विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २८, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

युद्धविरामको अवधि लम्बिएपनि सुडानमा हिंसा जारी 

द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि हिंसामा कमी आएको छैन सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्‍यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ ।

साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तरराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले युद्ध अन्त्य गर्ने सहमति पूर्ण रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

अफ्रिकी सङ्घ, संयुक्त राष्ट्रसङ्घ, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकाले एक संयुक्त वक्तव्य निकालेर युद्धविराम गर्न सहमति जनाएकामा त्यसको स्वागत गरेका छन् ।

उनीहरूले शत्रुतापूर्ण गतिविधि सदाका निम्ति अन्त्य गर्न वार्ता र मानवीय सहायता सुनिश्चित गर्नेतर्फ द्वन्द्वरत पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

पश्चिमी डार्फरमा भड्किएको युद्धका कारण कुपोषणको शिकार भएका करिब पचार हजार बालबालिकालाई खाद्य सहायता उपलब्ध गराउन नसकिएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले जनाएको छ ।

सहायता निकायहरूका अनुसार हिंसाका कारण घरभित्रै फसेका धेरै सुडानी खाना, पानी, इन्धन र बिजुलीको अभावमा छटपटाइ रहेका छन् । केही भने ज्यान जोखिममा पारेर सुडानबाट पलायन भएका छन् ।

चौध दिनअघि युद्ध सुरु भएयता सुडानबाट १४ हजार नागरिक सुरक्षाको खोजीमा देशबाट पलायन भएका इजिप्टका अधिकारीले बताएका छन् । पचास देशका दुई हजार विदेशीले पनि सुडान छाडेका छन् ।

बीस हजार सुडानी चाड पुगेका छन् भने चार हजार दक्षिण सुडानमा शरणार्थी भएका छन् । तीन हजार पाँच सय जना इथियोपिया पुगेका तथा तीन हजारको हाराहारीमा अन्यत्र पलायन भएका राष्ट्रसङ्घीय निकायले जनाएका छन् । युद्ध जारी रहेमा थप दुई लाख ७० हजार सुडानी मुलुकबाट विस्थापित हुने चेतावनी पनि राष्ट्रसङ्घीय निकायहरूले दिएका छन् ।

राजनीतिक अस्थिरताले पाकिस्तानमा अपराध बढ्यो : आयोग

देशको वर्तमान अवस्थालाई लिएर पाकिस्तानको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने तथा उनीहरूमाथिको कारबाहीलाई तीव्र पारिएकामा आयोगले चिन्ता व्यक्त गरेको हो ।

धार्मिक अल्पसङ्ख्यक, तेस्रोलिङ्गी, ईश्वरको निन्दा गर्ने तथा अस्थिरता सृजना हुने उत्तेजक गतिविधिका कारण देशमा हिंसा बढेको बुधबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा जनाइएको छ ।

गत वर्षका विवरण समावेश गरिएको उक्त प्रतिवेदनमा सन् २०२२ लाई राजनीतिक अस्थिरताको वर्षका रूपमा चित्रण गर्दै कार्यपालिका र व्यवस्थापिकाले गुमाएको जनविश्वास पुनः स्थापना गर्न भरमग्दुर प्रयास गर्नुपरेको उल्लेख छ ।

देशले झेल्नु परेको राजनीतिक एवम् संवैधानिक सङ्कट अदालतबाट समाधान गर्ने प्रयासले परिस्थितिलाई अझ जटिल बनाएको उल्लेख गर्दै आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि पाकिस्तान चरम राजनीतिक सङ्कटबाट गुज्रिरहेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री खान यथाशक्य चाँडो निर्वाचन हुनुपर्ने माग गरिरहेका छन् भने सत्ता गठबन्धनले त्यसलाई बेवास्ता गर्दै आएको छ । पाकिस्तानका प्रमुख प्रान्तहरू पञ्जाव र खैबर पख्तुनख्वाका प्रान्तीयसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ भने बढ्दो राजनीतिक अस्थिरतासँगै जलवायु परिवर्तनका कारण गत वर्षको भीषण बाढीले जनजीवन कष्टकर पारेको छ ।

बाढीपीडितका पीडामा सहायताको मलम कसैले लगाएको छैन । गत वर्षको बाढीबाट तीन करोड तीन लाखभन्दा बढी पाकिस्तानी प्रभावित भएका थिए भने एक हजार सात सय जनाको ज्यान गएको थियो ।

आयोगको प्रतिवेदनअनुसार राजनीतिक कार्यकर्तालाई बलपूर्वक बेपत्ता पार्ने घटना गत वर्ष रोकिएनन् भने आफै खोजीमा जुटेका बेपत्ता भएकाहरूका परिवारका आफन्तलाई धम्क्याइएका घटना पनि बढेका थिए । बेपत्ता भएकाहरूको खोजी तथा छानबिन गर्ने निकायमा अझै पनि दुई हजार दुई सय १० वटा मुद्दा बिना कारबाही थन्किएका छन् । बलुचिस्तान र अन्य क्षेत्रमा बेपत्ताका घटना अन्य क्षेत्रको तुलनामा बढेका छन् ।

बितेका पाँच वर्षको तुलनामा गत वर्ष सबैभन्दा धेरै आतङ्कवादी हमला पाकिस्तानमा भएका थिए । गत वर्ष भएका तीन सय ७६ आतङ्कवादी हमलामा पाँच सय ३३ जनाले ज्यान गुमाएका तथा आठ सय ३२ जना घाइते भएका प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न अपराधमा दोषी ठहरिएका ९८ जनालाई गत वर्ष मृत्युदण्ड दिइएको थियो । अघिल्लो वर्ष एक सय २९ जनालाई प्राण दण्ड दिइएको थियो । पाकिस्तानका कारागारमा क्षमताभन्दा बढी कैदीलाई राखिएको उल्लेख गर्दै प्रतिवेदनमा देशभरका कारागारमा ८८ हजार छ सय ८७ जना बन्दी रहेका जनाइएको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

बुधबारदेखि भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ भने कोरोनाबाट निको हुनै जानेको सङ्ख्या समेत बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जना कोरोना मुक्त भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेका हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेला परेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ ।

हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा सङ्क्रमित बिरामी ०.१२ प्रतिशत रहेका उक्त मन्त्रालयले जनाएको छ । चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन् ।

विश्वव्यापी कोरोना महामारी सुरु भएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।

चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन् ।

सो अवसरमा राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एकमात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राखेका थिए ।

चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य देशको भ्रमण गर्न पठाउने र जारी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग गहिरो समन्वय गर्न पनि उनले बताए ।

युक्रेन सङ्कटमा चीन सधैं शान्तिको पक्षमा उभिएको र यसको मुख्य अडान शान्तिको लागि वार्तालाई सहज बनाउनु रहेको पनि राष्ट्रपति सीको धारणा छ ।

उनले चार बुँदे प्रस्तावहरूमा अन्तरराष्ट्रिय समुदायले मिलेर गर्नुपर्ने चारवटा कुरा र तीनवटा अवलोकनहरू उल्लेख गरेका छन् । सो प्रस्तावनामा चीनले युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो स्थिति सार्वजनिक गरेको पनि उल्लेख गरे ।

‘चीनले न त युक्रेन सङ्कट सृजना गरेको हो न त यो सङ्कटको पक्षमा छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र जिम्मेवार प्रमुख देशको रूपमा चीन चुपचाप बस्दैन’ उनले भने ।

सबै पक्षले युक्रेन सङ्कटलाई गम्भीरतापूर्वक विचार गर्ने र वार्ताको माध्यमबाट युरोपमा दिगो शान्ति र सुरक्षा ल्याउने उपायहरू संयुक्त रूपमा खोज्ने आशा पनि सीले व्यक्त गरेका छन् ।

भारतमा एघार वर्षीया बालिकाद्वारा तीन पुस्तकालय स्थापना

एघार वर्षीया आकर्षणा सतिसले भारतको हैदराबादमा तीन वटा बाल पुस्तकालय स्थापना गरेकी छन् । आफ्ना छिमेकी, सहपाठी र परिवारका सदस्यहरूबाट चार हजार आठ सय ३४ वटा पुस्तक सङ्कलन गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् ।

एमएनजे बाल क्यान्सर अस्पताललाई एक हजार ३६ वटा, सनतनगर प्रहरी कार्यालयलाई आठ सय २९ र किशोरी बालगृहलाई छ सय २५ पुस्तक प्रदान गरेर उनले पुस्तकालय स्थापना गरेकी हुन् ।

गत बुधबारदेखि ती पुस्तकालय सञ्चालनमा आएका छन् । प्रान्त सरकारका प्रशासन र प्रहरीका उच्च अधिकारीबाट ती पुस्तकालयको उद्घाटन भएको छ ।

कोरोना महामारीका बेला आफूले आफन्त, छिमेकी र विद्यालयका सहपाठीबाट पुस्तक सङ्कलन गरेको आकर्षणाले बताएकी छन् । उनले स्थापना गरेका पुस्तकालयमा अधिकांश तेलगु भाषाका पुस्तक छन् भने अङ्ग्रेजी र हिन्दीका पुस्तक पनि त्यहाँ राखिएका छन् ।

आफ्ना पिताजीको प्रेरणाबाट आफूले पुस्तकालय स्थापना गरेको उनले एएनआईलाई बताइन् । खाजाखर्च जोगाएर उनले स्यानेटरी प्याड पनि कन्या सुधार गृहलाई प्रदान गरेकी छन् ।

पुस्तकालय नभएका स्थानमा पुस्तक दान गरेर पुस्तकालय स्थापना गरेकी आकर्षणाप्रति भारतीय प्रहरी सेवाकी शिखा गोले आभार व्यक्त गरेकी छन् । कन्या बाल सुधारगृहमा पुस्तकालयको उद्घाटनपछि उनले भनिन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ०० बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान