देश/प्रदेश

हाँडीगाउँमा चोक्काथुनारायण जात्रा सुरु

By खबरहब

October 29, 2023

काठमाडौँ – काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायण जात्रा आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ । तीन नारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा देशका अन्य स्थान र जात्राको भन्दा फरक छ ।

अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कही नभएको जात्रा भन्ने गरिएको हो । जात्राका क्रममा आइतबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको हो ।

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो ।