संसद् सचिवालयमा दर्ता गरेका हुन् । सो विधेयक दर्ता गर्ने सांसदहरूमा एमाले संसदीय दलको नेता देवेन्द्र दाहाल, गोपी अछामी, तुलबहादुर विक, प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भुसाल रहेका छन् भने कांग्रेस दलको नेता रमेशजंग रायमाझी र शेखर सिंहलगायतका छन् ।

यो विधेयक राष्ट्रिय सभामा पेस गरेर बहुमतले स्वीकृत भयो भने सरकारी विधेयकको मान्यता पाउँछ । राष्ट्रिय मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश रहने प्रस्ताव गरिएको छ । तर, यसअघि भने प्रधानमन्त्रीपछि प्रधानन्यायाधीश र त्यसपछि मात्र सभामुख रहने व्यवस्था रहेको थियो ।

मर्यादाक्रम घटाउने गरी आएको सो विधेयकको विषयलाई लिएर कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सर्वोच्चका न्यायाधीहरुबीचमा गम्भीर रूपमा छलफल भएको स्रोतले बतायो ।

यसैसन्दर्भमा नेपाल बार एशोसिएशनले विज्ञप्ति जारी गरेर विरोध जनाएको छ ।

सप्तरीमा इँटाभट्टाको पर्खाल भत्किँदा भारतीय मजदुरको मृत्यु

सप्तरीमा एक इँटाभट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ ।

रूपनी गाउँपालिका २ स्थित पिपराहीको जेएसआर इँटा उद्योगको मंगलबार पर्खाल भत्किदा एक जना भारतीय मजदुरको मृत्यु भएको हो । घटनामा दुई जना मजदुर गम्भीर घाइते भएका छन् ।

बिहान ७ बजेतिर इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्य कुच विहार ग्राम पञ्चायत अठरजनी निवासी ४५ वर्षीय अलिम अज्मिको मृत्यु भएको हो ।

पर्खालले चेपिएर गम्भीर घाइते भएका उनको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

घटनामा मृतककी २८ वर्षीया श्रीमती भुजिन बिबी र सोही ठाँउ निवासी २५ वर्षीय जनमालरुल हक घाइते भएका छन । दुबै जनाको अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता सिंहको भनाई छ ।

निकासी नहुँदा आठ सय टन जडीबुटी कुहिँदै

व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो ।

जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी नेपालगञ्जबाट जडीबुटी भारत निकासी हुने गरेको छ । ‘यसले जडीबुटी व्यवसायी, व्यापारी र किसानलाई ठूलो मार पर्ने देखिन्छ’, उनले भने ।

दुई वर्षदेखि निर्यातका लागि प्रशोधन गरेको जडीबुटी लामो समय बोरामा थन्किँदा कुहिने अवस्थामा पुगेको भन्दै व्यवसायीले निकासीको वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेदलगायत जडीबुटी विभिन्न नाकामा थन्किएको छ । जडीबुटी निकासीबाट राजस्वमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

जडीबुटी व्यवसायी सङ्घका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत भएकाले निकासीमा हुने अवरोध हटाउने विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा ‘एजेन्डा’ बनाउन आग्रह गरे।

व्यवसायी मोहम्मद याकुब अन्सारीले निकासी रोकिएपछि गोदाममा थन्किएको अधिकांश जडीबुटी कुहिन थालेको बताए । भारतको अवरोधले नेपालगञ्जबाट निकासी हुने जडीबुटी निर्यात बर्सेनि घट्दै गएको छ ।

सङ्घका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपालगञ्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार सात सय ७७ किलो जडीबुटी निकासी भएको थियो । आव २०७८÷७९ मा घटेर ४२ लाख २० हजार दुई सय २८ किलो जडीबुटी भारत निर्यात भएको छ ।

बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगञ्जलगायत नाकाबाट भारत निकासी हुँदै आएको छ ।

सेयर बजार १२.१० अंकले उकालो

सातामा करोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.१० अंकले वृद्धि भइ १९१८.१० विन्दुमा आएर अडिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँ भन्दाबढीको कारोबार गरेको छ । मंगलबार हिमालय डिस्टिलरी दोस्रो स्थानमा परेको छ ।

उक्त कम्पनीको ५ करोड ९७ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । सोमबार १३ उपसुचकहरु मध्ये विकास बैंक, फाइनान्स, निर्जिवन बिमाबाहेक सबै उपसुचकहरुमा वृद्धि भएको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्सको ३.४८ प्रतिशत र म्युचुअल फण्डको २.५३ प्रतिशतले वृद्धि भएको छ।

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, श्रीजनशील लघुवित्त र एसियन हाइड्रोपावरको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी महिला लघुवित्त ८.९२ प्रतिशत र नेरुदे लघुवित्त ७.९७ प्रतिशतको कारोबार भएको हो ।

किसानलाई शतप्रतिशत अनुदानमा डिप बोरिङ

अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्‍याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेको छ ।

नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ र ३ मा यसै वर्षदेखि परियोजना लागू भएको हो ।

झापा भूमिगत सिँचाइ परियोजनाका इन्जिनियर भूविक्रम नेम्बाङका अनुसार कचनकबल र भद्रपुरका १० वटा वडामा शत्प्रतिशत अनुदानमा एक सय ७१ वटा ‘डिप बोरिङ’ स्थापना गरेर आठ हजार पाँच सय बिघा जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याइने कार्यक्रम छ ।

परियोजना सञ्चालनका लागि नेपाल सरकारले यसै वर्ष शिवसताक्षी नगरपालिका–१० माईधारमा आयोजनाको कार्यालय र भद्रपुरमा फिल्ड कार्यालय स्थापना गरेर परियोजनाको कार्य धमाधम भइरहेको उनले बताए ।

‘यो शत्प्रतिशत अनुदानमा आधारित कार्यक्रम हो, यसमा किसानले केही पनि लगानी गर्नु पर्दैन’, परियोजनाका बारेमा जानकारी दिँदै इन्जिनियर नेम्बाङले भने, ‘नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पुर्‍याएर कृषिको उत्पादकत्व बढाउन योगदान पुर्‍याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो ।’

आयोजनाबाट सिँचाइ सुविधा लिन ५० देखि ६० बिघा जग्गाका किसानले आपसमा मिलेर उपभोक्ता समिति गठन गर्नुपर्ने र त्यसलाई कार्यालयमा दर्ता गराउनुपर्ने हुन्छ । सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिसका आधारमा उपभोक्ता समितिले माग गरेबमोजिम आयोजनाले सिँचाइ कार्यक्रम सञ्चालन गर्ने प्रावधान छ ।

चालु आर्थिक वर्षमा कचनकबलको वडा नं १ र ३ तथा भद्रपुरको वडा नं ३ का उपभोक्ता समितिको मागबमोजिम ३५ स्थानमा ‘डिप बोरिङ’ खन्ने कार्य अघि बढाइएको र अर्को वर्ष थप स्थानमा पनि सिँचाइ सुविधा पुर्‍याइने उनले जानकारी दिए, ‘केही स्थानमा ‘डीप बोरिङ’को काम सकेका छौँ, परीक्षणका लागि पानी फ्याँक्ने कार्य भइरहेको छ । एउटा बोरिङको पानीले ६० बिघासम्म सिँचाइ हुन्छ । एक सय ३० मिटर गहिराइबाट पानी निकालेका छौँ ।’ प्रति सेकेन्ड २० लिटरका दरले ‘डीप बोरिङ’बाट पानी आइरहेको उनले बताए ।

आयोजनाले किसानलाई सामूहिक रुपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने देखिएको छ । सरकारका तर्फबाट ‘डिप बोरिङ’ खन्ने कार्य सकेपछि हाइटेन्सन लाइनबाट बिजुलीको सुविधा पुर्‍याउने र खेतखेतमा पानी वितरणका लागि पाइप बिछ्याउने कार्य गरिने छ । विद्युतीकरण, पाइप विस्तार र २५ देखि ५० केभिएसम्मको ट्रान्सफर्मर जडानको सम्पूर्ण लागत आयोजनाले नै ब्यहोर्ने इन्जिनियर नेम्बाङले बताए । खेतमा पानी पटाउन सहज होस् भनेर हरेक चार बिघा जग्गामा एउटाका दरले पानीको पोइन्ट राखिने परियोजनाले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ५९ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय