राष्ट्रिय चिया दिवस र यसको महत्त्व | Khabarhub Khabarhub

राष्ट्रिय चिया दिवस र यसको महत्त्व



केही वर्ष यतादेखि देशले वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। असार १५ लाई धान दिवस मनाइन्छ। तर देशमा लाखौं टन धान, चामल आयात हुने गरेको छ। चिया दिवस मनाउँदै गर्दा पनि हामीले चिया आयात गरिरहेका छौँ भनेर बिर्सिनु हुँदैन। त्यसो त हाम्रो चिया उत्पादनको उर्बर क्षेत्र पूर्वी इलाम, झापा हुन्।

अधिकांश निकासी हुने काँकडभिटा नाका नै हो। उत्पादित हाम्रो आधाआधी चिया भारततिरै निकासी हुन्छ भने गुणस्तर परीक्षणको आप्mनो प्रयोगशाला नहुँदा मेची पूर्वी नाकाबाट कोलकतामा लगेर ल्याब परीक्षण गर्नुपर्ने सकस छ। कतिपय चिया गुणस्तरहीन भएको भन्ने गुनासो पनि छ। भर्खरै एउटा समाचार आएको छ, इलामको एउटा कारखानाबाट आप्mनै स्थानीय पालिकाले ५० हजार किलो चिया नष्ट गरिदिएको छ। यसबाट विश्वसनीयतामा प्रश्न खडा हुनु स्वाभाविक हो।

भनिन्छ देशमा चिया उत्पादनबाट वार्षिक ८ अर्ब बढीको कारोबार हुन्छ, आन्तरिक बजारमा आधा खपत हुन्छ र बाँकी आधा भारततिरै निकासी हुन्छ, त्यसो त भारतबाटै पनि चिया आयात हुन्छ। आ व ०७८।०७९ मा मात्रै १५ करोड १३ लाख १२ हजार रकम बराबरको ३ लाख केजी चिया भन्सार तिरेर आयात भएको आँकडा छ। त्यसो त यहाँ उत्पादित चिया मध्ये अन्य तेस्रो देशमा पनि निर्यात हुने गरेको छ।

गत वर्ष एक करोड १९ लाख केजी चिया तेस्रो देशमा निर्यात गरिएको आँकडा छ। राष्ट्रिय कफी तथा चिया विकास बोर्डकै शब्दमा यहाँ २८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चियाको खेती भइरहेको छ। गत वर्ष ०७८।०७९ मा मात्रै दुई करोड ३७ लाख ४६ हजार केजी चिया उत्पादन भएको छ। प्रत्यक्ष रोजगारी पाउने एक लाख बढी मानिस छन्। उत्पादित चियामध्ये अर्थोडक्स ३०, सिटिसि ३८ गरेर ६८ वटा ठूला उद्योग सञ्चालनमा छन्।
देशमा १६० भन्दा बढी चिया बगान, १७ हजार बढी साना किसान चिया खेती, उत्पादनमा आबद्ध छन्। सरकारले टि क्वालिटी फ्रम द हिमालय नामको ट्रेडमार्क दिएको छ भने चिया खेती र उत्पादनको इतिहास १६० वर्ष लामो भइसकेको छ।

के छन् त गुनासा
देशमा सबैजसो उद्यमी, व्यापारीका गुनासा छन्, यसमा चिया उद्योग पनि अछुतो छैन। मूलतः संघीय सरकार अन्तर्गत चिया तथा कफी विकास बोर्ड छ। स्थानीय पालिकाले चिया खेती चिन्दैनन्, प्रदेशले पनि चिन्दैन। बोर्ड अधिकार सम्पन्न छ। तर साधन र स्रोत सम्पन्न छैनन्। साना किसानले सहकारी संस्थाबाट उत्पादित चिया बजारीकरणका लागि अनुज्ञापत्र पाएनन्, चिया सहकारीले मलका लागि डिलर दर्ता गर्न पाएनन्।

सरकारले चिया किसानलाई सहुलियत कर्जामा विभेद गरेको छ। सहकारी ऐन अन्तर्गत रहेर चिया खेती र उद्योग सञ्चालन गरे पनि छुट सुविधा पाइएन। हरियो चियाको समर्थन मूल्य तोकिएन, चिया श्रमिकले श्रम ऐन अन्तर्गतका सुविधा पाएनन्। यसैमा ७० प्रतिशत बढी महिला श्रमिक भए। किटनाशक औषधि तिनैले हाल्छन्, तिनको स्वास्थ्य खराब छ, प्रयोगशाला आफ्नो नहुँदा परीक्षणमा कन्टेनरले बोकेर कोलकत्ता पुर्याउनु पर्ने काम झन्झटिलो भयो।

कस्तो चिया कति ?
देशमा चिया वाली वर्षेनी वृद्धि हुँदैछ। देशका २८ बढी जिल्लामा फैलिएको छ। चालु पन्ध्रौ योजनाको आधार वर्ष आव ०७६।०७७ मा एक लाख एक हजार १८५ मेट्रिक टन चिया निकासी भएको हो। चियाबाट यो अवधिमा दुई अर्ब ७८ करोड बराबरको आम्दानी भयो। अर्को वर्ष ०७७।०७८ मा देशले एक लाख एक हजार ९२० मेट्रिक टन चिया निर्यात गरेर तीन अर्ब ७९ करोड ७१ लाख रकम कमाएको भन्सार विभागको तथ्यांक छ। मूल्य हेर्दा प्रतिकिलो एक हजारदेखि सामान हेरेर ४० हजारम्म पर्छ। नेपाली अर्थोडक्स चियाले ट्रेडमार्क पाएपछि चिया उद्यमी बढी आकर्षित भएका हुन्। सरकारले यसको निर्देशीका २०७६ जारी गरेको छ। थरिथरिका चिया छन्। ग्रीन टि, सिल्भर टि, एल्लो टि, ब्ल्याक टि, ह्वाइट् टि, स्वाद र प्रकार अनुसारकाका छन्।

छिमेकी चीनको सिजुवान प्रान्तमा चिया म्यूजियम नै छ। त्यो पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। चीन, जापानमा मात्रै नभएर संसारमै सभ्यताको प्रतीक भएको छ चिया, हाम्रो प्रमुखस्थल इलाममै २५ बढी चिया प्रशोधन केन्द्र छन्।

चियाको अन्तर्राष्ट्रिय परिवेश
हिजोआज चियालाई बढी उपभोगको पेय पदार्थ र सभ्यताको रुपमा लिइन्छ। सायद सबैले प्रयोग गर्ने पानीपछिको पेय पदार्थ हो यो। चियाका पारखी यसको उदय चीनबाट भएको मान्छन्। ई.पु. दशौं शताब्दीमा सम्राट सुन नुङ्ग भन्ने एक जना शासक थिए। आफूलाई देवदूत सम्झन्थे। देवताको अंश रुप मान्ने उनले दैवी शक्तिका रुपमा आप्mना नागरिकहरुलाई उपचार पनि गर्थे। स्वास्थ्यको फाइदाका लागि सधैँ उनी तातो पानी पिउँथे। एकदिन तातोपानी राखिएको भाँडामा सानो रुखबाट हरियो पात खसेछ। केही वेरमै पानी रंगिएछ, बास्ना पनि मिठो आउन थालेछ। त्यो तातो पानी पिउँदा थप आनन्द भएछ उनलाई। त्यसै बेलादेखि उनले दैवी चमत्कार, स्वर्गबाट पठाइएको पदार्थ चिया भनी भन्न थालेछन्। अब त चियाको उपभोग बढ्दै गएछ। चियालाई एसियाकै आप्mनो उत्पादन भनिन्छ। चीनबाट घरेलु उत्पादनको रुपमा सुरु भएको चिया १६ औं शताब्दीमा चीनमै, कोरिया लगायत जापानमा व्यापारिक खेती काम आरम्भ भयो। पछि पोर्चुगलका व्यापारीले पश्चिमी मुलुकतिर पनि यसको प्रचार, खेती व्यवसाय सुरु गर्न थाले। सुरुमा घरैमा महिलाले चीनमा चियामा चिनी वा अन्य गुलियो पदार्थ मिसाएर खान थाले।

महिलाकै स्वादका लागि प्रसिद्धि पाएको चियाले खासगरी स्त्रीकै आहारको रुपमा लिने गरियो। अहिले पनि फिक्का चिया वा कालो चिया बिहानै लिने गरिन्छ। पंक्तिकार चियाको पारखी होइन। तर भर्खरै पेटको अपरेशनपछि उसलाई अस्पतालमा एक कप फिका चिया दिनु है भनियो। यसबाट स्पष्ट हुन्छ चिया हानिकारक नहोला। तर दिनभर पटकपटक चिया पिउनु भनेको शरीरको इन्सुलिनको दुरुपयोग हो। कारण थोरै भए पनि पेटमा खाना गएपछि प्याङक्रियाजले दुई तीन घण्टासम्म चलेर इन्सुलिन फाल्न थाल्छ, प्याङक्रियाजलाई थाहा हुन्न यो चिया आयो। पहिलेका मानिस दिनमा दुई तीन पल्टमात्रै खाना खान्थे, इन्सुलिनको बचत भएर निरोगी हुन्थेँ। अहिले त्यसको ठिक विपरीत अवस्था छ। सुगरका रोगी बढेका छन्। चियाबोट र यसको हरियाली बारे इलाममा बसेर पंक्तिकारले यसको खोजबिन, अनुसन्धान गर्दा निकै रमाइलो अनुभूति गरेको हो। तर अहिले दिन ढल्किएका छन्। बुढ्यौलीले घरै परदेश हुने बेला हुन लागेको छ। हो कसैले फिक्का, कसैले दूध हालेर कसैले हरियो चिया, कसैले हर्वल चिनी हालेर वा नहालेर पिउने गर्छन्।

जति सानो पातबाट चिया बनाइन्छ त्यति यसको मूल्य बढी पर्ने हुन्छ। हरियो र फिक्का चियाले क्यान्सर रोग हट्ने पनि भनिएको छ। बढी चिया पिउने आयरल्याण्डका मानिस हुन्। औसत चार कप दैनिक पिउने गर्छन। त्यसो त चिया उपभोग गर्ने विश्वकै राष्ट्रमध्ये भारत अग्रस्थानमा छ। अमेरिका र क्यानडामा भने हामीले पिएभैंmँ तातो चिया पिइन्न। यहाँ ८० प्रतिशत आइस् टि अर्थात् वरफ चिया पिउने गर्छन्। उत्पादनको दृष्टिले हेर्दा सबैभन्दा बढी चियाको उत्पादन एसिया एवं अफ्रिकी मुलुकमै हुने गरेको छ। बर्मामा त चियाको अचार खाइन्छ। सन् १९०३ मा अमेरिकी व्यापारीले चिनियाँ सिल्क भागमा चिया राखेर बिक्री गर्न सुरु गरे। तर व्यावसायिक रुपमा यसले सफलता हासिल गर्न सकेन। पछि अमेरिकी नागरिक विलियम हर्मान्सले आधुनिक चिया ब्यागकै सुरुवात गरे।

सन् १९३० मा एउटा चिया कम्पनीलाई आफ्नो पेटेन्ट राइटको सम्पत्ति संरक्षण अधिकार बिक्री पनि गरे। दोस्रो विश्वयुद्धपछि सन् १९५३ मा टेट्ले नामक एक बेलायती कम्पनीले व्यावसायिक टि ब्याग बजारमा ल्यायो। बेलायती बजारमा यसपछि चिया फक्रियो। स्वीट्जरल्याण्डमा सन् १९८३ देखि बोतलमा भरेर चिसो चियाको औद्योगिक उत्पादन सुरु भयो।
सन् १९८१ देखि जापानमा तयारी चियाको बिक्री अत्याधिक हुन थाल्यो। युरोपमा दूध हालेको चिया खाने चलन सन् १६८० देखि नै प्रारम्भ भयो। हिमाली भेगमा चौंरीको घिउ र नून मिलाएर पिउने चलन छ, हामीकहाँ। बेलायत, अमेरिकामा अलैंची, दालचिनी, सुकुमेल आदि मसला मिसाई पिउने चलन छ। अल्जेरिया, लिविया, मोरक्को उत्तर अफ्रिकी आदि मुलुकमा चियाको गिलासमा फिँज आउने गरी माथिबाट चिया खन्याउने गरिन्छ।

इलामको सम्झना
हामीकहाँ बिहानको सूर्योदय नै सायद चियाले गराउँछ। इलाम, झापामा पहिलो घाम झुल्के जस्तै गरी। फिक्कल र श्रीअन्तु डाँडाको रमाइलो छुट्टै छ। दार्जिलिङ्ग त झनै रमाइलो छ। त्यहाँ नपुग्ने नेपाली कमै होलान्।आधुनिक चिया कुनै स्थान विशेषको मात्रै छैन। यसले विश्व बजार ढाकेको छ। वि.सं. २००७ पछि यसले नेपाली संस्कृतिको रुपमा प्रश्रय पाएको छ। त्यसो त करिब डेढ सय वर्ष पहिले गजराज सिंह थापाले चीनबाट उपहार स्वरुप चियाको बीउ ल्याएर इलाममा रोप्न लगाएका हुन्।

सन् १८६२ मा नेपालमा चिया खेती आरम्भ भए पनि व्यावसायिक खेती भने सन् १९६० बाट मात्र भयो। पछि झापा, पाँचथरतिर पनि यसको खेती सुरु भयो र हाल यसले अन्य क्षेत्रमा पनि प्रश्रय पाएको छ। इलामको फिक्कल चियाको प्रसिद्ध क्षेत्र हो। नगदे बाली चियाले डलरको खेती गर्न सक्ने भन्दै राजा वीरेन्द्रले इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई सन् १९८० मा चियाक्षेत्र घोषणा गरे।

विश्वका अन्य मुलुकको तुलनामा हाम्रो चिया उत्पादन न्यून नैछ। आ.व. ०५७/०५८ देखि चिया निकासी हुन थालेको हो। विगतमा १० वर्षको अवधिमा झण्डै दुई अर्ब बढीको चिया निर्यात भइसकेको हो। आ.व. ०५७/०५८ तिर त देशमा १० करोड बढीको चिया आयात हुन्थ्यो। अहिले त्यो आँकडा घटेको भन्नुपर्छ। लगानी ठूलै छ, लाखौँ किसान चिया खेतीमा संलग्न छन्। चिया गुणस्तरीय छ र पनि विश्व बजारमा नेपाली चियाले उचित बजार पाएको छैन।

इलामको पूर्वी पहाड कन्याम, सोक्तिम, चिलिमकोट, जसवीरे, पानीटार, पाँचथरको कन्चनजंघा, पाथीभरा अनि झापाको बुधबारे, बर्ने, टोकला लगायत धेरै ठाउँमा पुग्दा जोकोहीलाई पनि चियाले नै मन लोभ्याउने गर्छ। यहाँका चिया बगानका फाँट हेर्दा जो कोहीको मन रमाइरहेको हुन्छ। सामान्यतया मीठो चिया उत्पादनका लागि उचित भूबनोट, पहाडी क्षेत्र ७२०० फिट सम्मको उचाइ राम्रो मानिन्छ।

चिनियाँ र आसाम गरी चियाका दुई प्रकार छन्। स्वाद फरक फरक हुने यस्ता चिया चिसो पहाडी क्षेत्रमा रोपिन्छ। पातलाई नरम बनाई रोलिङ गरी ड्राइङ्ग पछि ग्रेडिङ्ग गरिन्छ। यसपछि सिटिसि चिया तयार हुन्छ। कट टियर कर्ल पद्धतिद्वारा उत्पादित चिया सिटिसि चिया हो। अर्थोडक्सबाट बचेको डाँठलाई समेत प्रयोग गरी सिटिसि चिया बनाइन्छ। चियाको दुई पत्ता सुइरोबाट पहिले ड्राइ वा स्टीम गरिन्छ।

यसरी तयारी भएको चियालाई ग्रीन टि भनिन्छ। अरु टि भन्दा ग्रीनटी महंगो हुन्छ। ग्रीन टिले मोटोपना रोक्ने, बुढेसकालका फुर्ति दिने भनी अमेरिकन जर्नल अफ क्लिनिकल जर्नल अफ न्यूट्रिशनमा प्रकाशित भएको छ। ग्रीन टि उपभोग गर्ने व्यक्ति शारीरिक तन्दुरुस्त रहेको सक्रिय र स्वस्थ रहेको पाइएको कुरा सो अमेरिकी जर्नलले पुष्टि गरेको छ। नेपालमा चियाको व्यावसायिक खेती गरिनु अघि भारतको दार्जलिङ्गमा चियाको व्यावसायिक खेती गरिएको हो। चियाको सरदर आयु एक सय वर्षको भए पनि ९ देखि ४० वर्षको उमेरको चिया बढी गुणस्तरीय हुन्छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ४४ बजे

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा

सुर्खेतको इतिवृत–२’ विमोचित

कर्णाली – पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको