‘म तिम्रो सहर छोडी टाढाटाढा जाँदै छु’ यो गीत सबैको मनमनमा छ। यो गीतमा कसको स्वर होला ? कतिपय मन परेका गीत सुनेर पनि धेरैलाई गायक थाहै नहुनसक्छ। यो गीतका चर्चित गायक हुन प्रदीपराज पाण्डे। अहिले जस्तो सामाजिक सञ्जालमा गीत राखेर चिर्चत हुने त्यो समय होइन। त्यो बेला रेडियो नेपालमा धेरै गीतहरू बज्थे। त्यही बेला यो गीतले पनि चर्चा कमाएको थियो। उनै मधुर स्वरका धनी वरिष्ठ गायक प्रदीपराज पाण्डेसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :
रेडियो नेपालसम्मको यात्रा कसरी सुरु भयो ?
गीत संगीतको प्रेरणाको स्रोत भनेको नै मेरो माता हो। पिता क्लासिकल गीत गाउनुहुन्थ्यो। उहाँको आफ्नै समाज थियो। त्यहाँ बुवाले मलाई सँगसँगै लानु हुन्थ्यो। म कहिले काहीँ लोकगीत गाउँथे। त्यहाँ कुमार बस्नेत दाइहरूका गीत गाउँथे। बुवाले मलाई पहिला क्लासिकल गीत गाउन प्रेरित गर्नुभयो। यस्ता गीत गाएपछि मात्र गीतको मर्म बुझ्छौँ भनेर भन्नुभयो। पछि रेडियो नेपालमा स्वर परीक्षण गराएँ। त्यो बेलामा त गीत बज्यो भनेर खुसी हुन्थेँ। गीतको रस, माधुर्यता, ताल, स्वर र सुरु पछि बुझ्दै गएँ। पछि गएर मेरो गुरु नातिकाजी श्रेष्ठको आशीर्वाद पाएँ। उहाँले मलाई ‘म तिम्रो सहर्षै टाढा’, ‘थाहै छैन किन आउँछ याद तिम्रो’, ‘आखिर यो चिठी’ लगायत १२ वा १३ वटा गीतहरू दिनुभयो। यस अर्थमा म भाग्यमानी गायक हुँ। किनभने मेलोडी किङ अग्रज सङ्गीतकार नातिकाजीको संगीतमा गीत गाउन पाउनु मेरो सौभाग्य हो। त्यसपछि मेरो साङ्गीतिक यात्रा सुरु भयो।
चर्चित गीत आए तर बीचमा कताकता हराएको जस्तो महसुस भयो, किन ?
रेडियो नेपालमा धेरै गीत गाएँ। अहिले पनि रेडियोमा काम गर्छु तर अब पुराना गीतलाई रिमेक गर्दैछु। नयाँ गीत पनि गाउँछु। अहिले सङ्गीतकार मधुकर लोहनीको सङ्गीतमा गीतहरू गर्दैछु। अहिले भर्खरै पनि वरिष्ठ गीतकार टेक तामाङको गीत रेकर्ड गरेको छु। मधुकर दाइको सङ्गीतमा ’अल्झिरह्यो याद बल्झिरह्यो घाउ’ गीत तयार भएको छ।
एउटै शब्द र गीतमा नयाँ पुस्ताले गाउँदा र पुरानो पुस्ताले गाउँदा किन फरक हुन्छ ?
हिजोको दिनमा जुन हाम्रो सुरुवाती संगीत थियो। त्यो समय र अहिलेको संगीतमा फरकपन अवश्य हुन्छ। मलाई प्रत्येक शब्दमा मिठास चाहिन्छ। किनकि मिठास सबैलाई मनपर्छ। मेलोडी गीत सबैले मन पराउँछन्। एक पटक सुनेको गीत बिर्सनै नसक्ने हुनुपर्छ। भित्र सुनेको गीत बाहिर आउँदा नबिर्सियोस् भन्ने हो।
तपाईंले अहिलेको गीत संगीतको क्षेत्रलाई कसरी हेर्नुभएको छ ?
परिवर्तन भएको छ। गीत संगीतको क्षेत्रमा राम्रा साथीहरू हुनुहुन्छ। हामी पुराना पुस्ताका मान्छे उहाँहरुसँग आकर्षित भएका छौं। नारायण गोपाल, फत्तेमान, तारादेवी, दीप श्रेष्ठका गीत छन्। उहाँहरूले गीत गाएपछि इतिहास रचिन्छ भन्ने भयो। अहिले पनि राम्रो गाउनु हुन्छ। तर एक छिन गाएर बिर्सिने गीत हुनु हुँदैन। भोलि मान्छे मरेर गए पनि गीत रहिरहोस्। मेलोडी भनेको एउटा इतिहास हो। जुन इतिहास बन्छ त्यस्तो गीत गाएको राम्रो हुन्छ।
मन छुने शब्दहरू रच्ने रचनाकारको गीत तपाईंले पाउनु भएको छ। त्यो शब्द अनुसार भाव पनि मिल्नुपर्छ होला। यो कसरी गर्नुहुन्छ ?
सबै भन्दा पहिला गीत सङ्गीतमा कला भनेको ईश्वरीय वरदान हो। लगन, मेहनत पनि चाहिन्छ। आफ्ना गुरुहरूको राम्रो सङ्गत भयो भने गीत सङ्गीतबाट राम्रो सफलता पाउन सकिन्छ। पहिला आफूले कस्तो गीत गाएको छ। गीत राम्रो हुनुपर्छ। कसले रचना गरेको हो भन्नुभन्दा पनि गीत कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। म प्राय सेन्टिमेन्ट गीत गाउँछु। मैले कुनै गीतको शब्द देखेपछि यो गीतले दर्शकको मन छुन्छ भन्ने विश्वास भएपछि मेहनत गर्छु।
मैले पहिला बीबी थापाका गीत गाएँ। सुरुवाती गीत उहाँकै रचना हुन्। ‘म तिम्रो सहर छोडी टाढा’, ‘किन आउँछ याद तिम्रो’ लगायत धेरै गीत उहाँका हुन्। मैले अहिलेसम्म काम गरेका गीत राम्रा छन्। संयोग पनि भन्छु, मलाई गीत दिनेहरू संगीतिक क्षेत्रका अग्रज हुनुहुन्छ।
पुराना भन्दा नयाँ गीतहरूले नै बजार लिएका छन्। यसमा कमजोरी कसको हो ?
अहिले सबै गीतहरू टेलिभिजनमा देखिन्छन्। अहिले गीत रेकर्डिङ गर्न गीत बज्न मनग्य पैसा लाग्छ। त्यो हामी पुरानो पुस्ताबाट सम्भव छैन। पैसा भएकोले प्रचार गर्नुहुन्छ। मेरो हकमा एउटा गीत गर्दा मनग्य पैसा चाहिन्छ। त्यो पैसाले मैले केही काम गर्नसक्छु। अहिले टेलिभिजनमा जसले खर्च गर्छ उसकै मात्र गीत बज्ने हो। मैले केही ठाउँमा प्रयास गरेको पनि हुँ। तर हामीले त्यो गर्न सक्दैनौं।
तिलक सिंह पेलाको एउटा गजलको सामान्य भिडियो चर्चामा आयो ? सामान्य भिडियो पनि चर्चामा त आउने रहेछ नि ?
हो। म पनि त्यसरी नै काम गर्छु। गीतसङ्गीत मिठो भएपछि धेरै तडकभडक पनि गर्नु पर्दैन। तै पनि मैले सामान्य तरिकाबाट गर्न खोज्दा पनि डिमान्ड धेरै भयो। म ३/४ वटा ठाउँमा गएँ।
नयाँ पुस्ताहरूमा पनि हामीले पुरानो गीत पाउँदैनौँ भन्ने गुनासो गर्छन्। पुरानो नपाएपछि जुन मार्केटमा चल्छ त्यो नै गाएको हुँ भन्ने गुनासो पनि सुनिन्छ ?
पुराना सङ्गीतकारहरू अहिले धेरै कम हुनुहुन्छ। हो पुरानो संगीतकारकोमा उहाँहरू जानुभयो भने उहाँहरूले रटाउनु हुन्छ। यसो गीत सङ्गीत गर्ने बित्तिकै उहाँहरुले गीत दिनुहुन्न। उहाँहरूले गायकीमा कस्तो प्रतिभा छ भनेर जाँच गर्नुहुन्छ। त्यसैले सिकेर जानुपर्छ। अहिले कतिपय गायकले राम्रो गाउनु भएको छ। सिकेर जानु भयो भने पुरानो पुस्ताले नयाँ पुस्तालाई अवश्य पनि गीत सङ्गीत दिनुहुन्छ।
नयाँ पुस्ताले आफ्नो बाटो लिइरहने पुरानो पुस्ता अर्को तिर हुँदा सङ्गीत क्षेत्रको भविष्य के होला ?
हामीलाई अहिले चुनौती छ। हामी पुरानौ शैलीको गीतसङ्गीतबाट आएका हौं। अहिलेका पुस्ताको आफ्नै एउटा इमेज र क्रेज छ। विकृति पनि छन्। मिठा गीतहरू पनि आएका छन्। तर हामी मेलोडी गीत ल्याउनुपर्छ। लोक संस्कृतिलाई हामीले मार्नु हुँदैन। यो कुरा पछि हाम्रा नयाँ पुस्ताले पनि मान्छन्। अहिले उमेरमा जोस जाँगर हो। पछि उमेर ढल्किँदै जाँदा त्यो आउँछ जस्तो लाग्छ। पछाडि पछुताउनु भन्दा अहिले नै राष्ट्रको लागि केही गीत छोडौँ जस्तो लाग्छ।
तपाईंले आमालाई चर्चामा राखेर गीत गाउनु भएको रहेछ। त्यो संगीत र सम्बन्धलाई कसरी सम्झनुहुन्छ ?
जिन्दगीमा आमाले जन्म र शिक्षा दिएर हुर्किने हो। म त्यो बाटोबाट नै यो ठाउँमा आएको छु। आमाको लागि जति व्याख्या गरे पनि कम नै हुन्छ। मैले यो गीत मेरो एक जना साथी रमेशजीले कति माया प्रेमका मात्र गीत लेख्ने आमाको लागि गीत लेखिदिनुपर्यो भनेपछि तयार पारेको हुँ।
आमालाई मैले केही गर्न नसके पनि यो गीतबाट खुसी पार्न सकेँ। आमाबाट आशीर्वाद लिन सकौँ भनेर मैले आमालाई नै सुटिङमा राखेर गीत गाएँ। त्यो गीत भनेको ‘मैले जीवन जिउन सिके ममताको छहारीमा’ हो।
आगामी दिनका योजना के के छन् ?
म त्यस्तो धेरै गीतहरू गाउँदिन तर सबै दर्शकहरूलाई मिठास दिने प्रयास गर्छु दर्शकबाट प्रतिक्रिया पनि पाउन सकौँ।
प्रतिक्रिया