म्याग्दीका कालिजले बजार नपाउँदा किसान निराश  « Khabarhub

म्याग्दीका कालिजले बजार नपाउँदा किसान निराश 


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिज पालन गरेका उद्यमीहरू विस्थापित हुन थालेका छन् । 

लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर छवटा कालिज फार्म रहेकामा हाल एकवटा मात्र सञ्चालनमा रहेको छ । 

सञ्चालनमा रहेको हरियाली ग्रुपको फार्ममा पनि न्यून मात्रामा कालिज पालिएका छन् । तीन हजारभन्दा बढी कालिज पाल्न सक्ने क्षमता रहेको फार्ममा हाल दुई सय ५० वटाको हाराहारीमा कालिज रहेका हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिए। 

‘सुरुमा बजार र मूल्य राम्रो थियो, अहिले माग आउन र बजार पाउन छाडेपछि सङ्ख्या घटाएका छौँ,’ उनले भने, ‘दानाको मूल्य महँगिने र लागतअनुसार मूल्य नपर्ने हुँदा कालिजपालन फस्टाउन सकेन ।’ 

कालिजलाई वनखुकुरा भनेर चिन्ने गरिन्छ । ‘राउननेक’ जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । एकवटा भाले कालिजको मूल्य दुई हजार पाँच सयदेखि तीन हजार र पोथीको मूल्य दुई हजारदेखि दुई हजार एक छ । 

चल्लाको मूल्य प्रतिगोटा रु आठ सयदेखि रु आठ सय ५० छ । पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खानयोग्य हुन्छन् । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्वतको जलजला गाउँपालिका-५ लेकफाँटमा विसं २०७८ मा स्थापना भएको यमितादह कृषि तथा पशुपक्षी फार्ममा हाल एक हजार दुई सय गोटा बिक्री योग्य कालिज छन् । 

‘दिनमा चार हजारको दाना खान्छ, पाँच महिनामा बिक्री गर्नुपर्ने कालिज एक वर्षमा पनि बिकेको छैन,’ यमितादह कृषि तथा पशुपक्षी फार्मका कर्मचारी मनबहादुर पुनले भने, ‘गाउँघरमा यसको उपभोक्ता छैनन् । बजारमा कालिजको बिक्री घटेको छ ।’

सो फार्ममा बेलायतमा रहेका हर्कबहादुर पुनले रु ६० लाख लगानी गरेर तीन रोपनी जमिनमा कालिजपालन गरेका हुन् । कालिजको चल्ला उत्पादन गर्ने ‘ह्याचिङ’ मेसिन भए पनि चल्लाको माग नभएकाले मेसिन प्रयोग भएको छैन । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन् । कालिज बिक्री गराउन पोखरामा रेष्टुरेष्ट खोल्न लागेको पुनले बताए । 

कालिज सुत्केरी र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । म्याग्दी र आसपासका क्षेत्रका किसानले उत्पादन गरेको कालिज खपत हुने बजार बेनी, गलेश्वर, तातोपानी, कुश्मा, पोखरा, जोमसोम र घोडेपानी हो । आन्तरिक पर्यटक कालिजका उपभोक्ता हुन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्राविधिक गणेश रिजालले मानिसहरुको खर्च गर्ने क्षमतामा आएको कमीको असर कालिजपालनमा परेको बताए । 

‘उपभोक्ताहरुसँग पैसा धेरै हुँदा कालिज, च्याङ्ग्रा, खसी, बोकाको खपत धेरै थियो,’ उनले भने, ‘पछिल्लो समय कालिजको मात्र नभएर खसीबोका, लोकल कुखुरा र च्याङ्ग्राको मासुको खपत पनि घट्न थालेको छ ।’

धेरै समय कालिज पाल्दा दानामा लगानी बढ्ने भएकाले सुकुटी बनाउने, ‘डिपफ्रिज’ गर्ने र आन्तरिक बजारीकरण गर्नुपर्ने सुझाव किसानलाई पशु सेवा प्राविधिकहरूले दिएका छन् ।  

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १२ : ३० बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले