विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज साउन १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २९, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ईयूले नाइजरमा भएको विद्रोहलाई मान्यता नदिने, सहयोग तत्काल रोकिने

युरोपेली सङ्घ (ईयू) ले नाइजरमा भएको विद्रोहलाई मान्यता नदिने बताएको छ । ईयूले यसै साता सत्ता कब्जा गर्ने नाइजरका विद्रोहीलाई मान्यता नदिने र जिहादी प्रभावित देश नाइजरसँगको सुरक्षा सहयोग स्थगन गर्ने शनिबार घोषणा गरेको हो ।

सन् २०११ देखि नाइजरको राष्ट्रपतिको नेतृत्व गर्दै आएका जनरल अब्दुरामाने चियानीले शुक्रबार राष्ट्रिय टेलिभिजनमा आफूलाई समस्याग्रस्त पश्चिम अफ्रिकी देशको प्रमुख घोषणा गरेका थिए ।

अफ्रिकाको साहेल क्षेत्रमा भएको पछिल्लो ‘कू’ मा राष्ट्रपतिको सुरक्षा गार्डले लोकतान्त्रिक विधिबाट निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिएको थियो र उनलाई बुधबार राजधानी नियामीस्थित उनको सरकारी निवासमा थुनेको थियो ।

छिमेकी मुलुक माली र बुर्किना फासोले पनि सन् २०२० देखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूको लामो समयदेखि चलेको विद्रोहविरुद्ध लडिरहेका बेला दुई पटक सैन्य ‘कू’ गरेका छन् ।

‘ईयूले नाइजरका अधिकारीहरूलाई मान्यता दिँदैन,’ युरोपेली सङ्घका प्रमुख कूटनीतिज्ञ जोसेप बोरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भने, ‘सुरक्षा क्षेत्रमा हुने सबै सहयोग तत्काल प्रभावकारी हुनेगरी अनिश्चितकालका लागि स्थगन गरिएको छ ।नाइजरका वैध राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न र उनी र उनको परिवारको सुरक्षाका लागि ‘कू’ मा सहभागी सैनिक नेताहरूलाई जिम्मेवार ठहर्‍याउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बोरेलले पश्चिम अफ्रिकाको क्षेत्रीय ब्लकले लिने भावी निर्णयलाई समर्थन गर्न ईयू तयार रहेको बताएका छन् ।

नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक समुदायका नेताहरूले आइतबार अबुजामा बैठक गर्ने बताएका छन् ।

भारतमा बाघको सङ्ख्या तीन हजार ६०० नाघ्यो
भारतमा बाघको सङ्ख्या तीन हजार ६०० नाघेको अनुमान गरिएको छ ।

कुनै बेला मध्य, पूर्वी र दक्षिणी एसियामा बाघको अत्यधिक चहलपहल हुने गरेपनि पछिल्लो शताब्दीमा बाघले आफ्नो ऐतिहासिक दायराको करिब ९५ प्रतिशत हिस्सा गुमाइसकेको छ ।

भारतमा हाल विश्वका ७५ प्रतिशत बाघ रहेका छन् र क्यामेरामा आधारित सर्वेक्षणपछि अप्रिलमा बाघको सङ्ख्या बढेर तीन हजार १६७ पुगेको भारतले घोषणा गरेको छ ।

वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियाले गरेको सोही सर्वेक्षणको तथ्याङ्कलाई थप विश्लेषण गर्दा देशभर बाघको औसत सङ्ख्या तीन हजार ६८२ रहेको अनुमान गरिएको सरकारले जनाएको छ ।

यो आँकडाले वार्षिक ६।१ प्रतिशतको प्रशंसनीय वार्षिक वृद्धिदर लाई प्रतिबिम्बित गरेको छ ।

बाघको वासस्थान र करिडोरको संरक्षणका लागि भएका प्रयासलाई भारतको आगामी पुस्ताका लागि बाघ र उनीहरूको पारिस्थितिकीय प्रणालीको भविष्य सुरक्षित गर्न महत्वपूर्ण मानिएको छ ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको सङ्ख्या करिब ४० हजार रहेको अनुमान गरिएको थियो ।

त्यसपछिका दशकहरूमा यो सङ्ख्या घटेर सन् २००२ मा तीन हजार ७०० मा झरेको थियो र त्यसको चार वर्षपछि यो सङ्ख्या एक हजार ४११ मा झरेको थियो ।

वन फँडानी, चोरी सिकारी र बासस्थानमाथिको मानवीय अतिक्रमणले एसियाभरि बाघको सङ्ख्यालाई तहसनहस पारेको छ ।

‘जनसहभागिता’ र देशको ‘संरक्षणको संस्कृति’ को कारण भारतले बाघको सङ्ख्या बढाउन सफल भएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले गत अप्रिलमा बताएका थिए ।

अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता
सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ ।

प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ ।

क्विन्सल्याण्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकप्टरका धेरै भग्नावशेष फेला पारेको तथा चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् ।

क्विन्सल्याण्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका तीस हजारभन्दा बढी सैनिक सहभागी छन् । शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ ।

महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना, छ जनाको मृत्यु
शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

अल कायदाले जम्मु कश्मीरलगायतमा आक्रामण गर्नसक्छ : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीरलगायत बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ ।

आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर अलकायदाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको सुरक्षा परिषद्को अनुमान छ ।

परिषद्को रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका दुई सय लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन् । सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन् ।

यसपछि अलकायदाले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो । राष्ट्रसंघको रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन् ।

अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता
अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रस्थित ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको बीबीसीले जनाएको छ । अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मर्ल्सले तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको जानकारी दिए । रक्षामन्त्री मर्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो ।

दुर्घटनापछि ‘अपरेशन तालिजमान साब्रे स्थगित गरिएको छ । रिपोर्टका अनुसार तालिजम्यान साब्रेको समयमा अमेरिकी मरीन र अस्ट्रेलियाली सैनिकहरू ह्वाइट सन्डेमा सँगै अभ्यास गरिरहेका थिए।

अमेरिका, फ्रान्स र अष्ट्रेलियालगायत १३ देशको तालिजमान साब्रे’मा करिब ३० हजार सैनिक सहभागी छन् । पपुवा न्युगिनी, फिजी र टोंगा पहिलो पटक सहभागी हुँदैछन् ।

श्रीलंकामा सामूहिक चिहानको अनुसन्धान गर्न माग
श्रीलंकाका धेरै क्षेत्रमा सामुहिक चिहानमा दर्जनौं पुरुषको कंकाल फेला परेका छन् । सो घटना पछि ती कंकालको छानबिनको माग सुरु भएको थियो, यो विषय अझै सकिएको छैन ।

श्रीलंकाको तमिल बहुसंख्यक उत्तरी र पूर्वी क्षेत्रहरूले शुक्रबार आन्दोलन गरिएको थियो । श्रीलंकाका अल्पसंख्यक समुदाय तमिलहरूले उत्तरपूर्वी जिल्ला मुल्लाथिभुमा भएको कथित सामूहिक चिहानको विश्वसनीय अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका हुन् ।

सो क्रममा जाफ्ना, किलिनोच्ची, मन्नार र मुल्लाथिवुको उत्तरी र पूर्वी क्षेत्रका अन्य द्वन्द्वमा बेपत्ता भएकाहरूका आफन्तहरूले व्यापार बन्द गरेर तथा घरभित्रै बसेर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए । जाफ्ना विश्वविद्यालयको संयुक्त विद्यार्थी युनियनले एक विज्ञप्तिमा बन्दको आह्वान गरेको थियो ।

एक मिडिया रिपोर्ट अनुसार २००९ मा श्रीलंकाको सेना र पृथकतावादी तमिल टाइगर्सबीच २६ वर्षको गृहयुद्ध समाप्त भएको थियो, जसमा १ लाख मानिसको ज्यान गएको थियो भने श्रीलंकाको सरकारी तथ्याङ्क अनुसार २० हजार भन्दा बढी अझै बेपत्ता रहेका छन्।

गत जुनमा यस क्षेत्रमा विकास परियोजनाको लागि उत्खनन गतिविधिहरूको क्रममा राष्ट्रिय पानी बोर्डका कार्यकर्ताहरूले कोक्कुथुडुवईमा संयोगवश एउटा कथित सामूहिक चिहान फेला पारेको थिए । जुलाई ६ मा मुल्लैतिवु मजिस्ट्रेटको अदालतले कथित सामूहिक चिहान खन्ने कामको निरीक्षणसमेत गरेको थियो ।

तमिल राजनीतिक दलका प्रतिनिधिहरूले त्यहाँ कम्तीमा १३ जनाको मानव अवशेष फेला पारेको बताएका छन् । पृथकतावादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिका आफन्तले चिहानको अन्तर्राष्ट्रिय अनुसन्धानको माग गर्दै आएका छन् ।

यसअघि एक रिपोर्टले पत्ता नलागेका यी अज्ञात सामूहिक चिहानहरूमा अझै हजारौं शव गाडिएको हुनसक्ने बताएको थियो। श्रीलंका सरकारले गठन गरेका धेरै छानबिन आयोगहरू मध्ये कुनैले पनि सामूहिक चिहानको छानबिन गर्न आदेश दिएका छैनन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ५९ बजे

समुद्रमा ६० लाख ‘स्टारफिस’ मारिएपछि वैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्यो नयाँ ब्याक्टेरिया

काठमाडौं- सन् २०१३ मा उत्तरी अमेरिकाको प्रशान्त तटमा एउटा अनौठो

धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष ढकाल नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष

एनपी साउदले भने- इन्टेलिजेन्स विधेयकले व्यक्तिको गोपनीयताको हक खण्डित गर्छ

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको मस्यौदाअनुसार

नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध

काठमाडौं – नायिका नीता ढुङ्गानको निर्देशनमा बन्ने भनिएको फिल्मको शीर्ष

प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो 

काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय