आज असार १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
‘सैन्य’ निशानामा मात्र प्रहार गरेको क्रेमलिनको दाबी
युक्रेनको पूर्वी शहर क्रामाटोर्कको एक रेस्टुरेन्टमा भएको आक्रमणमा रूसी संलग्नताबारे बोल्दै रूसी सेनाले युक्रेनमा सेनासँग सम्बन्धित लक्ष्यमा मात्र आक्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ ।
रेस्टुरेन्टमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने र दर्जनौँ व्यक्ति घाइते भएका थिए । शहरमा सैनिक, पत्रकार र सहायताकर्मीका लागि लोकप्रिय मानिने रिया पिज्जा रेष्टुरेन्ट ध्वस्त भएको एक दिनपछि यो टिप्पणी आएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘रूसले कुनै न कुनै रूपमा सैन्य पूर्वाधारसँग सम्बन्धित वस्तुहरूमाथि मात्र आक्रमण गर्छ ।’उनले भने, ‘रूसी सङ्घले नागरिक पूर्वाधारमा आक्रमण गर्दैन ।’
युक्रेन प्रहरीले रेस्टुरेन्टमा पाहुनाको व्यस्तता रहेको समय आक्रमण भएका कारण १० जनाको मृत्यु भएको र ६१ जना घाइते भएको जनाएको छ ।युक्रेनी आपतकालिन सेवाका अनुसार मृत्यु हुनेमा तीन जना बालबालिका रहेका छन् ।
घाइतेमध्ये सन् २०२२ मा जन्मिएको एक शिशु पनि रहेको र केही मानिस अझै भग्नावशेषमुनि रहेको हुनसक्ने बताइएको छ ।
रूसी रक्षा मन्त्रालयले बुधबार यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै युक्रेनको ५६ औँ ब्रिगेडका वरिष्ठ कमाण्ड स्टाफको ‘अस्थायी तैनाथी बिन्दु’मा आक्रमण गरेको जनाएको छ ।
आक्रमणको केही समयपछि घटनास्थलमा पुगेका एएफपीका एक पत्रकारले रेस्टुरेन्टमा भग्नावशेष देखेपछि उद्धारकर्मीहरू भग्नावशेष हटाउन र शवहरूको खोजी गर्न दौडिरहेका थिए ।
रूसले युक्रेनमा आफ्नो १६ महिना लामो युद्धका क्रममा नागरिक संरचनामा आक्रमण गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट स्वदेश फिर्ता
गत महिना ७४ हाजरभन्दा बढी अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्किएका छन् ।
पश्चिमी निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता विभागका तालिवानका प्रान्तीय अधिकारीले सो जानकारी दिएको खामा प्रेसले जनाएको छ ।
निमरोज प्रान्तको शरणार्थी र स्वदेश फिर्ता प्रान्तका प्रान्तीय प्रमुख मौलावी अब्दुल्लाह रियाजले विगत दुई हप्तामा इरानबाट १,१०६ परिवार र ६९,२५९ व्यक्तिसहित कम्तिमा ७४,३६० व्यक्ति स्वदेश फर्किएको बताएका छन् ।
आधिकारिक स्रोतका अनुसार गत दुई दिनमा तोर्खाम क्रसिङ प्वाइन्ट हुँदै पाकिस्तानबाट २३० अफगान परिवार फर्किएका छन् । इरान र पाकिस्तानबाट अफगान शरणार्थीको स्वदेश फिर्ती पछिल्लो समयमा असाधारण रूपमा बढेको छ जुन उत्पीडन, स्वेच्छाचारी नजरबन्द र आयोजक देशमा गैरकानूनी अफगान नागरिकलाई निर्वासनजस्ता विभिन्न कारकसँग जोडिएको बताइन्छ ।
अगस्ट २०२१ मा पूर्ववर्ती अफगान सरकारको पतनपछि कमजोर अवस्थामा रहेका हजारौँ अफगान परिवार तालिबानद्वारा मृत्युको धम्की र त्रासले छिमेकी देश इरान र पाकिस्तानमा सरेका थिए ।
अफगान शरणार्थी स्वेच्छाचारी नजरबन्द, दुर्व्यवहार, कैद र जबर्जस्ती निर्वासनलगायतका कारण निर्वासनमा रहेका देशमा गम्भीर चुनौतीको सामना गरिरहेको पनि खामा प्रेसले उल्लेख गरेको छ ।
युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित चार जनाको मृत्यु
पूर्वी युक्रेनको क्रामाटोर्स्क क्षेत्रको मध्य भागमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु धेरै घाइते भएका छन् ।
डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७ः३० बजे भएको थियो। । ‘हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका छौँ । यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिक रूपमा खाने ठाउँहरू थिए’ उनले भनेका छन् ।
अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ । युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, ‘रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ ।’
सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ ।
इजरायली प्रधानमन्त्रीलाई चीनको निम्तो, अमेरिका सशंकित
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीनले भ्रमणको निम्तो दिएको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी गराएका छन् ।
नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा हिजो यो जानकारी दिएका हुन्। यद्यपि उनले कहिले भ्रमणमा जाने भन्ने बारे केही खुलाएनन् ।
चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ । चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो ।
अमेरिकन निकट इजरायललाई चीनको यो राजकीय भ्रमणले अमेरिकालाई भने सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेजन जंगलबाट बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान
मेजनको जंगलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ ।
यस उद्धार अभियानलाई ‘अपरेशन होप’ नाम दिइएको थियो । यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई ‘अर्डर अफ बोयाका’ नामक अवार्ड दिइएको हो ।
यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो। अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने‘ ‘पदक त एउटा प्रतीक मात्र हो । वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेशनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौँ भनेर प्रमाणित गरे।’
उनले अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी नरहेको भन्दै दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएको बताए ।
यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो । यो कुकुर जंगलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो । फेला पार्न अपरेसन पनि सुरु गरिएको छ । उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए ।
अमेजन जंगलमा प्लेन दुर्घटना हुँदा हराएका ४ जना बालबालिकालाई ४० दिन पछि जीवितै भेटिएको थियो, जसले संसारलाई नै चकित पारेको थियो ।
‘हज यात्रामा अपेक्षाभन्दा कम सहभागी’
यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयाले मङ्गलबार जनाएको छ ।
विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले गरेका थिए ।
तर सरकारी अल एखबारिया टिभीले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०१९ मा सहभागी भएका २५ लाख उपासकको तुलनामा यो उपस्थिति अपेक्षा गरेभन्दा अझै निकै कम हो ।
“यो हजको अवसरमा हजयात्रीहरूको कूल सङ्ख्या महिला पुरूष गरी १८ लाख ४५ हजार ४५ रहेका छन्,” तथ्याङ्क कार्यालयले जनाएको छ ।
कोभिड–१९ को महामारीपछि अघिल्लो वर्ष यो सङ्ख्या १० लाखमा सीमित भएको थियो । यस वर्षको सहभागिता अघिल्लो बर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएपनि साउदी अधिकारीले यस बर्ष सन् २०१९ को सहभागिताको हाराहारीमा हजयात्री साउदी अरब पुग्ने प्रक्षेपण गरेका थिए ।
प्रतिक्रिया