बैतडीबाट तीन वर्षमा दुईसय महिला र बालबालिका हराए « Khabarhub

बैतडीबाट तीन वर्षमा दुईसय महिला र बालबालिका हराए


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । यहाँको गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो ।

पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७/७८ मा ६०, आव २०७८/७९ मा ७८ र गत आव २०७९/८० मा एकसय पाँचजना हराएका छन् । हराउनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हराएकामध्ये केही फेला पर्ने गरेका भए पनि आधाजसो अझै सम्कर्पविहीन रहेको प्रवक्ता जोशीले बताए । गत आर्थिक वर्षमा एक सय पाँच जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका छन् । उक्त वर्ष ७२ महिला, २१ बालिका, १० बालक र दुई ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये ३३ महिला, १२ बालिका, नौ बालक र एक ज्येष्ठ नागरिक फेला परेका हुन् ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४० महिला, २६ बालिका र १२ बालक हराएका थिए । तीमध्ये २३ महिला, १६ बालिका र छ बालक मात्रै फेला परेका छन् । दुई वर्षको अवधिमा हराएकामध्ये एकसय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए । यसका साथै आव २०७७र७८ मा हराएका ६० जनामध्ये ३९ मात्रै फेला परेका र अरु सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

आफन्तहरूले खोजीकार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको सङ्ख्या एकीन गर्ने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए । “हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिए पनि हराएको मान्छे फेला परेपछि प्रहरीलाई जानकारी दिँदैनन्”, उनले भने , “हराएकाको अझै पनि जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरी खोजी भइरहेको छ ।”

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । धेरैजसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरू फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।

घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्ने लगायतका कारणले महिला हराउने गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना पनि हुने गरेका छन् ।

उनले भने, “मोबाइल र सामाजिक सञ्जालको दुरूपयोगले पनि पछिल्लो समय यस्ता घटना बाहिर आइरहेका छन् । उमेर नपुगी बिहे गर्ने र घरपरिवारलाई जानकारी नै नदिने कारणले महिला बढी हराएका घटना देखिएका हुन् ।”

भागी बिहे गरेको धेरै वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा समेत नआउने गरेका छन् । सीमा नाकामा पनि प्रहरीले शङ्कास्पद व्यक्तिलाई सोधपुछ गर्ने गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : ४२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित