‘सत्ता गठबन्धनभित्र मोर्चाबन्दी कांग्रेसलाई पाच्य हुँदैन’ | Khabarhub Khabarhub

‘सत्ता गठबन्धनभित्र मोर्चाबन्दी कांग्रेसलाई पाच्य हुँदैन’


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

समाजवादी मोर्चा गठन भइरहँदा पनि यसको उद्देश्य प्रस्ट हुन सकेको छैन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो सरकारलाई लामो समयसम्म टिकाउनको लागि मोर्चा गठनमा लागेको देखिन्छ। सरकार जसले नेतृत्व गरिरहेको छ, उसैले मोर्चा गठन गरेको छ। उनीहरूलाई के को आवश्यकता परेको हो मोर्चा बनाउन ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईंसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

जसले सरकार सञ्चालन गरिरहेको छ उसैलाई के समस्या आयो र यो मोर्चा बनाउनु परेको हो ?
सरकारमा बसिरहेका दललाई एउटा गठबन्धन हुँदाहुँदै अर्को उपगठबन्धन किन आवश्यकता पर्यो भनेर प्रश्न उठ्नु स्वभाविक हो। यो उपगठबन्धनमा समाजवादीहरू सबै आएर गरेको भए यसको औचित्य हुन्थ्यो। कम्युनिस्ट एक ठाउँमा आए भन्न पनि नेकपा (एमाले)लाई उसले समेट्नु पर्ने थियो। अहिले खुद्रा पार्टीहरू बन्ने प्रक्रिया बढ्यो। कम्युनिस्ट मात्र मिलेका भए राम्रो हुने थियो। तर त्यो हुन सकेको छैन।

अहिले जम्मा चार वटा पार्टीले मोर्चा बनाएका छन्। जसमा पनि १० सिट भएको एकीकृत समाजवादी र १२ सिट भएको जसपा र ३२ सिटको माओवादी मात्र सहभागी छन्। त्यो गर्दा ५४ सिट भयो । अर्को विप्लवको पार्टी समेटिएको छ। जुन पार्टीसँग एउटा पनि सिट छैन। विप्लवलाई अब संसदीय राजनीतिमा प्रवेश गर्ने रहर भएको देखिन्छ। जसपाको ग्राफ ओरालो लागेको थियो। समाजवादी पनि त्यस्तै भयो। माओवादीले पनि उकालो जाने बाटो बिर्सिएको छ। सबै ओरालो लागेका दलले सहकार्य गर्नुको कुनै औचित्य देखिँदैन। यो मोर्चा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेलाई तर्साउन भन्दा पनि नयाँ दलसँग तर्सिएका साना दलको जमघट मात्र हो। यसले अरुलाई के गर्छ थाहा छैन, प्रचण्डले भने मोर्चाबाट फाइदा लिन सक्छन्।

अहिले नै एकत्रित हुनुलाई प्रचण्डको सरकार टिकाउने योजनाको रुपमा लिन सकिन्छ ?
यो प्रचण्डले सत्तालाई लम्ब्याउनको लागि ल्याएको कार्ड हुनसक्छ। अरूलाई पनि बलियो त भइन्छ यसमा रहँदा भन्ने छ। यसमा माधव नेपालको पनि स्वार्थ छ।

मोर्चा डा. बाबुराम भट्टराईले ल्याएको यो सूत्र हो। तर उनी स्वयम् किन अटाउन सकेनन् ?
निर्वाचनको बेला बाबुरामले धेरै सहयोग गर्नुभयो। तर पछिल्लो समय सत्ता केन्द्रित राजनीति भएको कारणले आफ्ना केही आशाहरू थिए होलान् तर त्यो प्रचण्डबाट पाएनन्। त्यसले गर्दा प्रचण्ड र बाबुरामको सम्बन्ध चिसिन पुगेको छ। त्यसैले यसको आयु कति छ भनेर यसको सुरुवातमा नै प्रश्न उठ्यो। यसमा जसपा उपेन्द्र यादव बाबुरामलाई ल्याउँदा उपस्थित नहुने देखिएपछि प्रचण्डले बाबुरामलाई छोडेको देखिन्छ। बाबुरामलाई ल्याउँदा व्यक्ति ल्याउने हो, जसपालाई ल्याउन सिट आउँछ भनेर प्रचण्डले बाबुरामलाई छोड्नु भयो ।

यो मोर्चालाई कांग्रेसले कसरी हेरिरहेको छ ?
गठबन्धनमा रहेका पार्टीले अर्को उपगठबन्धन तयार गर्नु कांग्रेस पार्टीका लागि पाच्य विषय होइन। तर, कांग्रेस सभापति देउवा सत्ताका लागि जेसुकै गर्न तयार भएकाले यसलाई स्वीकार गरेकै देखिन्छ।

यो मोर्चाबाट प्रचण्ड सुरक्षित भए ?
तत्कालका लागि प्रचण्ड सुरक्षित छन्। सत्ता साझेदारीभित्र नै गठबन्धन गरिन्छ भने भोलि गएर त्यो गठबन्धन जता पनि जानसक्छ। ५४ सिट हुने बित्तिकै त हिजो पनि देउवा र प्रचण्ड मिलेर निर्वाचनमा गएका हुन्। पछि एमालेसँग मिलेर सरकार बनाएको हो। पछि देउवाले यता ल्याए। यसले गर्दा प्रचण्डको सत्ता असुरक्षित सधै देखिन्छ। त्यही असुरक्षाको बीचबाट प्रचण्डले सुरक्षा खोजेर मोर्चा बनाएका हुन्।

अहिले बजेटमा सबै सत्तामा रहेका दल सन्तुष्ट छैनन्। बजेटमा कस्तो खालको बार्गेनिङ हो ?
संविधानतः बजेटमाथि छलफल गरेर कार्यान्वयन गर्ने भनेको छ। त्यसलाई कार्यान्वयन गर्नु पनि आवश्यक हुन्छ। छलफलमा मात्र सीमित हुनु भएन कार्यान्वयन हुनुपर्छ। यो बजेटमा सबैको असन्तुष्टि छ। अहिलेको अर्थमन्त्रीले गर्नुपर्ने नगरेर चाकडी गरेर बजेट ल्याउनुभएको छ। आफ्नो विवेक प्रयोग नगरेर नेतालाई बजेटमार्फत चाकडी गर्नुभयो। गल्ती भएका छन्। तर जतिसुकै विरोध गरे पनि बजेट पारित भइसकेकाले यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा अगाडि बढाउनुको विकल्प अब छैन।

कांग्रेस महामन्त्रीले यो सरकारसँग सधै बसिरहनुपर्छ भन्ने छैन भन्नुभएको छ। यसलाई कसरी लिनुभएको छ ?
सत्ता परिवर्तन देश भित्रबाट मात्र भन्दा पनि बाहिरबाट पनि हुनसक्छ। छिमेकी देशले संकेत नगरेसम्म यो सत्ता परिवर्तन हुँदैन। अब देउवाले प्रचण्डलाई दुई वर्ष कुर्ने हो भने प्रचण्डले एमालेसँग सहकार्य गरे भने उनको प्रयास खेर जान्छ। त्यसैले दुई वर्षभन्दा अगाडि नै नेतृत्व लिनुपर्छ भन्ने तयारी कांग्रेसभित्रै भएको हो कि भन्ने देखिन्छ।
कांग्रेसभित्र प्रजातान्त्रिक अभ्यास भएको देखिन्छ। युवाहरूले नै नेतृत्वलाई औंला उठाएका छन्। देउवा धेरै बोल्दैनन् तर भित्र धेरै चतुर खेलाडी हुन्। उनले यो विषयमा सोचेकै होलान भन्ने लाग्छ।

प्रचण्डको सत्ता असुरक्षित कसरी छ ?
प्रचण्ड भारतमा गएर उसलाई खुसी बनाएर फर्किनुभएको छ। प्रचण्डले मोदीको छाया पाए सबै भन्दा शक्तिशाली हुन्छन् भन्ने भान कांग्रेसलाई भएको हुनसक्छ। यसकै झस्का कांग्रेसमा पसेको देखिन्छ। सत्ता भन्दा बाहिर रहेर फाइदा छैन भन्ने कुरामा एमाले पनि जानकार छ। यस कारण यी दुई ठुला पार्टीहरू बाहिर रहँदा खुद्रा पार्टीहरू जन्मिने अवस्था छ। यसरी विद्रोह मौलाउँदै गयो भने ०८४ सम्म यी पार्टीहरूको लेबल घट्छ। अब यसरी जाने हो भने हामी खस्किन्छौँ भन्ने यी दुई पार्टीमा अनुभव भएको छ। दोस्रो पुस्ताका नेताहरू सरकार निर्माणका लागि वार्तामा छन्।

यो मोर्चा बनेपछि अब कांग्रेसले के गर्छ ?
कांग्रेस यो सरकारलाई समाएर अगाडि बढ्ला जस्तो लाग्दैन। किनभने सत्ताको विषयमा देउवाको मनोविज्ञानले काम गर्छ। एमाले र कांग्रेस मिलेर नजाने हो भने खुद्रा पार्टी मौलाउने भए कांग्रेसका मत अझ बढी घटेर जान्छ। त्यसैले यो गठबन्धन लामो समय जाँदैन। अब यी दुई पार्टी मिलेर बलियो सरकार बनाए भने त्यो पनि राम्रो हुन्छ। यसरी सरकार बनेपछि बाहिरीको हस्तक्षेप कम हुन्छ। दुई ठुला र दल र पार्टीहरू मिलेर देशका लागि केही उल्लेख्य काम गरे भने ८४ को निर्वाचनमा यी नै पार्टी पाउने छन्।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १२ : २५ बजे

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण

वर्तमान सरकार मुलुकको अर्थतन्त्र विकासमा केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा

दशैँले बढायो बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं – दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । चाडबाडमा

एमाले-माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : कांग्रेस नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको

मधेस प्रदेशमा बनेको गल्फ मैदानको उद्‌घाटन

 महोत्तरी– मधेस प्रदेशमा गल्फ मैदान तयार भएको छ । मैदान