'यस वर्ष रासायनिक मलको अभाव हुँदैन' | Khabarhub Khabarhub

‘यस वर्ष रासायनिक मलको अभाव हुँदैन’


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नेपालको आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपाल कृषि प्रधान देश भने पनि कृषकले समयमा मल पाएका छैनन् । यसमा कम्पनीले किन ध्यान नदिएको हो ? साल्ट ट्रेडिङ कर्पोरेसनमा सामानको आपूर्ति र विक्रीवितरणको अवस्था लगायत विषयमा आधारीत रहेर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठसँग खबरहबका लागि पुष्पाञ्जली बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

साल्ट ट्रेडिङ नुनको बिक्री वितरणमा मात्र अल्झियो, अरु वस्तुलाई खासै ध्यान दिएन भन्ने गुनासो सुनिन्छ । किन होला ?

साल्ट ट्रेडिङको स्थापना २०२० सालमा नेपाल सरकार र निजी क्षेत्रका नुन व्यापारीको संयुक्त लगानीमा स्थापना भएको संस्था हो । साल्ट ट्रेडिङ कर्पोरेशन नामबाट स्थापना भएको यो संस्थाले नुनकै कारोबार गर्दै आएको हो । तर, पछिललो समय हामीले अन्य वस्तुको पनि कारोबार गरिरहेका छौँ । अहिलेसम्म आइपुग्दा चिनी, चामल दाल तेल, गेडागुडी, रासायनिक मल, बिउ र अखबरी कागजलगायत अन्य वस्तुको समेत व्यापार गर्दै आएका छौँ ।

साल्ट ट्रेडिङलाई लिएर पहिला जनस्वास्थ्यसँग जोडेर प्रश्न गरियो, अहिले के छ अवस्था ?

पहिला नुनमा आयोडिन धेरै भयो भन्ने विषयमा प्रश्न उठेको हो । उत्पादनस्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम चाहिन्छ, बजारसम्म आउँदा ३० पीपीएम र घरसम्म पुग्दा र पकाइसकेपछिको खानामा १५ पीपीएम हुनुपर्छ भन्ने छ । त्यस कारण ५० पीपीएम भन्दा कमको नुन ल्याउँदा नेपाल सरकारले कारवाही गर्छ । अर्कोतर्फ नेपालमा समुद्र नभएको कारण सामुद्रिक खाना छैन । यसको अर्थ नुनको विकल्प पनि छैन । नेपालमा आयोडिनको कमीबाट लाग्ने गलागाँड, लुलोलंगडो हुने लगायतका समस्या कम भएका छन् । त्यो घट्दा न यी समस्याहरू बल्झिने हुन् कि भन्ने प्रश्न पनि आइरहेका छन् ।

नेपाललाई कृषि प्रधान देश भनिन्छ तर कृषकहरुले समयमा मल पाएका छैनन् । यसमा कम्पनीले किन ध्यान नदिएको ?

सरकारले २०६९ सालपछि मल वितरणसम्बन्धी काममा साल्ट ट्रेडिङलाई समावेश गरेको हो । यसमा नेपाल सरकारको ३० प्रतिशत अनुदानमा हामीले काम गर्ने हो । ७० प्रतिशत कृषि सामग्री कम्पनीलाई दिने हो । नेपालको आवश्यकता अनुदानको मलले मात्र पूर्ति हुन सक्दैन । हाम्रोमा मलका लागि बजेट नै अपुग छ । अहिले नेपाल सरकारले मलको कोटा थप गरेको अवस्था छ । यसमा हामी निरन्तर सजग छौँ । सरकारले ९२ हजार मेट्रिक टन मल फेरि ल्याउनु भनेर थप कोटा दिएको छ । सबै मल असोजभित्र आउँछ । नेपालमा वार्षिक रुपमा लगभग ५ लाख मेट्रिक टन मल आवश्यक पर्दछ । अहिलेको मौज्दात ६०/७० हजार मेट्रिक टन मात्र छ । यो वर्षको असोजसम्म किसानलाई मलको समस्या हुँदैन ।

अहिले गाउँमा मल ढुवानी कसरी गरिरहनु भएको छ ?

गाउँपालिकाको सिफारिषमा कृषि मन्त्रालयबाट कोटा छुट्ट्याइएको हुन्छ, त्यसको आधारमा नै हामीले रासायनिक मल वितरण गर्ने हो । तर बाहिरबाट मल आयातको हकमा सबै ठाउँमा वीरगञ्जबाटै लैजानुपर्छ, कलकत्ताबाट मात्रै मल आउने भएकाले वीरगञ्जबाटै ल्याउनुपरेको हो । यसो हुदाँ मलको ढुवानी महँगो पर्छ । आम नागरिको हिसाबले अर्थ व्यवस्थालाई नीतिगत हिसाबले लानु राम्रो हुन्छ। नीति नियमहरू नारामा मात्र लगाएर हुँदैन । काम गरेर देखाउनुपर्ने जिम्मेवारी सरकारसँग छ ।

बीउबाहेक कृषिउपजसँग सम्बन्धित अन्य के कस्ता कारोबार गरिरहनुभएको छ ?

साल्ट ट्रेडिङकै लगानीमा मोरङमा सुगर मिल खोलिएको छ । त्यसको फार्ममा हामीले उन्नत जातको उखु खेती गरेका छौं । हामीले गहुँको बीउको प्रशोधनका साथै ‘कन्ट्र्याक्ट फार्मिङ’ गरिरहेका छौं । गहुँको बीउ पनि वितरण पनि गरिरहेका छौं । हामीले साल्ट ट्रेडिङकै आफ्नै जग्गामा मोरङ सुगर मिल कम्पनी छ । चिनी उत्पादन मिल चाँहि पुरानो भएकाले अहिले बन्द गरीएको छ । श्रमिक अभावले समयमै उखु काट्न नसकिने र काटेर लगेपछि सुक्ने डरले यान्त्रीकरणमा धेरै पैसा खर्च भएको छ । हामीले उखु रोप्ने र काट्ने कामका लागि मेशिन र उपकरणमा निकै पैसा खर्च गरिसकेका छौं । यो क्षेत्रमा सरकारको लगानी पुगेको छैन । तर खासमा जानुपर्ने यान्त्रीकरणमै हो । सरकारले अहिले कृषि मन्त्रालयमार्फत सानो सानो कुरामा अनुदान दिने होइन ।

हाल साल्ट ट्रेडिङ कम्पनीले कति जनालाई रोजगारी दिएको छ त ?

साल्ट ट्रेडिङ मा मात्रै स्थायी र अस्थायी गरेर लोडरअनलोड गर्ने कामदारको संख्या हटएर ५०० भन्दा बढी मानिसले रोजगारी पाइरहेका छन् । वर्किङ युनिटले नुनलगायत सामान प्याकिङ गर्ने गर्छ । त्यसमा पनि हामीले ३०० भन्दा बढी कर्मचारी राखेका छौँ । जसमा ९० प्रतिशतभन्दा बढी महिला सक्रिय छन् । गोरखकाली रबर उद्योगमा पनि नेपाल सरकारपछिको ठूलो साझेदार हामी नै हौं । तर, त्यो अहिले बन्द छ । बुटवल धागो कारखानामा पनि हाम्रो लगानी छ । यो उद्योग सञ्चालनमा आएपछि साल्ट ट्रेडिङ अन्तर्गत रोजगारी पाउनेको संख्या थपिन्छ । वित्तीय क्षेत्रतिर सनराइज बैंकमा हाम्रो शेयर छ । सगरमाथा र लुम्बनी इन्स्योरेन्स मर्ज भएर बनेको सगरमाथा लुम्बनी इन्स्योरेन्स कम्पनीमा पनि हाम्रो शेयर छ ।

कम्पनीको वार्षिक सरदर कारोबार कतिसम्म हुने गरेको छ ?

साल्ट ट्रेडिङको मात्र हिसाब गर्ने हो भने पहिला १०–११ अर्बको हुन्थ्यो । गत वर्ष कोभिडपछि घटेर ८ अर्ब जति भएको थियो भने यस वर्ष बढ्ने अपेक्षा छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  १२ : ३३ बजे

उद्‌घाटन खेलमा आज च्यासल र वीरगञ्ज भिड्ने

काठमाडौं– शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि लुम्बिनीमा हुँदै

बुटवल– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज

काठमाडौं – आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड