अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

October 29, 2023

आज कार्तिक १२,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जी-७ का व्यापारमन्त्रीद्वारा मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी(७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ ।

जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित खाद्यान्न ढुवानीको अनुमति दिने सम्झौताबाट बाहिरिएपछि ‘युक्रेनी खाद्यान्न निर्यात पूर्वाधार ध्वस्त पारेको’ भन्दै आलोचना गरेको थियो ।

कुनै पनि देशको नाम नलिइकन जी–७ को वक्तव्यमा ‘आर्थिक निर्भरतालाई हतियार बनाउने कार्य’ र ’महत्वपूर्ण खनिजपदार्थमा हालैको निर्यात नियन्त्रणका उपायहरूप्रति चिन्ता व्यक्त गरिएको’ पनि उल्लेख गरिएको छ ।

चीनले अन्य देशलाई राजनीतिक रूपमा दबाब दिन व्यापार प्रतिबन्धहरू प्रयोग गरेको आरोप लगाइएको छ । चीनले हालै केही प्रकारका विद्युतीय वाहन ब्याट्रीहरू बनाउनको लागि महत्वपूर्ण मानिने ग्रेफाइटमा निर्यातमा प्रतिबन्धहरू लगाएको छ ।

अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० मा चीनको कामलाई सुस्त बनाउने प्रयासमा उच्च प्रविधियुक्त माइक्रोचिप्सको आप्रर्तिमा नयाँ प्रतिबन्ध लगाएको केही दिनपछि यो कदम चालिएको हो ।

टोकियोले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधित फोहोर पानी छोड्न सुरु गरेदेखि नै चीन र रूसले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्धप्रति अर्को स्पष्ट संकेत गर्दै जी–७ राष्ट्रहरूले कुनै पनि प्रतिबन्ध ‘विज्ञानमा आधारित र विश्व व्यापार संगठन ९डब्ल्यूटीओ० र अन्य अन्तर्राष्ट्रिय नियमअनुसार मात्र लागू हुनुपर्ने’ बताएका छन् ।

उक्त पत्रमा मध्यपूर्वको बारेमा कुनै प्रत्यक्ष उल्लेख गरिएको छैन । तर जापानको ओसाकामा भएको बैठकको सह–अध्यक्षता गरेका जापानका विदेशमन्त्री योको कामिकावाले इजरायल र प्यालेस्टाइनको पछिल्लो अवस्थाका कारण अनिश्चितता अझै बढ्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

जी–७ मा वर्तमान अध्यक्ष जापान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, बेलायत र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घ रहेका छन् । सन् २०१४ सम्म यसले रूसलाई सदस्यका रूपमा समेटेको थियो ।

ओसाकामा भएको वार्तामा भारत, अस्ट्रेलिया, चिली, केन्या र इन्डोनेसियालगायत अन्य देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था र निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।

खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु, कजाकस्तान शोकमा आर्सेलरमित्तलको एक खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु भएपछि कजाकस्तानमा आइतबार राष्ट्रव्यापी शोक दिवसको घोषणा गरिएको छ । केही वर्षमा भएको यो सबैभन्दा ठूलो विपत्ति भएको बताइएको छ ।

आपतकालीन मन्त्रालयले स्थानीय समयअनुसार बिहान ११ बजे भनेको छ, ‘खानीमा ३६ जनाको शव पाइएको छ र अन्य १० कामदारको अहिले पनि खोजी भइरहेको छ ।’

खानीमा भेन्टिलेसनको कमी र शनिबार भएको विस्फोटको शक्तिका कारण राति हुनुभन्दा अघि नै उद्धारकर्मीहरूले उनीहरूलाई जीवितै पाउने सम्भावना ‘अत्यन्त कम’ रहेको चेतावनी दिएका थिए । विस्फोटको आवाज दुई किलोमिटरसम्म फैलिएको थियो ।

कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले शनिबार घटनास्थल पुगेर आर्सेलरमित्तलसँगको सहयोग ‘अन्त्य गर्ने’ आदेश दिए। कारागान्दा खानीमा पीडितहरूका आफन्तसँग कुराकानी गर्दै उनले भने, ‘आर्सेलरमित्तल सरकारसँग सहयोगका मामिलामा कजाकस्तानको इतिहासमा सबैभन्दा खराब उद्यम हो ।’

प्रधानमन्त्री अलिखान स्माइलोभले भने, ‘कजाक सरकार र स्टिल कम्पनी आर्सेलरमित्तलले कजाकस्तान गणतन्त्रको पक्षमा कम्पनीको स्वामित्व हस्तान्तरण गर्नका लागि एउटा प्रारम्भिक सम्झौताको घोषणा गरेका छन् ।’

आर्सेलरमित्तलले भनेको छ, ‘दुई पक्षले कजाकस्तान गणतन्त्रमा स्वामित्व हस्तान्तरण गर्ने लेनदेनका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको आर्सेलरमित्तल पुष्टि गर्दछ, यो लेनदेनलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिन कम्पनी प्रतिबद्ध छ ।’

राष्ट्रपति तोकायेभले राष्ट्रिय शोकको घोषणा गरेपछि आइतबार राष्ट्रिय झन्डा आधा झुकाइएको थियो । सन् १९९१ मा सोभियत सङ्घको पतनपछि कजाकस्तानमा करिब दुई सय जनाको मृत्यु भएको छ । अधिकांश मृत्युका घटना आर्सेलरमित्तलका खानीमा भएका छन् ।

भारतमा प्रार्थना सभामा बम विस्फोट हुँदा एक जनाको मृत्यु भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ ।

कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भयो । अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो ।

अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए ।

बाइडेन-सि भेटघाटको बाटो ‘सहज’ छैन : चिनियाँ विदेशमन्त्री वाङ वासिङ्टनको दुर्लभ भ्रमण पूरा गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज थिएन’ भनेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गरे । शुक्रबार दुवै पक्ष आगामी महिना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत भएका थिए ।

दुवै शक्तिबीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग ९एपीईसी० शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन् । अमेरिका जाने बारेमा राष्ट्रपति सिले अहिलेसम्म पुष्टि गरेका छैनन् ।

सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले शनिबार वासिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भने, ‘दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्र प्रमुखबीच सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।’

सिन्ह्वाका अनुसार वाङले चेतावनी दिँदै भने, ‘सान फ्रान्सिस्को मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’ का भरमा छोड्न सकिँदैन ।’ सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सिबीच कुनै सम्पर्क भएको छैन ।

दुवै मुलुक एसिया–प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको र बेइजिङले अमेरिकी प्रभुत्वलाई कम गर्न रुससँग सहयोग बढाइरहेकाले विश्वका दुई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षौँदेखि सम्बन्ध तनावपूर्ण रहेको छ ।

सिन्ह्वाका अनुसार वाङले शनिबार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताएका थिए ।

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ बङ्गलादेशका प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का नेता मिर्जा फखरुल इस्लाम आलमगिर पक्राउ परेका छन् । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उनलाई पक्राउ गरिएको हो ।

(बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् ।’ अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनिन्, ‘उनलाई प्रहरीले हिरासतमा राखेको छ ।’

ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताएका छन् । बीएनपीका अध्यक्ष तथा दुई पटक प्रधानमन्त्री बनेकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएका छन् । सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएका छन् ।

प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात(ए(इस्लामीले शनिबार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताएका छन् । साथै आगामी जनवरीमा हुने आम निर्वाचनभन्दा अघि भएको उक्त विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ ।

बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए ।

बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन्। उनले कूल गार्हस्थ्य उत्पादनको मामिलामा बङ्गलादेशमा तीव्रताका साथ आर्थिक विकास गरेका छन् तर मुद्रास्फीति बढेको छ । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।

हिंसाको विरोधमा बीएनपी र जमात–ए–इस्लामी दुवै पार्टीले आइतबार देशव्यापी हडतालको आह्वान गरेका छन् । आइतबार राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ र हजारौँ प्रहरी र अर्धसैनिक सीमा सुरक्षा फौजले बङ्गलादेशको सडकहरूमा गस्ती गरिरहेका छन् ।