जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा पशुपतिनाथमा घुइँचो | Khabarhub Khabarhub

जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा पशुपतिनाथमा घुइँचो


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ ।

यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् ।

वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ ।

यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ । कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् ।

पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उनको भनाइ छ ।

पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चावहिल गणेशलगायत ठूला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

यस अवसरमा विभिन्न नौ वा ११ किसिमका गेडागुडी भिजाएर टुसा उमारी तयार हुने क्वाँटी पकाएर खाइन्छ । यसले वर्षाभर शरीरमा गाडिएको चिसो निकाली स्वस्थ बन्न मद्दत पुग्ने आयुर्वेद शास्त्रीय विश्वास रहेको छ ।

यस पर्वका अवसरमा रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी र नौलिङ्गेश्वर कुण्ड, सोलुखुम्बुको दूधपोखरी, देवघाट, रिडी, त्रिवेणीलगायत स्थानमा मेला लागेको जनाइएको छ । केहीले भने हिजो नै रक्षाबन्धन पर्व मनाएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व आजै मनाउनु शास्त्रसम्मत रहेको जनाएको छ । हिजो भद्रा परेकाले यो पर्व मनाउन नहुने योग परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

शुक्रबार प्रतिपदा तिथि नरहेकाले प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पनि आजै परेको उनको भनाइ छ । आज बिहान ७ः४५ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १२ : १३ बजे

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो