मनाइयो विश्व बाघ दिवस | Khabarhub Khabarhub

मनाइयो विश्व बाघ दिवस


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ललितपुर – विश्वमा बाघको संरक्षणलाई विशेष महत्त्व दिँदै आज बाघ दिवस मनाइएको छ । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले चिडियाखानामा रहेका बाघलाई आहारा खुवाएर कार्यक्रम सुरुआत गरे ।

सदर चिडियाखानामा आयोजित कार्यक्रममा मन्त्री महतोले भने, “सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने १३ देशले प्रतिबद्घता व्यक्त गरेकामा नेपालले अहिले तेब्बर बनाएको छ । यो विश्वमा गौरवको विषय भएको छ ।” उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती थपिएको छ । बासस्थान व्यवस्थापन, आहार प्रजाति संरक्षण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जलवायु परिवर्तन, सीमावर्ती क्षेत्रमा व्यवस्थापन सुधारलगायतका विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय देखिएको नयाँ रोगका कारण जनावर संरक्षणमा चुनौती थपिएको बताउँदै उनले भने, “अहिले हाम्रो सामुन्ने मुख्य चुनौती लम्पी स्किन रोग हो । यो रोग जङ्गलका वन्यजन्तुमा सर्यो भने घाँस खाने जनावर सखाप हुनेछन् । यसमा नेपाल सरकारलगायत संरक्षण सङ्घसंस्थाले छिटो ध्यान दिन जरुरी छ ।”

सो अवसरमा बाघ संरक्षण, व्यवस्थापनमा देखिएका चुनौतीलाई व्यवस्थापन गर्ने गरी सन् २०२३ देखि २०३२ सम्मका लागि तय गरिएको ‘बाघ संरक्षण कार्यनीति योजना’ समेत मन्त्री महतोले सार्वजनिक गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीले बाघको आहारा संरक्षण, वन क्षेत्र वरपरका समुदायको जीवनस्तर उकास्ने र मानिसको आनीबानी परिवर्तनका विषयसमेत समेटेर तयार पारिएको योजना कार्यान्वयन गरिने विश्वास दिलाए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यसै आर्थिक वर्षभित्र ज्येष्ठ नागरिक र अपाङ्गताका लागि १५ सिटको बस व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरको सूर्यविनायकमा सदर चिडियाखानालाई नसार्न वनमन्त्रीलाई आग्रह गरे ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा सदर चिडियाखानाले प्रमुख महर्जनलाई कोभिडको समयमा उत्कृष्ट वन्यजन्तु संरक्षणमा सहयोग गरेवापत सम्मान गर्यो । सन् २०२२ का तथ्याङ्कानुसार नेपालमा तीन सय ५५ वटा बाघ छन् । सन् २०१० मा रुसको बाघ सम्मेलनले हरेक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवस मनाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ५७ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ