कोरला नाका : सुरक्षा चुनौतीबीच नेपाललाई अवसर | Khabarhub Khabarhub

कोरला नाका : सुरक्षा चुनौतीबीच नेपाललाई अवसर



काठमाडौँ – ‘नेपाललाई चीनसँग जोड्ने कोरला नाका खुलेपछि हामीलाई बल्ल दसैँ आएजस्तो भएको छ,’ औपचारिक रुपमै नाका खुलेपछि सबैभन्दा नजिक मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले टेलिफोनमा खुशी साट्दै खबरहबसँग भने, ‘अब सजिलै सस्तो सामान पाइने, ल्याउन मिल्ने र आफ्नो सामान पनि बेच्न मिल्ने भयो। नत्र त हामीलाई दसैँ तिहार लगायत चाडपर्व मनाउनै हम्मे-हम्मे हुन्थ्यो।’

अध्यक्ष गुरुङकै शब्दमा कोरला नाका उपल्लो मुस्ताङबासीको सबैभन्दा ठूलो राहत र उपलब्धि दिने बोर्डर थियो, जुन कात्तिक २७ देखि औपचारिक रुपमै भव्य कार्यक्रम गरेर सञ्चालनमा आएको छ।
यसअघि पोखरा र सदरमुकाम जोमसोमदेखि महंगो भाडा तिरेर आफ्नो गाउँपालिकाका नागरिक तथा सेवाग्राहीले सामान ल्याउने र लैजाने गर्दा ठूलै मूल्य चुकाउनुपरेको उनको भनाइ थियो।

एकातिर महंगोमा सामान खरिद गर्नुपर्ने र अर्कोतिर वर्षा, अत्यधिक चिसो समयमा हिउँ पर्दा बाटो बन्द हुँदा महिनौसम्म नाकाबन्दीजस्तै अवस्था व्यहोर्नुपर्ने बाध्यता उपल्लो मुस्ताङबासीलाई थियो।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष भन्छन्, ‘अब सजिलै सस्तो सामान पाइने, ल्याउन मिल्ने र आफ्नो सामान पनि बेच्न मिल्ने भयो। नत्र त हामीलाई दसैँ तिहार लगायत चाडपर्व मनाउनै हम्मे-हम्मे हुन्थ्यो।’

कोरला नाकाले तत्कालका लागि त्यो समस्याबाट लोमान्थाङ लगायत उपल्लो मुस्ताङबासीलाई पार लगाएको छ। तर यसको दीर्घकालीन सञ्चालन र संरचनाका बारेमा भने शंका नै छ।

‘यो नाका फेरि खोल्न यति वर्ष लगाउनुपर्ने थिएन। तर केन्द्रीय नेता र सरकारको नेतृत्व गर्नेले बुझिदिएनन्’ अध्यक्ष गुरुङले यतिका वर्षको पीडा पोख्दै भने, ‘अहिले प्रधानमन्त्रीको चीन भ्रमणलगत्तै नाका त खुल्यो। तर फेरि बन्द हुँदैन भन्न सकिन्न। चीनतिर भव्य संरचना र कार्यालय छन्। नेपालतिर केही पनि छैन।’

कोरला नाका २०७६ सालदेखि बन्द रहेको थियो। २००३ सालदेखि नै वर्षमा दुईपटक खोल्ने सहमतिअनुसार नाका खुल्ने गरेको भए पनि पछिल्लो चार वर्षयता भने सुनसान थियो।

राजनीतिक र प्रशासनिक नेतृत्वले प्रभावकारी पहलकदमी नगर्दा नागरिकले सास्ती पाइरहेका थिए। तर, अब सँधैका लागि नाका खोलिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

‘नाका भन्ने कुरा संवेदनशील हुन्छ। सुरक्षाका कारणले पनि नाकाको विषयमा तत्कालै निर्णय र पहल गर्न गाह्रो थियो। प्रधानमन्त्रीको चीन भ्रमणले गर्दा कोरला नाका खोल्न सहज भएको हो। आशा छ, अब यो दीर्घकालीनरुपमै जान्छ होला’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले खबरहबसँग भने।

कोरला नाकाले सबैभन्दा ठूलो राहत मुस्ताङसँगै पोखराका व्यवसायीलाई पनि भएको छ। अहिले भारतीय र चिनियाँ सामान काठमाडौँबाटै मगाउनुपर्ने बाध्यता पोखराका व्यापारीलाई छ।

रसुवा नाकाबाट महंगोमा चिनियाँ सामान आयात गरेर बिक्री गरिरहेका पोखराका व्यवसायीलाई अब कोरला नाकाबाटै सामान ल्याएर छिटो र केही सस्तोमा व्यापार गर्न मिल्ने भएको छ।

कोरला नाका २०७६ सालदेखि बन्द रहेको थियो। २००३ सालदेखि नै वर्षमा दुईपटक खोल्ने सहमतिअनुसार नाका खुल्ने गरेको भए पनि पछिल्लो चार वर्षयता भने सुनसान थियो।

कोरला नाकाको दीर्घकालीन फाइदा देखेरै यो नाका खुला गर्न आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री दीपेन्द्र थापा र पोखरा महानगरपालिकाका मेयर धनराज गुरुङ पनि पुगेका थिए।

सुरक्षा र संवेदनशीलता दुवैलाई ख्याल गरेर गण्डकी प्रदेश सरकारले पनि अब आवश्यक समन्वय र व्यापारिक साझेदारी बढाउने गरि उद्योग तथा पर्यटनमन्त्री थापा जम्बो टिम लिएर कोरला नाका पुगेका थिए।

कूटनीतिक चुनौतीबीच नाका खुले पनि दीर्घकालीन बनाउन सबैको सहकार्य आवश्यक देखिन्छ। यो समस्या वर्षौदेखि देखिए पनि पहलकदमी गर्न भने तीन तहकै सरकार उदासीन रहेको यथार्थ अहिले पनि कायमै रहेको मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन बताउँछन्।

‘मैले चुनाव जितेपछि यसलाई प्रमुख एजेन्डा बनाएर लबिङ गरिरहेको थिएँ। बल्ल नाका खुल्यो। अब मुस्ताङबासीलाई सहज हुन्छ’ उनले खबरहबसँग भने, ‘नाका खुलेपछि सञ्चालनका लागि आवश्यक प्रक्रिया र संरचना चाहिन्छ। त्यो नहुँदा चीनले फेरि बन्द गर्छ कि भन्ने शंका छ। त्यसतर्फ तीन तहकै सरकारले अब काम गर्नुपर्छ।’

रसुवा नाकाबाट महंगोमा चिनियाँ सामान आयात गरेर बिक्री गरिरहेका पोखराका व्यवसायीलाई अब कोरला नाकाबाटै सामान ल्याएर छिटो र केही सस्तोमा व्यापार गर्न मिल्ने भएको छ।

पर्यटनका लागि नयाँ अवसर
कोरला नाकाले नेपालको पर्यटन क्षेत्रलाई नयाँ सम्भावनाका रुपमा अगाडि सारेको छ। पहिलो, कोरला नाकाबाट कैलाश मानसरोवर जाने भारतीय पर्यटक उल्लेख्य रुपमा बढ्न सक्छन्।

दोस्रो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी सञ्चालन गर्न बाटो दिन्छ। मानसरोवर जाने पर्यटक अहिले नेपालगञ्ज, हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर जाने गरेका छन्। जुन निकै महंगो छ।

खासगरी नेपालगञ्जबाट हुम्लाको सिमकोटमा हवाई टिकट र सिमकोटबाट हेलिकोप्टर चार्टर्ड गरेर कैलाश मानसरोवर जान महंगो रकम खर्चिनुपर्छ।

अब कोरला नाका खुलेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरेर सहजै गाडीमार्फत नै चीन भएर कैलाश मानसरोवर जान सकिन्छ। अहिले गाडीमार्फत कैलाश जानेहरु कि दार्चुला भएर जाने गरेका छन्, कि रसुवाको धुन्चे नाकाबाट चीन भएर जाने गरेका छन्। जुन प्रक्रियागत र प्रशासनिक झन्झटका कारण भारतीय पर्यटकलाई ठूलो सास्ती हुने गरेको छ।

पोखरा पुग्ने र पोखराबाट मुस्ताङ हुँदै कोरला नाका भएर कैलाश मानसरोवर जाने पर्यटकलाई यो बाटो सहज हुन्छ।
‘विदेशबाट नेपालको एडभेन्चर यात्रा गर्न रुचाउने भारतीय र विदेशी पर्यटक मुस्ताङ आउँछन्। अब यहाँकै बाटो भएर कोरला नाका हुँदै कैलाश जान सजिलो हुने हुँदा पर्यटक बढ्ने सम्भावना छ। तर फेरि कुरा संरचनाकै आउँछ। त्यसमा सरकारले ध्यान दिनुपर्छ,’ संघीय सांसद गौचनले भने।

अहिले पोखरादेखि भारतका विभिन्न सहरमा उडान गर्न बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतसँग अनुमति मागिरहेको छ। खासगरी भारतका विभिन्न सहरदेखि पोखरा आउने पर्यटकलाई सहज रुपमा सेवा दिन बुद्ध एयरले यो तयारी थाले पनि उडान अनुमति नपाउँदा रोकिएको छ।

अब कोरला नाका खुलेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरेर सहजै गाडीमार्फत नै चीन भएर कैलाश मानसरोवर जान सकिन्छ। अहिले प्रक्रियागत र प्रशासनिक झन्झटका कारण भारतीय पर्यटकलाई ठूलो सास्ती हुने गरेको छ।

कोरला नाकाले गर्दा बुद्ध एयरसँगै भारतीय र चिनियाँ जहाज पनि सहजै रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने नयाँ सम्भावना खुलेको छ। तर, समन्वय कसरी हुन्छ ? त्यो सरकारी तथा निजी क्षेत्रका नेतृत्वमा भरपर्छ।

सुरक्षा चुनौतीकै डर
नेपालको व्यापारिक मार्ग पनि बढ्ने र चीन तथा भारत दुवैलाई फाइदा हुने भए पनि सुरक्षा चुनौतीका कारण मुस्ताङको कोरला नाका खुल्ने र बन्द हुँदै आएको थियो। २०१७ सालमा चर्केको खम्पा विद्रोहका कारण कोरला नाकालाई संवेदनशील मान्दै कडाइ गरिएको थियो।

व्यापारिक फाइदालाई हेरेर २०२७ सालमा भन्सार कार्यालय खोलेर नाकाबाट आवत-जावतलाई व्यवस्थित गरिएको थियो। तर, चीन र भारतीय सुरक्षा चिन्ता र शंकाका कारण यसलाई दीर्घकालीन रुपमा खोलिएन।

चीन सरकार नेपाल र भारतमा बढ्दै गएको तिब्बत विरोधी गतिविधिका कारण चिन्तित थियो। स्वतन्त्र तिब्बतको अभियान चलाएका दलाई लामामार्फत अन्य तिब्बती नेता पनि भारत गएपछि चीन कोरला नाकालाई कडाइ र व्यवस्थित गर्न चाहन्थ्यो। तर, नेपालतर्फ आवश्यक संरचना र सुरक्षा प्रक्रिया प्रभावकारी नभएपछि नाका खुलाउन चिनियाँ पक्ष हच्किँदै आएको थियो।

व्यापारिक फाइदालाई हेरेर २०२७ सालमा भन्सार कार्यालय खोलेर नाकाबाट आवत-जावतलाई व्यवस्थित गरिएको थियो। तर, चीन र भारतीय सुरक्षा चिन्ता र शंकाका कारण यसलाई दीर्घकालीन रुपमा खोलिएन।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणले कोरला नाका खोल्ने सहमतिका कारण तत्काल यो उपलब्धि देखिए पनि यो दीर्घकालीन रहन्छ भन्नेमा आशंका छ।

‘हामीलाई अहिले पनि डर भनेको नाका फेरि बन्द हुन्छ कि भन्ने हो’ सांसद गौचन भन्छन्, ‘हरेकपटक प्रधानमन्त्रीले भ्रमण गरेर नाका खुलाउन गाह्रै हुन्छ। मुख्य कुरा सिस्टम र सेक्युरिटी हो। जुन संरचनाअनुसार चल्नुपर्छ, त्यो नै नभएपछि चीन र भारतको प्रतिस्पर्धा र आशंकाले गर्दा फेरि नाका बन्द हुन्छ कि भन्ने डर रहन्छ नै।’

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ९ : १८ बजे

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित