राजनीति

विदेशीहरु हिचकिचाए, लगानी भित्रन सकेन : पूर्वअर्थमन्त्री शर्मा

By खबरहब

August 31, 2023

काठमाडौँ- पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेपालमा जोखिमपूर्ण अवस्थामा लगानी गर्न विदेशीहरु हिचकिचाउने भएकाले गर्दा लगानी भित्रन नसकेको बताएका छन् ।

काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिका कारण विभिन्न देशले नेपालमा लगानी गरेको भन्दै लगानी प्रयासलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

शर्माले अर्थकुटनीतिक कमजोर हुँदा पनि लगानीमा समस्या देखिएको राज्यले यसमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा उनले दुई ठूला मुलुकको बीचमा रहेको नेपालमा लगानी र विकासको अथाह सम्भावना हुँदाहुँदै पनि स्रोतको परिचालन हुन नसकेको टिप्पणी गरे । उनले मुलुकको अर्थतन्त्रलाई विकास गर्न नेतृत्व गम्भीर बन्नुपर्ने बताए । स्रोत परिचालनका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको पनि उनले बताए ।

उनले सगरमाथा, लुम्बिनीजस्ता क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको र कैलाश मानसरोवर तीर्थयात्राका लागि हुम्लाको लिमीको नाका प्रयोग गर्नसके त्यसबाट पनि पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार हुने बताए । विदेश गएका नेपालीले ठूलो परिमाणमा रेमिट्यान्स पठाएपनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ छ ।