देश/प्रदेश

बन्धकलाई अविलम्ब रिहा गर्न महासचिव गुटेरेसको आह्वान

By खबरहब

October 29, 2023

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन” लेखेका छन् ।

नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो ।