विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज जेठ १६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ३०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जापानमा पाँच वर्षे कार्ययोजना लागू

जापान सरकारले मङ्गलबारबाट पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ ।

मन्त्रिपरिषदद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानून परिमार्जन गरिएको छ ।

योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक गर्मीयाममा वृद्ध र अपाङ्गता भएका व्यक्तिहरू लक्ष्यित विशेष योजना ल्याइने छ ।

विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू हुने गरेको पाइएको छ । घरभित्रै मृत्यु भएकामध्ये करिब ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कूल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन विभिन्न उपायहरू प्रवर्द्धन गर्न पनि सहयोग गर्ने बताएको छ ।

मुम्बई हमलाका सहयोगीको मृत्यु

सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैएबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ । पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो ।

सोमबार दिउँसो उनको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ । सन् २०१२ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भुटावीलाई आतङ्कवादी घोषणा गरेको थियो ।

त्यसको केही वर्षपछि आतङ्कवादलाई प्रश्रय दिनका साथै आतङ्कवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए ।

सन् २०२० को अगष्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । मङ्गलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैएबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ ।

मेक्सिकोमा बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु

उत्तरी मेक्सिकोस्थित राजमार्गमा सुरक्षाकर्मीमाथि बन्दुकधारीको समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

“सिभिल फोर्सका कर्मचारीलाई तीन वटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,” नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् ।

दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् । राजमार्गमा भएको उक्त आक्रमणमा लागूऔषध तस्करी गर्ने सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताइएको छ ।

नुएभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा नियमितजसो हिंसात्मक घटना हुँदै आएका छन् । सन् २००६ मा मेक्सिको सरकारले लागूऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा बढी हत्या, करिब एक लाख जबरजस्ती बेपत्ता पारिका घटना भएका छन् ।

सरकारले यस्ता घटनामा सङ्गठित अपराधमा संलग्न ग्याङको हात रहेको बताउने गरेको छ ।

इटालीमा डुङ्गा डुब्दा ४ जनाको मृत्यु

इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ ।

दुर्घटना आइतबार साँझ भएको हो । सोमबार अपराह्न अन्तिम शव निकालिएसँगै खोज तथा उद्धारका काम सकिएको अग्नि नियन्त्रण कार्यालयले बताएको छ ।

दुर्घटनाग्रस्त डुङ्गामा २४ जना पर्यटक थिए । आँधीबेहरीका कारण डुङ्गा पल्टिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हेलिकप्टर प्रयोग र गोतटाखोर परिचालन गरेर उद्धारका काम सम्पन्न गरिएको थियो । डुबेको डुङ्गा निकाल्ने प्रयास भइरहेको छ । चित्ताकर्षक म्यागियोर ताल इटाली र स्विजरल्याण्डको साझा पर्यटकीय गन्तव्य हो ।

भारतको जम्मुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतको जम्मु–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ५५ जना घाइते भएका छन् ।

शवलाई परीक्षणका निम्ति अस्पताल लगिएको छ ।सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन् । त्यहाँ उद्धारका काम पनि पूरा भएको छ । सबै घाइतेलाई अस्पताल पु¥याइएको छ ।

उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए । बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ ।

यसबारे अनुसन्धान गरिने एसएसपी कोहलीले बताए । बसमा बिहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

भारतको मणिपुरमा भएको पछिल्लो हिंसामा परी ५ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए । आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् । परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिए पनि सोही अवधिमा हिंसा र आगजनीका घटना भएका हुन् ।

गैरआदिवासी मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गरेकोमा आदिवासी विरोध प्रदर्शनको क्रममा यो महिनाको प्रारम्भमा राज्यका विभिन्न भागमा हिंसात्मक दङ्गा भएका थिए । स्थितिको मूल्याङ्कन गर्न सङ्घीय गृहमन्त्री अमित शाहको आजदेखि हुने चारदिने भ्रमणको पूर्वसन्ध्यामा दङ्गा भड्केको हो ।

नयाँदिल्लीस्थित समाचारप्रधान टेलिभिजन च्यानल एनडीटीभीका अनुसार जातीय झडपमा हालसम्म कम्तीमा ८० जनाको ज्यान गएको छ भने झन्डै तीन सय जना घाइते भएका छन् । एक हजार सात सय घर खरानी भएका छन् ।

अफगानिस्तानमा विद्युतीय धरापमा परी तीन बालबालिकाको मृत्यु

अफगानिस्तानको वार्दाक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।

विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको तालिबान नेतृत्वको सरकारका एक जना अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ । एक जना बालक घाइते भएका छन् ।

अफगानिस्तानमा युद्धकालमा बिछ्याइएका विद्युतीय धराप पहिचान गरी तिनलाई निष्क्रिय तुल्याउन गत नोभेम्बरदेखि अष्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, स्वीडेन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय, राष्ट्रसङ्घीय आपत्कालीन प्रतिकार्य कोष लागेका छन् ।

यसअघि अफगानिस्तानको नान्गाहार क्षेत्रमा पनि यस्तै घटनामा दुई दिदीबहिनीको मृत्यु भएको थियो । दक्षिणी प्रान्त कान्दाहारमा मे ९ मा भएको दोस्रो घटनामा एकै परिवारका तीन जना बालबालिकाले ज्यान गुमाएका थिए ।

पाकिस्तानमा पोखरीमा डुबेर ६ जना बालबालिकाको मृत्यु

पाकिस्तानको सिन्धमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई दाजुभाइसहित कम्तीमा छ बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ भने दुईजनालाई स्थानीय जनताले उद्धार गरेका छन् ।

खैरपुर जिल्लाको टाण्डो मस्ती खान क्षेत्र नजिक रहेको वारिस उजन गाउँको माछा पोखरीमा छ जना बालबालिका खेल्दै गर्दा एक बालक चिप्लिएर पोखरीमा खसेपछि साथीलाई बचाउने प्रयासमा पाँचै बालबालिकाले पानीमा हाम फालेका थिए । घटनामा दुई दिदीबहिनीसहित थप तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईलाई स्थानीयले उद्धार गरी गम्भीर अवस्थामा अस्पताल पु¥याएका थिए । पोखरीबाट तीन बालबालिकाको शव निकालिएको र चौथो शवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सिन्ध प्रान्तकै थारपार्कर जिल्लाको डिप्लो टाउन नजिकैको रानी भेरो गाउँमा यस्तै घटनामा दुई बालबालिकाको डुबेर मृत्यु भएको जियो न्यूजले जनाएको छ । पोखरी नजिक खेलिरहेका उनीहरू अचानक पानीमा खसेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ०३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन