‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’ « Khabarhub

‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

जानकी– ‘हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ’, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लागेका उनले भने, ‘पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।’

थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच-छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए । ‘एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्’, उनले भने , ‘घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू ।’

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउँछन् । ‘भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ’, उनले भने, ‘सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ ।’ वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ । 

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उनले मासिक १० हजार पाउँछन्। उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको १० हजारले घर चलाउन गाह्रो छ । ‘दश हजारले के नै हुन्छ र त्यैपनि मैले त आफ्नो जंगल हो भनेर काम गरिरहेको छु’, उनले भने, ‘पैसाभन्दा पनि जंगल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।’

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि । उनी ४० वर्षको भए। उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए । ‘वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ’, उनले भने, ‘यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।’

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ । ‘महिनाको जम्मा रु १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्छन् बाआमा । तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ’, उनले भने, ‘पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु । वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन् । उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु ।’  

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए । चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उनको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन् ।

विसं २०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बन्नुभएका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरु गरेका अजोद्धयाको मासिक तलब १५ हजार छ । वनको रेखदेख गरेवापत उहाँले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनले बताए। विसं २०७०÷७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ११ : १७ बजे

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान