दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज दिनभर मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ, एमालेले चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने,आजदेखि एसईई परीक्षा सुरु, ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा, छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदैलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन् ।

राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

नवगठित मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन नसक्दा प्रधानमन्त्री दाहालको जिम्मामा कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय रहेको छ ।

नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीमा पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै, कृषि तथा पशपंक्षी विकासमन्त्रीमा डा. बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा अशोककुमार राई र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शरतसिंह भण्डारीले जिम्मेवारी पाएका छन् ।

यस्तै, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा महिन्द्रराय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदीले जिम्मेवारी पाएका छन् । सञ्चारमन्त्री शर्मा, पर्यटनममन्त्री किराती र सङ्घीय मामिलामन्त्री मोदी यसअघि नै मन्त्री बनेका थिए ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा प्रकाश ज्वाला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल, शहरी विकासमन्त्रीमा सीता गुरुङले जिम्मेवारी पाएका छन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा सुशिला सिर्पाली ठकुरी छिन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आजे मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमालेले चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन–२ मा नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

क्षेत्रीय समिति र जिल्ला समितिले न्यौपानेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला पूर्वअध्यक्ष तथा चितवन–२ का पूर्वसांसद कृष्णभक्त पोखरेले जानकारी दिए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा परेर अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।

स्वदेशमै रोजगार सिर्जना गरी वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइन्छ : मन्त्री भण्डारी

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेशमै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए ।

मन्त्री भण्डारीले मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्नसक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताए । अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उनको भनाइ छ ।

उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए । पदबहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् ।

आजदेखि एसईई परीक्षा सुरु

यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।

एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकै वर्ष दुई वटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

पहिलो दिनको एसईई परीक्षा सम्पन्न

आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए । यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसईई परीक्षा दिएका हुन् ।
यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसईईमा सहभागी भएका छन् । उनीहरूलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।

त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् ।

देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्न पत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ । साथै मुगुमा एक सामुदायिक विद्यालयमा पाँचदिने सुत्केरी महिला शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छिन् ।

छाँयानाथ रारा नगरपालिका– १३ मा रहेको प्रकाश मावि लुममा अध्ययन गरेकी छात्रा देवमाया बोहोराले एसईईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएकी हुन् । छोरालाई जन्म दिएको पाँचौँ दिनमा उनी एसईईमा सहभागी भएकी हुन् । उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएकी हुन् ।

ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा

पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन् । त्यस्तै, डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ छन् । यसैगरी मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् ।

ओलम्पिकको एसिया छनोटमा नेपाल समूह ‘सी’मा परेको छ । यस समूहमा नेपाल र भियतनाम छन् । यसै समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीमात्र सहभागी हुन लागेका हुन् । छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल यही चैत २२ गते खेल्ने छ भने दोस्रो खेल चैत २५ गते खेल्नेछ । छनोटको शीर्षस्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

हराएका तीन सय ६० मोटरसाइकल हस्तान्तरण

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

आज मात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो ।

चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । सो मध्ये दुई पाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन् ।

ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताए ।

लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।

छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै

छ दकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ । उनले भने, “यो पाँच वर्षको अवधिमा हामीले छ पर्यटन मन्त्रीसँग नियमित छलफल ग¥र्यौं । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरको पहलले सार्थकता पाएको हो । पर्यटनमन्त्री अधिकारी हुँदा तत्कालिन समयमा चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहनुभएका प्रधानमन्त्री दाहालसहित जिल्लाका सरोकारवालाको उपस्थितिमा बृहत् छलफल गरेर अभियानको थालनी गरिएको थियो । प्रमुख दाहालले भने, “झण्डै पाँच वर्ष फाइल बोकेर भरतपुर र काठमाडौँ ओहोर दोहोर गरे ।”

विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बङ्गला सारिने भएको छ । ब्यारेक सार्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले घोडा प्रजनन केन्द्र सार्न वनको जग्गा भएकाले केही निर्णय बाँकी रहेको बताए । बाँकी निर्णय दुई साताभित्रमा गरेर काम अघि बढ्ने छ ।

केही दिनअघि विस्तारका लागि प्रधानमन्त्रीको निवास बालुवाटार र कार्यालय सिंहदरबारमा नेपाली सेनासहितको सरोकारवाला बसेर टुङ्गोमा पुगेको दाहालले जानकारी दिए। यो विमानस्थलबाट मकवानपुरदेखि दाउन्नेसम्मका बासिन्दाले हवाई सेवा लिँदै आएका छन् ।

त्यस्तै तनहुँ र गोरखा आसपासका बासिन्दाले पनि यो विमानस्थलबाट सेवा लिँदै आएका छन् । विसं २०१५ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा २०१८ मङ्सिर १२ गते हवाई कार्यालय स्थापना गरिएको थियो । तत्कालीन समयमा टुइनेटरजस्ता १८ सिटे जहाजमात्रै सञ्चालन हुँदै आएकामा पछिल्ला वर्षमा एटिआर ४२, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ ।

एसईई परीक्षाका लागि खटिएका प्रहरीको निधन

एसईई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ । रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालय धमौरा परीक्षा केन्द्रमा भइरहेको एसईई परीक्षामा सुरक्षार्थ खटिएका उनको ड्युटीमै रहेको बेला अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।

मृतक पटेलको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाबारे परिवारजनलाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकै दिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७९ को नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण देखिएको छ । आरटी पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन् । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणका आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले बताएको छ । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ०१ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति