चासोक तङनाम : लिम्बुनीको शीरदेखि पाउसम्म सुनैसुन ! | Khabarhub Khabarhub

चासोक तङनाम : लिम्बुनीको शीरदेखि पाउसम्म सुनैसुन !



धरान– महिलाहरुले लगाउने सुनका गहनाको नाम के–के होला ? जान्न चाहनुहुन्छ भने याक्थुङ लिम्बु महिलाले शीरदेखि पाउसम्म लगाउने गहनाको नाम सोध्दा हुन्छ । अहिले चासोक तङनामको मौसम चलिरहेको छ । यो चाडमा लिम्बु समुदायका महिलाहरु सुनमा सजिएर धान नाच्न निस्कने गर्छन् । यो साता धरानमा पाँच दिनसम्म चासोक तङनाम मनाइयो ।

विभिन्न सांस्कृतिक पर्वमा लिम्बु समुदायका महिलाले सुनको शीरफूल, गोदावरी, लस्करी, शीरबन्दी, जूनतारा, चिम्टी, यारलिङ, नेस्से (च्याप्टे सुन), कानढुङ्ग्री, मुन्द्री र नाकढुङ्ग्री, नौगेडी, प्लाँलोको कान्धी, पोतेमा गाँसेको जन्तर, चाँदीको रेजी, चन्द्रहार, चाँदीको कटुवा चुरा, हुक्वाङ्गी र खुट्टामा लाङ्बाङ्गी आदि लगाएर धान नाच्ने गर्छन् । धरानमा यसपालिका यस्ता गहनाहरुको सौन्दर्य देख्न पाइयो ।

खेतबारीमा पाकेको अन्नबाली घरमा ल्याएपछि सबैभन्दा पहिले खेती गर्न, मर्चा बनाएर जाँडरक्सी बनाएर खान र पाकेपछि आगोमा पकाइखान सिकाउने स्त्री पूर्खा युमा र सिवेरा एक्थुङ्मा (सिगेरा-सिकेरा) लाई सम्झेर प्रकृतिलाई चढाउने अवसरलाई चासोक तङ्नाम भनिन्छ ।

शीरदेखि पाउसम्म सुनौलो गहनाले सजिएर धरानमा आयोजित कार्यक्रममा सहभागी याक्थुङ लिम्बू महिलाहरुले यसपटकको चासोक तङ्नामलाई सम्झनायोग्य बनाए । ढाकाको मेख्ली र सारीमा सजिएर सहभागी भएका याक्थुङ महिलाहरुले लगाएका गहनालाई प्रदर्शन गरेको नभई सांस्कृतिक रुपमा लोक परम्परामा चलीआएको परम्परा धानेका हुन् ।

शहरी क्षेत्रमा बस्ने आधुनिक युवा पुस्ता अरुबेला ब्राण्डेड परिधानमा सजिए पनि धरानको चुम्लुङ हिम परिसरमा लागेको पाँचदिने चासोक तङ्नाम सांस्कृतिक उत्सवमा भने माङ्गेना उठेको शीरलाई साम्याङफुङ (शीरफूल)ले सजाएर प्रस्तुत भए ।

उनीहरुले गोदावरी, लस्करी, शीरबन्दी, सुनको जूनतारा र चिम्टीले सजिँदै माहौललाई आफूतिर तान्न भ्याए । च्याब्रुङ, पालाम र हाक्पारेको धुन सुन्ने कानमा यारलिङ र नेस्से (च्याप्टेसुन), कानढुङ्ग्रीले सजाए । याङ्वेन (उच्च लेकाली भेगको रुखमा हुने खान हुने झ्याउ), फिलिङ्गे र फादोको अचारको सुगन्ध थाहा पाउने नाकमा मुन्द्री र नाकढुङ्ग्रीले सजाउँदै तरुनी–तन्नेरीले सेल्फी पनि लिए ।

गलामा नौगेडी कण्ठ र प्लाँलोको कान्धी, पोतेमा गाँसेको जन्तर, चाँदीको रेजी र चन्द्रहारले सौन्दर्य थपे । धान नाच्दा तन्नेरी समाउने नाडीमा चाँदीको कटुवा चुरा, हुक्वाङ्गी, खुट्टामा लाङ्बाङ्गी लगाएर धान नाच्दै याक्थुङ संस्कृतिको महत्व दर्शाए ।

याक्थुङ तन्नेरीहरु पनि के कम ! ढाकाको रंगीन कपडाबाट बनाएको तागावा र कोटमा सुन र चाँदीको सिलाम साक्मालाई तक्माजस्तै बनाएर ध्यान खिच्ने प्रयास गरे । चासोकको भिडमा अधिकांश याक्थुङ लिम्बूहरुले साइनो नलाग्ने अवस्थामा धान नाच्दै पालामको भाकामा माया पिरतीका गीत सुनाउँदै मनको कुरा गर्न भ्याए । प्रौढावास्थामा पुगेका कतिपय लिम्बु लिम्बुनीहरुले पनि पुरानो बैंश सम्झँदै आफूजस्तै प्रौढावस्थाकै समकालीनहरुसँग ख्याली र हाक्पारे भाकामा रमाइलो गरे ।

किरात याक्थुङ चुम्लुङ सुनसरीका जिल्ला अध्यक्ष्य मोहन हुक्पाचोङ भन्छन्, ‘आफ्नो परम्परागत कला संस्कृतिलाई यसरी नै जगेर्ना गर्ने हो, अर्काले गरिदिँदैन । झट्ट देख्दा गहना र पहिरन प्रदर्शन गरेजस्तो देखिएला तर हाम्रो संस्कृतिसँगै यी कुराहरु पनि जोडिएकाले सकारात्मक रुपमा हेर्नुपर्छ ।’

उनका अनुसार धरानमा पाँचदिनसम्म लागेको चासोक तङ्नाम सांस्कृतिक उत्सवले नयाँ पुस्तामा पनि सांस्कृतिक मोह जगाउने प्रेरणा मिलेको छ । उत्सवमा याक्थुङ लिम्बुहरुमात्र सहभागी नभएर अन्य जातीय समुदायको पनि उपस्थिति रहेकाले एकले अर्काको संस्कृति बुझ्ने अवसर मिलेको किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष तीर्थ मादेम्बा बताउँछन् ।

चासोक तङनामलाई याक्थुङ लिम्बु समुदायले प्राचीनकालदेखि नै अन्नबाली पाकेपछि व्यक्तिगत रुपमा मनाउँदै आएका छन् । ०५० को दशकसम्म चासोक तङ्नामलाई याक्थुङ लिम्बुहरुले कात्तिक, मंसिर र पुस महिनामा आफ्नै तरिकाले फेदाङमा लगाएर मनाउने गरेपछि पछिल्लो समयमा सामुहिकरुपमा र संस्थागतरुपमा मनाउन थालेका हुन् । सामाजिक रुपमा मनाउन थालिएपछि चासोक तङनामको सामाजिक महत्व अझ बढेको चुम्लुङकी केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बू बताउँछिन् ।

उनका अनुसार चासोकमा पोरोक्मी यम्भामीलाई स्मरण गर्दै लि आप्मा (गुलेली हान्ने), पक्लुङ लेप्मा (छेलो हान्ने) जस्ता खेल प्रदर्शनका साथै च्याब्रुङ नाच प्रतियोगिता सम्पन्न भएको छ । धाननाच र च्याबू्रङ नाचका अनेक शैलीका आफ्नै महत्व भएकाले निर्णायकद्वारा प्रथम, दोस्रो, तेस्रो नछुट्याई गोलाप्रथाद्वारा पुरस्कार प्रदान गरिएको थियो । उक्त अवसरमा मुन्धुममा वर्णित याक्थुङ सभ्यता निर्माणमा प्रमुख भूमिका खेल्ने आदिम स्त्री युमालाई सम्झेर थाक् थाक्मा (तान बुन्ने) कला पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ४३ बजे

असार २८ को संयोग : तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका

काठमाडौं – खारेजीमा परिसकेको नेकपाभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

काठमाडौं – परराष्ट्र सचिव सेवा लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा

पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

काठमाडौं – पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

केपी ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि