मधेस प्रदेशमा एसइईको सम्पूर्ण तयारी पूरा « Khabarhub

मधेस प्रदेशमा एसइईको सम्पूर्ण तयारी पूरा


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो ।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले विगत दुई आर्थिक वर्षमा कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आठवटै जिल्लामा तयारी पूरा भएको र विद्यार्थीको सहभागिता उत्साहपूर्ण रहने अपेक्षा गरिएको बताए ।

“मधेस प्रदेशमा विगतमा एसइई परीक्षालाई लिएर अनेकन टीकाटिप्पणी हुने गरेका छन् । त्यसैलाई मध्यनजर गरी परीक्षा मर्यादित, भयरहित र अनुशासित बनाउन सरकारले हरसम्भव प्रयास गर्नेछ”, मन्त्री यादवले भने, “आठ जिल्लाका शिक्षा समन्वय एकाइका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका पदाधिकारीसँग छलफल तथा समन्वय गरिएको छ । सबैलाई सचेतता र इमान्दारिपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेका छौँ ।” यसपालि अपुग अवस्थामा बाहेक प्रावि तहका शिक्षक–शिक्षिकालाई मात्र गार्ड राख्न निर्देशन दिइएको बताए ।

मधेस प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुँयालले पनि परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । “कर्मचारीको खटनपटन, उत्तरपुस्तिकाको उपलब्धता र व्यवस्थापनमा लाग्ने खर्चसहित सम्बन्धित केन्द्रमा गर्नुपर्ने सम्पूर्ण व्यवस्थापकीय कार्य पूरा भएको छ ।” अघिल्ला परीक्षाबाट सिक्दै यो पटक थप व्यवस्थित बनाउने काम भएको उनको भनाइ छ । परीक्षा पूर्वको तयारी पूरा भएको छ । परीक्षाको समय र त्यसपछि के गर्ने र कसरी गर्ने भन्ने विषयमा पनि योजनासहित तयारी अवस्थामा रहेको निर्देशक फुँयालले बताए ।

उनले गुणस्तरीय शिक्षाका लागि परीक्षा प्रणाली पनि भरपर्दो, मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने मान्यताअनुसार सहयोगका लागि सबै पक्षलाई आग्रह गरिएको समेत बताए । “यसपटक परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि निर्देशिका, ऐन, कानुनमा भएको व्यवस्था कार्यान्यन गर्न सबै पक्षलाई अपिल गरिएको छ”, उनले भने , “स्थानीय तहलाई अनुगमनमा सघाउन भनिएको छ । प्रदेश सरकारको तहबाट पाँचवटा अनुगमन टोली बनाएका छौँ ।”

मधेस प्रदेश, शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयका अनुसार यसपटक एसइई परीक्षामा प्रदेशभरका दुई सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, कुल दुई सय ७९ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, पाँच सय २८ सहायक केन्द्राध्यक्ष, सात सय ९६ परीक्षा सहायक, चार हजार ६९ निरीक्षक, एक हजार छ सय २८ कार्यालय सहयोगी गरी सात हजार पाँच सय ७९ कर्मचारी र तीनवटै सुरक्षा निकायबाट आवश्यक सङ्ख्यामा सुरक्षाकर्मीसमेत खटिने छन् ।

शिक्षा विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार एक सय ४६ र सबैभन्दा कम रौतहटका ३५ परीक्षा केन्द्रमा आठ हजार नौ सय ५७ परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी, सप्तरीका ३६ परीक्षा केन्द्रमा नौ हजार पाँच सय २७, सिरहाका ४० परीक्षा केन्द्रमा १० हजार एक सय ५०, महोत्तरीका ३१ परीक्षा केन्द्रमा नौ हजार ५४, सर्लाहीका ३७ परीक्षा केन्द्रमा १० हजार नौ सय १६, बाराका ३२ परीक्षा केन्द्रमा नौ हजार एक सय ७९ र पर्साका २५ परीक्षा केन्द्रमा नौ हजार एक सय ६५ परीक्षार्थी सहभागी हुने तथ्याङ्क छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ६ : २१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को