अमेरिकी सभामुखसँग भेट नगर्न ताइवानी राष्ट्रपतिलाई चीनको चेतावनी | Khabarhub Khabarhub

अमेरिकी सभामुखसँग भेट नगर्न ताइवानी राष्ट्रपतिलाई चीनको चेतावनी


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ताइपेई- चीनले ताइवानका राष्ट्रपति साई इङ वेनले अमेरिका भ्रमणका क्रममा त्यहाँको तल्लो सदनका सभामुखलाई भेटेमा त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ ।

राष्ट्रपति साई आफ्ना सहयोगीसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज अमेरिकातर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा अमेरिकामा रहँदा उनले प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने बताइएको थियो ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्य भूमिमा विलय गर्न सक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफ्ना लागि अमान्य हुने उल्लेख गर्दै बेइजिङले यदि उनले भेटवार्ता भए त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको छ ।

राष्ट्रपति साईले अमेरिकी सभामुखलाई भेटेमा त्यो अर्को उक्साहट हुने तथा त्यसबाट एक चीन नीतिको गम्भीर उल्लङ्घन हुने ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्लियनले बताएका छन् । उनले चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् ।

ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध तोडेर होन्डुरसले जनगणतन्त्र चीनसँग सम्बन्ध कायम गरेपछि ताइवानी राष्ट्रपतिले अमेरिकी महादेशको भ्रमण गर्न लागेकी हुन् । होन्डुरसले सम्बन्ध तोडेपछि ताइवानलाई औपचारिक मान्यता दिएका देशको सङ्ख्या १३ देशमा झरेको छ ।

होन्डुरसका विदेशमन्त्री एडुआर्डो रेनाले देशको आर्थिक आवश्यकता तथा ताइवानले आर्थिक सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताएका थिए । ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई  १० करोड बनाउन तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनः संरचनाका निम्ति गरेको आग्रहप्रति पनि ताइानले सकारात्मक जवाफ नदिएको उनले बताएका थिए ।

बाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताइन् । उनले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताएकी थिइन् ।

न्यूयोर्कको भ्रमणपछि राष्ट्रपतिको साईले ग्वाटेमालाका राष्ट्रपति अलेजान्ड्रो गियामाटेइ र बेलिजका प्रधानमन्त्री जोन बिसेनोलाई उनीहरूकै देशमा भेट्ने कार्यक्रम रहेको राष्ट्रपतिको साईको कार्यालयले जनाएको छ । स्वदेश फर्कने क्रममा उनी लस एन्जलसमा केही समय बिताउने छिन् ।

सभामुख म्याकार्थीले पनि क्यालिफोर्नियामा राष्ट्रपति साईलाई भेट्ने बताएका छन् । गत वर्ष पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको चीनले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।

यसैबीच, एक जना वरिष्ठ अमेरिकी  प्रशासकले राष्ट्रपति साईको भ्रमणलाई बहाना बनाएर रोकटोकको अवाञ्छित क्रियाकलापमा नउत्रन चीनलाई अनुरोध गरेका छन् । राष्ट्रपति साईको अमेरिका बसाईलाई लिएर बेइजिङलाई आक्रामक नबन्न र जबरजस्ती नगर्न आह्वान गर्दै उनले चीनको चेतावनीबाट अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट गरेका छन् ।

राष्ट्रपति साईमाथि चिनियाँ दबाब यस्तो समयमा आएको छ जतिबेला ताइवानले अमेरिकासँगको सम्बन्धलाई अनौपचारिक रूपमा भए पनि सुदृढ गर्ने प्रयास गरेको छ । विश्लेषकहरूका अनुसार साईले सन् २०१६ मा राष्ट्रपति पद सम्हालेपछि बेइजिङले ताइपेईमाथि सैन्य, आर्थिक एवम् कूटनीतिक दबाब बढाएको छ । यसैसाता होन्डुरसरलाई आफ्नो पक्षमा ल्याएझैँ चीनले ताइवानका समर्थकलाई आफ्नो पक्षमा पारेको छ ।

सन् १९७९ मा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपनि ताइवानको अन्तर्राष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा अमेरिका उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि रहेको छ । यस्तो पृष्ठभूमिमा ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भएपनि औपचारिक सम्बन्धजत्तिकै महत्त्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र