विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज चैत १७, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३१, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मेक्सिकोको अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउदाद ह्वारेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई बेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूले हालसम्म पाँच जनालाई पक्राउ गरिएको जानकारी पनि दिएका छन् ।
यसै साता ह्वारेजको अध्यागमन हिरासतमा मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको जलेर मृत्यु भएको थियो भने सत्ताइस जनाभन्दा बढी गम्भीर घाइते भएका थिए ।

हिरासतमा रहेका आप्रवासीले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर विरोध गर्दा उक्त घटना भएको थियो । अध्यागमन अधिकारी र सुरक्षाकर्मी आगो लागेको देखे पनि त्यसलाई बेवास्ता गर्दै आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

आगलागीमा ज्यान गुमाउने तथा घाइते हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक छन् ।

भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह

भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झन्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए ।

उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५०९ रहेकामा आज त्यसमा वृद्धि भई १५ हजार २०८ पुगेको छ । बितेका २४ घण्टामा एक हजार ३९० बिरामीले स्वास्थ्य लाभ गरेका छन् ।

उक्त मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म दुई अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ । पछिल्लो २४ घण्टामा छ हजार ५५३ जनालाई खोप लगाइएको छ । सोही अवधिमा एक लाख १८ हजार ६९४ जनाको कोरोना परीक्षण गरिएको छ ।

केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कोरोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

गम्भीर रोगको सामना गरिरहेका वर्गलाई सङ्क्रमण प्रतिरोधी खोपमा प्राथमिकता दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ ।

चिनियाँ राष्ट्रपतिलाई युक्रेनी समकक्षीसँग वार्ता गर्न आग्रह गरेको छु : स्पेनी प्रधानमन्त्री सान्चेज

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई आफूले युक्रेनी समकक्षीसँग वार्ता गर्न आग्रह गरेको बताएका छन् ।

बेइजिङस्थित स्पेनी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सान्चेजले युक्रेन जारी युद्धबारे आफूले सी र अन्य शीर्ष चिनियाँ अधिकारीसँगको भेटमा ‘चीनको अडान’ बारे छलफल गरेको बताएका हुन् ।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली सङ्घ (ईयू) को शान्ति र कल्याणका लागि बहुपक्षीय परियोजनालाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए ।

“मैले राष्ट्रपति सीलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनी सरकारको यो शान्ति योजनाबारे प्रत्यक्ष जानकारी लिन कुराकानी गर्न प्रोत्साहित गरें,” सान्चेजले भने ।

जेलेन्स्कीले पटक–पटक सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् । तर पुटिनसँग पटक–पटक वार्ता भए पनि चिनियाँ नेताले युक्रेनसँगको छलफलका लागि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बेइजिङले गत महिना युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो । युक्रेनका सहयोगीहरूले तुरुन्तै यो दस्तावेजमाथि शङ्का गरेका थिए भने यसलाई युक्रेनले स्वागत गरेको थियो ।

सान्चेजले शुक्रबार द्वन्द्वमा आणविक हतियारको प्रयोगको विरोध गर्ने बेइजिङको अडान र ‘क्षेत्रीय अखण्डता’ का लागि चीनको घोषित समर्थनको पनि स्वागत गरेका थिए ।

उनले भने, “चीन सरकारले युक्रेनमा शान्ति स्थापना गर्न गरेको प्रयासलाई म स्वागत गर्दछु ।”

पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या

पाकिस्तानमा एक जना हिन्दू धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।

कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा. गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सकलाई पनि गोली लागेको छ । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् ।

आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सकसँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानूनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षकसँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

जासुसीको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददाता पक्राउ

रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलो पटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् । पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल रिहाइको माग गरेको छ । साथै पत्रिकाले उनका परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

३१ वर्षीय इभान गर्शकोविचलाई रुसको चौथो ठूलो सहर येकातेरिनबर्गबाट बुधबार पक्राउ गरेको हो । रुसको सङ्घीय सुरक्षा सेवाले उनलाई गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको निर्देशनमा उनले रुसी सैनिक र उसका गतिविधिबारे सूचना सङ्कलन गरेको आरोप लगाइएको छ ।

रुसको गुप्तचर सेवा एफएसबीले पत्रकार गर्शकोविचलाई पक्राउ गरेको हो । शोभियत युगको गुप्तचर निकाय केजिबीको मुख्य उत्तराधिकारीका रूपमा एफएसबी परिचित छ ।

भारतमा रामनवमी मनाउन मन्दिरमा भेला भएका भक्तजन इनारमा खस्दा ३६ जनाको मृत्यु

रामनवमी पर्व मनाउन भारत मध्य प्रदेशको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।

आयुक्त देवस्करका अनुसार १४ जनाको उद्धार गरिएको छ । दुई जना उपचारपछि घर फर्केका छन् । एक जना अझै हराइरहेका छन् । पचहत्तर जना भारतीय सेनाका अधिकारीको १८ घण्टा लामो प्रयासमा उनीहरूलाई उद्धार गरिएको थियो ।

घटनाबारे जानकारी पाउने वित्तिकै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुगेका थिए । उनीहरुले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै

म्यानह्याटनको ग्राण्ड जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको छ । यस सम्बन्धमा उनी आगामी मंगलबार न्युयोर्क अदालतमा उपस्थित हुँदै छन्।

बेलायती समाचार संस्था द गार्डियनका अनुसार, त्यहाँ उनको औँलाका छाप सङ्कलन गरिने, फोटो खिच्ने र पक्राउका लागि तयारी हुनेछ। त्यहाँ उनकी पूर्व श्रीमती पनि उपस्थित हुनसक्ने अनुमान गरिएको छ ।

ट्रम्पविरुद्ध अभियोग दर्तापछि डेमोक्रेटहरूले कानुनभन्दा माथि कोही छैनन् भनेका छन्। पोर्न स्टार स्ट्रोमी ड्यानिल्ससँगको अनैतिक सम्बन्ध लुकाउन ट्रम्पले उनलाई पैसा दिएको आरोप छ। ट्रम्प र ड्यानियल्सबीचको अनैतिक सम्बन्ध लुकाउन र मौन बस्न भन्दै ड्यानियल्सलाई १ लाख ३० हजार डलर दिएको आरोप छ। ड्यानियल्सले पनि ट्रम्पले आफूलाई मौन बस्न पैसा दिएको दाबी गर्दै आएकी छन्।

योसँगै ट्रम्प कुनै पनि फौजदारी अभियोग लाग्ने अमेरिकाका पहिलो पूर्व राष्ट्रपति बनेका छन्। ट्रम्प सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार हुन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन।

यद्यपि, उनीविरूद्ध पोर्न स्टारको विषयबाहेक व्यावसायिक ठगीसँग सम्बन्धित ३० भन्दा बढी मामिला जोडिएको सीएनएनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु

अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् ।

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ५९ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार