भूजीखोलामा निर्माणधीन मोटरेबल पुल अझै सम्पन्न भएन | Khabarhub Khabarhub

भूजीखोलामा निर्माणधीन मोटरेबल पुल अझै सम्पन्न भएन


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन् । हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् । खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि बर्खाको करिब चार महिना सास्ती हुने गरेको छ । बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ ।

जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ । केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ । बागलुङको ढोरपाटन नगरपालिका–६ का अधिकांश गाउँबाट बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन ।

सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार, छालहाल्न, खानीलगायतका ठाउँका नागरिकलाई सहजताका लागि वडा नं ६ को दोगाडीस्थित भूजीखोलामा तीन वर्ष अगाडि मोटरेबल पुल निर्माण गर्न थालिए पनि अहिलेसम्म सम्पन्न हुनसकेको छैन । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट निर्माण भइरहेको पुलले ग्रामीण जनजीवनमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माणका लागि विसं २०७७ असार १६ गते महादेव-खिम्ती-क्याराभान जेभीले निर्माण जिम्मा लिएको थियो ।

दुई वर्षमा सक्ने गरी सम्झौता भएको पुलको पहिलोपटक विसं २०७९ असार १० गते म्याद सकिएको थियो । समयमै काम नसकेपछि म्याद थप भएको छ । निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थप गरेको हो । 

पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सम्झौता भएको पुल निर्माणकार्य अहिले धमाधम भइरहेको इञ्जीनियर प्रकाश श्रीसले जानकारी दिए । पुल निर्माण अहिलेसम्म ६० प्रतिशतमात्रै सम्पन्न भएको उनको भनाइ छ । पुल चार करोड ८२ लाखमा बन्न थालेको हो । अहिले काम धमाधम भइरहे पनि म्याद सकिने बेलासम्म निर्माण सम्पन्न हुने सम्भावना निकै कम रहेको इन्जिनियर श्रीसले बताएका छन् ।

उनले भने, ‘कामदार पनि धेरै छन्, काम पनि तीव्रगतिमै भएको छ, तर अब म्याद सकिन धेरै समय छैन काम अलि बढी नै छ, सरसर काम भयो भने अझै छ महिना लाग्ने देखिन्छ, धेरै काम भए पनि मुख्य काम हुन बाँकी हुँदा समय धेरै लाग्छ, पहिला काम निरन्तर नहुँदा समस्या भएको हो, पहिलोपटकको म्याद सकिएपछि दोस्रो म्याद थपका लागि निवेदन दिने तयारी गरेको देखिन्छ ।’

ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायतका गाउँको मुख्य बजार बुर्तिबाङ हो । बुर्तिबाङ बजारबाट यी गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुईवटा पुल तर्नुपथ्र्यो । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । दोगाडीसम्म गाडीमा पुगेपछि अर्को परिवर्तन गर्नुपर्ने समस्या अहिलेको बर्खामा पनि यथावतै रहने भएको छ । बर्खा सुरु हुन थालेको तर पुलको काम सकिने छाँटकाँट नदेखिएको भन्दै यसपालिको बर्खामा पनि आफूहरूले गाडीमा सिधा यात्रा गर्न नपाउने स्थानीय दलबहादुर बुढामगरले गुनासो पोखे ।

सडक खुलेको वर्षौँ बितिसक्दा पनि स्थानीयले सहजरूपमा यात्रा गर्न नपाएको बुढामगरले बताए । सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्याउन निकै समस्या भइरहेको स्थानीय बुढामगरले बताए । सरोकारवाला निकायको मौनताले अहिलेसम्म पुल निर्माण हुन नसकेको उनले बताए ।

“यो पल बन्यो भने एउटा ठूलो भेगका हजारौँ मान्छे लाभान्वित हुनेछन्, पुलका कारण विकास निर्माणमा पनि समस्या भइरहेको छ, गाउँमा सडक पुगे पनि कयौँ वर्ष बर्खाको समय हिँडेर बजार पुग्नुपर्‍यो , नुनतेल, चामल पनि घोडा खच्चडमा ढुवानी गर्नुपर्यो”, बुढामगरले भने, ‘सबैभन्दा बढी समस्या त बिरामीलाई अस्पताल पुर्‍याउँदा हुँदोरहेछ, गाउँबाट पुल बन्न लागेको ठाउँसम्म गाडी आए पनि खोलापारि घण्टौँसम्म गाडी कुर्नुपर्ने बाध्यता छ, सहरबजारमा जस्तो गाडी चली राख्दैनन्, पुल बनेको हुन्थ्यो भने सिधै गाउँबाट अस्पताल पुग्न सकिने थियो ।’

ढोरपाटन- ६ का वडाध्यक्ष उमेशकुमार बुढामगरले अहिलेसम्म पुल नबन्दा यस क्षेत्रका दर्जनौँ गाउँका हजारौँ स्थानीय मारमा परेको बताए। पुलका कारण गाउँमा उत्पादन भएको वस्तुलाई बजारसम्म पुर्‍याउन र सामान आयात गर्न ठूलो समस्या भएको उनको भनाइ छ । पुल समयमै सम्पन्न गर्नका लागि सरोकारवाला निकायलाई आग्रह गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ३४ बजे

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

सप्तरी– नवरात्र सुरु भएसँगै सप्तरीका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको

भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज

काठमाडौं– भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने संयुक्त राष्ट्रसंघमा

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना

चाडपर्वको मदिरापानले महिला हिंसा बढ्यो, अधिकारकर्मी भन्छन्- श्रीमती कुट्नेलाई नछोडौँ

काठमाडौं – हिन्दुहरुको महान पर्व दशैंको नवरात्र चलिरहेको छ। खुसी

दशैँका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढ्दै

काठमाडौं– काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाख मानिस बाहिरिने