विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज जेठ १७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ३१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अमेरिका नेतृत्वको सामुद्रिक गठबन्धनबाट यूएई बाहिरियो

संयुक्त अरब इमिरेट्स (यूएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण मानिएको खाडी क्षेत्रमा जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट बाहिरिएको छ ।

यूएईले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप यूएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो,” यूएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्वपूर्ण तर समस्याग्रस्त खाडीको जलक्षेत्रमा पनि सक्रिय छ, जहाँ हालैका महिनाहरूमा मालवाहक ट्याङ्कर र पानीजहाजको पारवहनमा समस्या उत्पन्न भएको थियो ।

सीएमएफका एक प्रवक्ताले यूएईले सहभागिता रोकेपनि साझेदार राष्ट्रका रुपमा रहेको बताएका छन् । “सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये यूएई एक हो,” कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भने ।

इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाजको पारवहनमा समस्या उत्पन्न गरेको थियो ।

इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो ।

यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनको कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो ।

अमेरिकी नौसेनाको पाँचौं टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंसकमा ‘स्ट्रेट अफ होर्मुज’ हुँदै गएका थिए ।

जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ ।

यूएई आफ्नो समुद्रमा जहाज आवागमन नियन्त्रण र निगरानी सुनिश्चित गर्न जिम्मेवारीपूर्वक प्रतिबद्ध छ,” यूएईको विज्ञप्तिमा भनिएको छ । प्रमुख तेल निर्यातकर्तामध्ये एक यूएई ‘शान्तिपूर्ण वार्ता र कूटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी भेटियो

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन् ।

असीको दशकमा भेटिएका ती जीवाश्मका हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति दश करोड सत्तरी लाख वर्षअघि भएको बताएका छन् ।

हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन् ।

“यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग दश करोड सत्तरी लाख वर्ष पपहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,” पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन् ।

काजाकिस्तानले इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै

काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् ।

काजाकिस्तानमा विगत दुई दशकदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको अन्तरधार्मिक मञ्चको सम्मेलन यसपटक इजरायलमा आयोजना गर्ने निर्णय भएको हो । सम्मेलनमा इजरायलका प्रमुख रब्बीहरू, इजरायलका मुसलमान, ड्रुज र बहाई समुदायका प्रतिनिधि, प्रमुख राजनीतिक र शैक्षिक अधिकारीसहित धेरै धार्मिक नेताले भाग लिने अपेक्षा गरिएको छ ।

इजरायल र साइप्रसका लागि काजाकिस्तानका राजदूत सतिबाल्डी बुर्साकोभका अनुसार काजाकस्तानको सिनेटका अध्यक्ष मौलेन असिमबाएभले सम्मेलनको प्रमुख वक्ताका रूपमा भागलिने तथा त्यसले विश्व शान्ति तथा वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध हुन आह्वान गर्नेछ ।

विश्वभरका धार्मिक नेताहरूको सामूहिक प्रयासबाट विभिन्न राष्ट्र र समुदायबीचको मनोमालिन्य अन्त्य गर्न तथा आपसी विश्वास, सहकार्य र साझेदारीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सन् १९९२ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्र भएको मध्य एसियाली देश काजाकिस्तानले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो । सन् २०१६ मा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले काजाकिस्तानको भ्रमण गर्नुभएको थियो । पूर्वसोभियत गणतन्त्रमा इजरायली प्रधानमन्त्रीको त्यो पहिलो भ्रमण थियो ।

राहुल गान्धी अमेरिकामा, के हुनेछ भ्रमणमा?

भारतीय कांग्रेसका नेता राहुल गान्धी अमेरिकाको तीन सहरको भ्रमणका लागि सान फ्रान्सिस्को पुगेका छन्।

यस क्रममा उनले भारतीय समुदायका मानिसहरू र अमेरिकी सांसदहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। राहुल गान्धीलाई एयरपोर्टमा इन्डियन ओभरसीज कंग्रेसका अध्यक्ष साम पित्रोडा र संगठनका अन्य सदस्यहरूले स्वागत गरेका थिए।

राहुलले सान फ्रान्सिस्कोको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्ने सम्भावना रहेको छ। त्यसपछि उनले वासिङ्टनमा पत्रकार सम्मेलन गर्नुका साथै सांसद तथा संस्थासँग आबद्ध व्यक्तिसँग भेटघाट गर्नेछन्। कांग्रेस नेता गान्धीले आफ्नो एक हप्ता लामो अमेरिका भ्रमणको क्रममा भारतीय अमेरिकीहरूलाई सम्बोधन गर्ने र वाल स्ट्रीटका अधिकारीहरू र विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्ने सम्भावना छ।

उनले जुन ४ मा न्युयोर्कमा सार्वजनिक कार्यक्रम गरेर आफ्नो भ्रमणको समापन गर्ने कार्यक्रम छ। वार्ता न्यूयोर्कको जाभिट्स सेन्टरमा हुनेछ। गान्धीको भ्रमण ‘साझा मूल्य र वास्तविक लोकतन्त्र’ को दृष्टिकोणलाई बढवा दिनको लागि भएको का‌ंग्रेसका नेताहरुले बताएका छन्।

गत आइतबार अमेरिका यात्राको लागि नयाँ सामान्य राहदानी जारी गरिएको थियो। कांग्रेसका पूर्व अध्यक्ष गान्धीले सांसदका रूपमा जारी गरेको कूटनीतिक राहदानी बुझाए पछि उनले सामान्य राहदानीका लागि निवेदन दिएका थिए।

गत महिना गान्धीलाई गुजरातको सुरतको अदालतले आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेपछि सांसदको रूपमा अयोग्य घोषित गरेको थियो। त्यसपछि राहुलले कूटनीतिक यात्रा कागजात फिर्ता गरेका थिए।

उत्तर कोरियाको पहिलो स्याटलाइट परिक्षण दुर्घटनाग्रस्त

उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटलाइट दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाग्रस्त स्याटलाइट समुन्द्रमा खसेको थियो ।

उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो।

पहिलो स्याटलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले छिट्टै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ ।

उत्तर कोरियाले प्रक्षेपण सुरु गर्नुअघि दक्षिण कोरियाको राजधानी सियोलमा अलार्म बजाइएको थियो भने जापानको ओकिनावाका बासिन्दाहरूलाई चेतावनी जारी गरिएको थियो।

मस्कोमा खस्यो दोस्रो ड्रोन, धेरै भवनहरू क्षतिग्रस्त

रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।

बीबीसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना हो।

युक्रेनको राजधानी कीभमा रुसी आक्रमण सुरु भए पछि मस्कोमा आक्रमण सुरु हुन थालेको हो । यसअघिको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो।

मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच झडप, १० जना मारिए

मेक्सिकोमा लागू औषध तस्कर र सुरक्षाकर्मीबीच भएको गोली हानहानमा १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिकोको सुरक्षाकर्मी माथि बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुँदा १० जना मारिएका हुन् ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका हुन् । उनले दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी घाइते भएको बताए ।

आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले बताए ।

मेक्सिको सरकारले सन २००६ देखी लागू औषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख भन्दा बढी तस्करको हत्या भइसकेको छ । सो घटनामा पनि लागू औषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनाका बारेमा थप छानबिन भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ७ : ५९ बजे

बागलुङको रेशमा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण

बागलुङ– सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच

केली बनिन् बिबिसी स्पोर्ट्स पर्सानालिटी ‘अफ द इयर’

काठमाडौं – ओलम्पिक आठ सय मिटर दौडकी विश्व विजेता केली

मङ्सिरमा घरजग्गा कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

काठमाडौं– अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई

एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दिउँसो पहिलो