आज दिनभर प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेटवार्ता, निरा पाण्डेका हत्या आरोपी सार्वजनिक, उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, लघुवित्त पीडितको आमरण अनसन स्थगित, राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै, प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एसोसिएसनद्वारा आन्दोलन सुरुलगायतका समाचारले प्रमुख स्थान पाए ।
प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।
वैशाख १० को उपनिर्वाचनमार्फत चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा पुन: निर्वाचित लामिछाने पहिलोपटक प्रधानमन्त्री प्रचण्डलाघ भेट्न पुगेका हुन्।
आजको भेटमा सरकारमा सहभागी हुने नहुने विषयमा छलफल भएको बुझिएको छ। उपचुनावलगत्तै रविले पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन्।
रविले सरकारमा जाने सम्भावना नरहेको बताउँदै आइरहे पनि प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने मनस्थितिमा रहेका छन्।
निर्वाचित भएपछि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर बधाइ दिएका थिए।
निरा पाण्डेका हत्या आरोपी सार्वजनिक
काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संलग्न भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।
पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्न रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएर हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ ।
पाण्डेले लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा उनले हत्या गरेका हुन् । हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त बेचेको भेटिएको प्रहरीले जनाएको छ ।
सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ । आफूहरूसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ ।
सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरूलाई हतोत्साह गर्न नहुनेजस्ता माग राखेर गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उपप्रधानमन्त्री खड्काबीच आइतबार छलफल भएको हो ।
रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् ।
सरकारले चाँडै माग पूरा गर्नुपर्ने बताएका उनले अन्यथा आन्दोलन जारी रहने चेतावनी दिए । माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै उनले आइतबार बेलुकादेखि नै वार्ता हुने जानकारी दिए ।
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्।
जनकपुरधाममा मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन्। साथै उनले पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए।
सरकारले पीडकलाई कुन राजनीतिक दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले मिटरब्याजीलाई जोगाउन भूमिका खेल्यो भने उनीहरूलाई पनि कानुनी कारबाही गरेर पीडितलाई न्याय दिने बताए।
लघुवित्त पीडितको आमरण अनसन स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् ।
अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो ।
लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली मनिराम र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो ।
आज बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उनको निवास बालुवाटारमा भेटेका थिए ।
भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताएका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिए ।
पूर्वमा कार्यक्रम बिथोल्न खोज्नेलाई राज्यले नै संरक्षण गर्यो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताएका छन् ।
अखिल नेपाल किसान महासंघको ७३ औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले केही व्यक्तिले आफुस सहभागी कार्यक्रम रोक्ने प्रयास सत्ता गठबन्धनकै कार्यकर्ताबाट भएको र उक्त गतिविधि गर्नेलाई राज्यले नै संरक्षण गरेको बताएका हुन् ।
उनले नियोजित रुपमा नै आफ्नो कार्यक्रम बिथोल्ने प्रयास गरेको र उक्त क्रियाकलापमा संलग्न असामाजिक तत्त्वहरूको मनोबल उच्च देखिएको उल्लेख गरे । कार्यक्रममा ओलीले महाकाली सन्धिलाई एमालेले सच्चाएको भन्दै नेपालको हितमा रहेको बताए । उनले राजतन्त्र स्वार्थी फटाहा वा अज्ञानीहरूले मात्रै मान्ने टिप्पणी गरे ।
उनले धेरै अघिदेखि नै कम्युनिष्ट फुटाउने काम भएको भन्दै यसतर्फ सबै सचेत रहनुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई समेत बलियो बनाउनुपर्ने धारणा राखे कार्यक्रममा महासंघका पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो ।
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एसोसिएसनद्वारा आन्दोलन सुरु
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको छ ।
प्रधानन्यायाधीश नियुक्ति लगायतका मागहरू पुरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएपछि बारले आइतबारदेखि अर्को चरणको आन्दोलन सुरु गरेको हो ।
आफूहरूका मागका विषयमा प्रधानमन्त्री लगायत सरोकारवाला सबैलाई जानकारी गराए पनि पुरा नभएका कारण पुन आन्दोलन सुरु गर्नुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । घिमिरेले न्यायपालिका नेतृत्वविहीन भएको एक वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढेको भन्दै एक सातासम्म बार परिसरमा प्रदर्शन गर्ने जानकारी दिए । सांकेतिक रुपमा सुरु गरेको प्रदर्शन देशभरका न्यायलयमा हुने र प्रदर्शनका कारण सेवा प्रवाहलाई कुनै असर नपार्ने उनले बताए ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन भएको र न्यायपालिका प्रतिको जनआस्था खस्किँदो अवस्थामा पुगेको बारले जनाएको छ । न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा पनि सुनवाई हुन नसकेको बारको भनाइ छ ।
राष्ट्रपति पौडेल आज स्वदेश फर्किंदै
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किंदै छन् ।
राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति पौडेल आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किंदै छन् ।
उनी स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गतेदेखि भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत थिए। स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ ।
संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस
संघीय संसद् सचिवालयको रिक्त दुई सचिव पदमा पद्मप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डेय र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन् ।
प्रतिनिधिसभा सचिवमा नायब महान्यायाधिवक्ता पाण्डेय र राष्ट्रिय सभा सचिवमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालको कार्यकाल १५ वैशाखमा सकिएपछि रिक्त उक्त पदमा पाण्डेय र आचार्यको नाम सिफारिस गरिएको हो ।
अब राष्ट्रपतिले उनीहरूको नाम स्वीकृत गरेपछि नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। यसअघि शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।
आइतबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
वन्यजन्तुको आक्रमणबाट नौ महिनामा ९ जनाको मृत्यु
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।
जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो।
डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको उनले बताए। यस्तै चालु आवमा गम्भीर घाइते १२ जना, सामान्य घाइते १५ जना भएको उनले जानकारी दिए। उनका अनुसार पशुधन क्षति एक सय २३ वटा, भण्डारण गरिएको अन्नको क्षति छ पटक, घरगोठमा क्षति १७ वटा, अन्नबालीमा क्षति दुई सय ४० पटक भएको छ।
निकुञ्जले चालु आवमा क्षतिको राहतस्वरुप रु एक करोड ५० लाख ७१ हजार एक सय ११ रकम बुझाएको उनले बताए।
नेपालमा थप ६० कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
मन्त्रालयकाअनुसार आइतबार मात्रै ५५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।
पाठ्यपुस्तक अभाव भएमा सूचना दिन सरकारको आग्रह
नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयका विद्यार्थीले सहजरूपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यही वैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यमा माथिल्लो निकाय, सम्बन्धित निकाय र सञ्चार क्षेत्रबाट सकारात्मक सहयोग मिलेको जनाएको छ ।
मन्त्रालयका अनुसार यस शैक्षिक सत्रका लागि प्रक्षेपित कक्षा १ देखि ५ सम्म जम्मा २३ लाख ९२ हजार छ सय ३६ र कक्षा ६ देखि १० सम्म २० लाख ४६ हजार चार सय ५० का लागि आवश्यक पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी प्रेसबाट उत्पादन गराइएको छ । जनक शिक्षाबाट कक्षा ६ देखि १० सम्मका लागि एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रकबाट कक्षा १ देखि ५ सम्मका लागि एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न भएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मुख्यसचिव शङ्करदास वैरागी, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतबाट भएको निर्देशन र पहलका कारण यस वर्ष सहज रूपमा उत्पादन र बिक्री वितरण भएको बताए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उत्पादन क्षमतामा वृद्धि भएकाले आगामी वर्षका लागि पनि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक समयमै छपाइ र बिक्री वितरणका लागि तयार रहेको स्पष्ट गरे ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले परिवर्तन गरिएका पाठ्यक्रममा बाहिरी आवरण मात्रै परिवर्तन गरेर भित्री पृष्ठमा पुरानै विषयवस्तु हुबहु छापेर बिक्री गर्ने आठ्राई प्रकाशन र ओएसिस प्रकाशनलाई स्पष्टीकरण सोधिएको र कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक चूडामणि पौडेलले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदा भर्ना अभियानमा सहयोग पुगेको र भर्ना अभियानको समग्र अगुवाइ स्थानीय तहले गरिरहेको बताए ।
सर्पको टोकाइबाट बैतडीमा महिलाको मृत्यु
बैतडीमा सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ ।
पञ्चेश्वर गाउँपालिका २ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय वैद्यकहाँ लगिएको थियो । वैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक लुहारको शव पोस्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ।
प्रतिक्रिया