'वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ' | Khabarhub Khabarhub

‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

जानकी– ‘हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ’, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लागेका उनले भने, ‘पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।’

थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच-छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए । ‘एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्’, उनले भने , ‘घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू ।’

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउँछन् । ‘भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ’, उनले भने, ‘सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ ।’ वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ । 

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उनले मासिक १० हजार पाउँछन्। उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको १० हजारले घर चलाउन गाह्रो छ । ‘दश हजारले के नै हुन्छ र त्यैपनि मैले त आफ्नो जंगल हो भनेर काम गरिरहेको छु’, उनले भने, ‘पैसाभन्दा पनि जंगल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।’

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि । उनी ४० वर्षको भए। उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए । ‘वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ’, उनले भने, ‘यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।’

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ । ‘महिनाको जम्मा रु १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्छन् बाआमा । तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ’, उनले भने, ‘पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु । वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन् । उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु ।’  

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए । चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उनको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन् ।

विसं २०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बन्नुभएका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरु गरेका अजोद्धयाको मासिक तलब १५ हजार छ । वनको रेखदेख गरेवापत उहाँले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनले बताए। विसं २०७०÷७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ११ : १७ बजे

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजरबारे माओवादीनिकट चार जनसंगठनले भने, ‘अमानवीय र जनविरोधी’

काठमाडौं- भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाको

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

दाङ– पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री

ग्लोबल आइएमई बैंकले पायो ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अवार्ड

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’